Logo
Logo

हुटिट्याउँले आकाश थाम्दैन कमरेड !



कुत्सित मानसिकता र निश्चित स्वार्थ बोकेर सत्तासीन शासकहरु सत्तामा हुँदा लागे–पुगेसम्म उँखालिन्छन् । तथापि, अनायास त्यही सत्ता त्याग्नु पर्दा त्यसको तेब्बर उश्रृंखल हुँदा रहेछन् । हुनत गफ जोतेरै भरमुग्ध नाँचिरहेको विलासी जीवन सहर्ष त्याग्न कहाँ सजिलो मान्लान र ? नपत्याए हेर्नुस्– संसद् भवनको रमिता ।

केका लागि हो त्यो नागरिक सर्वोच्चताको नारा ? ‘संवैधानिक मर्यादा कायम गर’ भन्दै मर्यादा पालकको काँधमा परेड खेल्नेहरुले कस्तो मर्यादा खोजेका हुन् ? के कसैलाई झोंक चलेकै भरमा सिंगो राष्ट्र नै बन्धक बनिदिनुपर्ने ? सधैं उछृंखलहरुको इच्छा पूर्ति गर्न आम जनमतको उपहास गर्नुपर्ने ? कुन राजनीतिक स्कुलको विधि र कुन संस्कारको पद्धति हो यो ?

खाली आफ्नै महिमाको बाँसुरी बजाएको रुचाउने । विपरीत विचार र आस्थामाथि सधैं निर्मम प्रहार गर्दै सिध्याउनै खोज्ने । रछ्यानमा चुर्लुम्म डुबुल्की मार्दै आफू र आफ्नोबाहेक सबै भ्रम हुन भन्ठान्ने । आफैँलाई उत्कृष्ट राष्ट्रवादीको दुहाई दिँदै संसद् भवनमा घाँटी च्यातिरहेका महासयहरुलाई आग्रह छ ! ‘महोदय– यदि माओवादी केटाकेटीहरु अगतिला लाग्छन् भने, छोडिदिनुस उनैले ल्याएको व्यवस्थामा र्याल चुहाउँदै सत्ता लोभको विलौना गर्न । बरु पढाउनुस् आजैदेखि आफ्ना सुसारेहरुलाई पुष्पलालको इतिहास ।

जसले पहिलोपटक सत्ता गुमेको वियोग सहन नसकी पुष्पलालको सालिक भत्काए । जसले लोडसेडिङ अन्त्य भएको बिरहमा बिजुलीका खम्बा चिथोरे । जसले कुलमान घिसिङ ल्याएको झोंकमा ट्रान्सर्फमर फुटाले । हुन त ‘सिटिइभिटी’लाई सीसीटिभी भनेर डाक्टर उपाधि पाउने पनि हजुर नै हो । पढाउनुस ! भैंसी गोठालो जान अल्छी लाग्दा कसैको गर्दन बटारेको १४ वर्षीय जेलकाण्ड पनि मज्जाले पढाउनुस् । होइन भने खुराफाती पनि सुहाउँदो गर्नुस् ।

ए.. ! कस्तो बिर्सिएछु ! त्यो– सेक्युरिटी मेसिन खरिदको ७० करोड, वाइडबडीको ६ अर्ब, मेडिकल उपकरण खरिदको ३ अर्ब गोजीमा पर्नै लाग्दा चिप्लिएको छ नि ! त्यो बारेमा पनि राम्रो स्कुलिङ दिनुस् । यता एमसीसीको ५३ अर्बमा चुहाएको र्यालका विशेषताहरु पनि घोकाउनुस् । यद्यपि, देश बेच्न तयार नभएको कारण सभामुख सापकोटा, माधव नेपाल र माओवादीलाई तित्रेमुखे गाली नगर्नुस् ।

तपाईंले गरिरहेको छलछामको राजनीति उतिबेला उपयुक्त थियो । जतिबेला बयलगाढाको चर्चा थियो । किनारामै भए पनि लागेपुगेसम्म त उतिबेला पनि निबस्त्र हिँड्नु भएकै हो । हेक्का रहोस् यो युग ५० लाखमा महाकाली बेचेको युग होइन । अहिलेका जनता देश रक्षकको बर्को ओढेर पैसाको सुट्केससँग आफ्नै माटोको आँठो (नक्सा) बेच्ने भक्षकलाई राम्रोसँग पहिचान गर्न सक्षम छन् । अब लागौं बार्दलीतर्फ ।

भनिन्छ नि– बगेको खोला फर्किदैन र समयले पर्खिदैन । हो त्यसरी नै महाकाली बेचे जसरी तपाईं आफैँले दुई चोटीसम्म घाँटी मर्काएको संसद्मा, तपाईंकै नेतृत्वमा, तपाईंकै बुख्याँचाहरुले गाईजात्रा देखाइरहेका छन् । ‘मदन भण्डारी’को ब्याज र ‘मनमोहन अधिकारीको बृद्धभत्ता कार्यक्रम’ भजाएर जीविकोपार्जन भइनैरहेको छ ।

यद्यपि, दुईपल्ट बालुवाटार र दुई कार्यकाल शीतलनिवासमा उपरखुट्टी लगाएर बस्दा पनि मदन भण्डारीको हत्यारालाई स्मृति दिवसका दिन रोस्ट्रममा बाहेक अन्त खोजिएन । बरु प्रष्ट्याउनुस आफ्नै केटाकेटीलाई, पटकपटक सत्तामा पुग्दा पनि देखाउन नसकेको मदन–आश्रित हत्याकाण्डको विषय ।

सक्नुहुन्छ ? र सम्झिनुस् आफ्नै विगत अनि कल्पिनुस् माओवादीका केटाकेटीले यतिका पहल नगरेको भए आजको आफ्नो हविगत ? सोंचाइ सधैं सकारात्मक दिशामा निर्दिष्ट हुनुपर्छ । अझ देशकै बागडोर सम्हालेका व्यक्तिले भुइँमै मुख जोतेर बोल्न पटक्कै शोभा पनि दिँँदैन ।

मनमोहन अधिकारी, मदन भण्डारी र माधव नेपाललगायतले कयौं कष्ट गरेर हुर्काएको उतिबेलाको जनपक्षीय पार्टी एमालेभित्र चोरबाटो छिरेका ख्याउटे अनुहारलाई आम सचेत नागरिकले सहजै पहिचान गर्न सक्छन् । ऊँखु बारिको कथा र नाकाबन्दीको कलाकार चिनाउन पनि यो युगका सचेत नागरिकलाई उखान सुनाउन आवस्यक छैन ।

पार्टी बाहिरमात्रै होइन, भित्रैपनि अरुलाई होच्याउने र खुइल्याउने कुरामा ओली विगतदेखि नै जब्बर बनेको पाइन्छ । जसको परिणामस्वरूप ‘नेकपा एकीकृत समाजवादी’ पार्टीको गठन ज्वलन्त उदाहरण हो । कहिले आफैँलाई पृथ्वीनारायणसँग तुलना गर्ने त कहिले राजनेता भन्न रुचाउने ओलीले आफ्नो छुद्रताले नांगो बन्दै गएको सभ्यतालाई पनि हेक्का राखुन् । साथमा यिनै महामनुष्यको स्कुलिङ लिन हतारिँदै गोदावरीको ‘पिकनिक’मा भात खान सिल्टीको प्लेटको लाइनमा बसेकाहरुले पनि आफ्नो सम्भावित भविष्यबारे समीक्षा गरुन् ।

आखिर सत्ता उन्मादमा बेहोस हुँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई बदनाम गराएर ध्वंसको बाटोमा कस्ले लग्यो ? दुईतिहाई बहुमत सहितको नेपाली कम्युनिष्ट सरकारलाई अन्तर्राष्ट्रिय स्तरमै मुख छोप्नु पर्ने गरि धराशायी बनाउने को हो ? जनताको आन्दोलन र न्यायालयको फैसलाले घुच्चुकमा हिर्काएर बार्दली पुर्याउँदा पनि सनही र रित्ता थाल ठटाएर तमासा देखाउने कुन सभ्यता हो ? जसले ‘जन्ती हिँडेको वा मलामी ?’ भनेर पनि छुट्याउन सकेनन् ।

उतिबेला माधव नेपालहरु अनि प्युँसा माओवादी केटाकेटीले आफ्नो खुन, पसिना बगाएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन तातो सडकमा पैताला खियाउँदा तारे होटलबाट धारेहात लगाउनेहरु को हुन् ? यस्ता खात लागेका प्रशस्त प्रश्नहरु उल्लेख गर्ने हो भने एउटा ‘सामान्य ज्ञानको पुस्तक’ नै तयार हुन्छ । अतः आफ्ना तमाम गल्ती कमजोरीलाई उखान टुक्काको लेपन लगाउँदैमा जनता भ्रमित हुँदैनन् । हुटिट्याउँले आकाश थाम्दैन भन्ने यथार्थता सामान्यतया सबैलाई ज्ञात भएकै कुरो हो । त्यसैले जनमतका हत्याराहरुले संसद् भवनमा रत्यौली देखाउनुको कुनै औचित्य छैन ।

– लमही, दाङ

प्रतिक्रिया दिनुहोस्