Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

नीति माओवादीको, नेतृत्व कांग्रेसको !



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन जारी छ । नेकपा खारेज भएपछि माओवादी पार्टी पुर्नगठनको प्रकृयामा जुटेको छ । पुनर्गठनको अभियानलाई महाधिवेशन नभन्ने एक वर्ष अगाडि नै माओवादीले निर्णय गरेको थियो । त्यसैले पार्टी संरचनाको कुनै तहमा अधिवेशन वा महाधिवेशन गरेन । सबै संरचनामा सम्मेलन मात्र गर्याे । तर, अन्तिम अवस्थामा राष्ट्रिय सम्मेलनलाई भने महाधिवेशनमा परिणत गर्याे ।

राष्ट्रिय सम्मेलनलाई किन महाविधेशन भनियो भन्नेबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन समारोहमा सविस्तार व्याख्या गर्ने कोसिस गरे । उनको भनाइ थियो– ‘प्रकृयाका हिसाबले सबै तयारी महाधिवेशनकै थियो । तर, वैचारिक रुपमा तयार हुन नसकिएला कि भनेर सम्मेलन मात्र गर्ने योजना थियो । अन्तिम अवस्थासम्म आइपुग्दा कार्यकर्ताको उत्साह र संगाठनिक तथा वैचारिक रुपमा हामी तयार भयौं त्यसैले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरिएको हो ।’

प्रचण्ड स्वयम् लामो समयसम्म राजनीतिक दस्तावेजबाट कस्तो विचार प्रवाह गर्ने भन्ने अन्योलमा थिए । मुख्यगरी नेपाली समाजको वस्तुगत अवस्था र अबको राजनीतिक कार्यभार कस्तो हुने भन्ने प्रचण्डमा अन्योलता थियो । संविधानमा ‘समाजवाद उन्मुख’ लेखिएको विषयमा यस बिचमा प्रचण्डले धेरै बिमर्स गर्दै निष्कर्षमा पुगे– ‘संविधानमा समाजवाद उन्मुख लेखिएता पनि त्यो निक्कै टाढा छ । समाजवाद उन्मुख यात्राको आधार तयार पार्नु नै अहिलेको कार्यभार हो । समाजवादी क्रान्ति अहिलेनै सम्भव छैन ।’ र, प्रचण्डद्वारा महाधिवेशनमा प्रस्तुत ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ राजनीतिक दस्तावेजको सारतत्व यो नै हो ।

प्रचण्डले बारम्बार भन्दै आएको विषय ‘आत्मसमीक्षा र आत्मआलोचना’ हो । उद्घाटनसत्रमै प्रचण्डले दोहोर्याइ–दोहोर्याइ ‘दस्तावेजमार्फत गम्भीर आत्मसमीक्षा र आत्मआलोचना गरेको छु’ भनेका छन् । तर, प्रचण्डको दावी जस्तो दस्तावेजमा विस्तृत आत्मसमीक्षा र आत्मलोचन छैन । विज्ञान प्रविधिको उच्चतम विकास र जलवायु परिवर्तन जस्ता गम्भीर विषयमा प्रचण्डले आधारभूत व्याख्या गरेका छन् ।

मौलिक प्रकृतिको अर्थतन्त्र विकास गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्नुपर्छ भन्ने सन्दर्भले नेपाली समाजलाई आधारभूत रुपमा दिशावोध गर्न मद्दत पुग्न सक्छ । तर, माओवादी स्वयम् कमजोर हुँदा माओवादीले अवलम्बन गर्ने नीति स्थापित हुन नसक्ने विगतले पुष्टि गरेको छ । अहिलेको अवस्था त्यस्तै हो । देश माओवादीको एजेण्डामा अघि बढेको छ । तर, देशको नेतृत्व माओवादीले गर्न सकेको छैन । जसको नीति उसैको नेतृत्व भन्ने कम्युनिष्ट मान्यता माओवादी कजोर हुँदा कार्यान्वयन भएन ।

कमजोरी स्वीकार
प्रचण्डले माओवादी कमजोर हुनुको कारण माओवादी नै हो भन्ने स्वीकार गरेका छन् । तर, त्यसको अन्तरवस्तु गहन रुपमा विश्लेषण गर्न सकेनन् । शान्ति प्रक्रियामा आएपछि माओवादीको मुख्य कमजोरी ‘द्वय चरित्र’ थियो । लामो समयसम्म माओवादी शान्तिपूर्ण संसदीय राजनीति र विद्रोहको नाममा रुमलियो । आवरणमा शान्तिपूर्ण संसदीय राजनीति र आन्तरिक रुपमा विद्रोहको तयारी माओवादीको नीति थियो । यो नीति नै माओवादीको कमजोरी थियो ।

किनकी, संसदीय राजनीति र विद्रोह एकैपटक सम्भव थिएन । दुवै अभ्यासमा माओवादी सफल देखिएन । प्रचण्डको राजनीतिक दस्तावेजमा यो विषयले उचित स्थान पाएन । यो मानेमा प्रचण्डले भने झै दस्तावेजले गम्भीर आत्मसमीक्षा गर्न सकेन । राजनीतिक दस्तावेजमार्फत प्रचण्डले सांस्कृति रुपान्तरणको सवाल गम्भीरतापूर्वक उठाएका छन् । माओवादीमा आदर्श र मूल्य मान्यताको आधारमा ठूलो सांस्कृतिक विचलन छ । माओवादी कमजोर हुनुको कारण यो पनि महत्वपूर्ण पाटो हो । प्रचण्डले दस्तावेजमार्फत अब सांस्कृतिक रुपमा रुपान्तरण हुँदै कम्युनिष्ट आदर्श र मुल्यमन्यता कामय गर्ने चाहना राखेका छन् ।

भेडाको कथा
महाधिवेशनको पूर्वसन्ध्यामा प्रचण्डले सम्पादकहरुसँगको भेटमा सिंह र भेडाको कथा सुनाएका थिए । ‘सानैमा भेडाको वथामा पुगेको सिंहको बच्चा घाँस खाने र भेडा जस्तै भ्या भ्या गरेर कराउने तथा सिकार नगर्ने भयो’ भन्ने प्रचण्डले सुनाएको कथाको सार थियो । माओवादी पनि संसदीय राजनीतिमा आएपछि अन्य वुर्जुवा संदसदवादी दल जस्तै भयो भन्न खोजेका थिए । हुन त प्रचण्डले कथाको अन्त्यमा ‘पछि ठूलो सिंह आएर भ्या भ्या गर्ने सिंहलाई सिंह जस्तै गर्जन सिकायो र सिकार गर्ने भयो’ भनेर पनि सुनाएका थिए ।

यसको मतलव परिस्थितिले माओवादीलाई पुरानै अवस्थामा फर्कायो भन्न खोजेका हुन् । तर, कथा जस्तै माओवादीलाई पुरानै अवस्थामा फर्काउन अर्को सिंह आउने छैन । अर्थात, सांस्कृतिक रुपान्तरणको सवालमा माओवादीलाई पूरानै अवस्थामा ल्याउन माओवादीले बाहेक अरु कसैले भूमिका खेल्न सक्दैन ।

नेकपा एमालेसँगको एकता र विभाजनको सन्दर्भलाई प्रचण्डले दुःखद घटनाक्रमको रुपमा व्याख्या गरेका छन् । नेकपा खारेज भएदेखि नै प्रचण्डले ‘एमालेसँगको एकता गल्ती थिएन’ भन्दै आएका छन् । उद्घाटनसत्रमा पनि दोहोर्याए । आधारभूतरुपमा आम कम्युनिष्ट नेता कार्यकर्ताले कम्युनिष्ट एकतालाई गल्ती भनेका छैनन् । र, एकता लागि आवश्यक तयारी नगरी हतारमा एकता गर्नु गल्ती थियो भन्ने कोणबाट पनि कसैले बहस गरेका छैनन् । त्यसरी नै प्रचण्डको दस्तावेजले त्यो ऐतिहासिक गल्ती छोप्ने काम गरेको छ । यस गम्भीर विषयको सरल आत्मबोधले माओवादीलाई आगामी यात्रामा पुनः दुर्घटनातर्फ लैजानसक्ने विश्लेषण हुने गरेको छ ।

प्रचण्डले आत्मलोचना र आत्मसमीक्षा दस्तावेजको मुख्य विशेषताको रुपमा व्याख्या गरेका छन् । तर, प्रस्तुति भने सबै ठिक गरियो भन्ने कोणबाट भएको छ । शान्ति प्रक्रियामा आएपछि एकपछि अर्को गर्दै आफ्ना पदचापहरु भूलेको विषयमा आत्मसमीक्षा गर्न प्रचण्ड डराएका छन् । सेना समायोजनका नाममा जनमुक्ति सेनालाई अयोग्यको बिल्ला भिराउने, जातिय, क्षेत्रिय, लिङ्गीय मुक्तिको सवाल अलपत्र पार्नेदेखि एमालेसँग एकता गर्दा भएको वैचारिक त्रुटिलाई स्वीकार गर्न नसक्नु आत्मसमीक्षा होइन भन्ने कोणबाट आलोचना भइरहेको छ ।
अस्तित्व रक्षाको संकटमा पुगेको बेला माओवादीको आठौं महाधिवेशन जारी छ । वर्तमान व्यवस्थाका हिमायती माओवादी संकटमा पर्नु सुखद् होइन । माओवादी संकटमा पर्दा ‘जसको नीति उसैको नेतृत्व’ भन्ने मान्यता धर्मराएको छ । माओवादी कमजोर हुँदा व्यवस्था संकटमा छ ।

सत्ताको लोभ र भोक
शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दैगर्दा जनताले माओवादीसँग अनेक अपेक्षा राखे । २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनले पुष्टि गर्छ । जसको नीति, उसैको नेतृत्व भन्ने मान्यतामा जनताले सबैभन्दा ठूलो पार्टी बनाए । तर, जनमतको बलमा जनताकै लागि काम गर्ने ल्याकत माओवादीसँग भएन । त्यसको परिणाम ०७० को आम निर्वाचनमा देखियो । ०७४ मा झनै पुष्टि भयो । त्यहाँबाट माओवादीले शक्ति संकट झेल्न थाल्यो ।

संसदीय अभ्यासको पहिलो पाइला अन्तरिम विधायक हुँदै संघीय संरचनाको अभ्यासम्म आइपुग्दा माओवादी आफैले तीन पटक सरकारको नेतृत्व गरिसकेको छ । धेरैपटक सरकारमा सहभागी भएको छ । तर, आफ्नै नेतृत्वमा सरकार बनाउँदासमेत माओवादीले आफ्नो नीति अनुरुप जनपक्षीय काम गर्न सकेन । सत्ताको लोभमा हरेकपटक सम्झौता गर्दै जाँदा आफ्ना मुद्धाहरु छोड्दै गयो । एमालेसँग पार्टी एकता गर्दा सारा मुद्धा त्याग्नु पछिल्लो घटनाक्रम थियो । यसरी, व्यवस्था नै परिवर्तन गर्ने ल्याकत राख्ने माओवादी यति छिट्टै धर्मराउँछ भन्ने अनुमान थिएन । यो विषयमा मुल नेतृत्वको रुपमा प्रचण्डले आत्मलोचना गर्नुपर्ने थियो । तर, आठौं महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजमा यी विषयले उचित स्थान पाएन ।

त्यसो त प्रचण्डले बारम्बार पार्टीलाई २०६४ सालकै अवस्थमा फर्काउने भन्दै आएका छन् । त्यसको मतलव नक्कल झक्कल छोडेर पुरानै माओवादी स्वरुपमा फर्कने भन्ने हो । आधारभूत वर्गसँग सम्बन्ध सुधार गर्नुपर्छ भन्ने हो । जनताकै काम गरेर जनताबाटै अनुमोदित हुनुपर्छ भन्ने हो । त्यो माओवादीका लागि उपयुक्त निर्णय हुनसक्छ । छोडेका मुद्दाहरु सम्हाल्दै अघि बढ्ने हो भने ठूलो तप्का अझै पनि माओवादीसँगै रहन तयार छ । जातीय, क्षेत्रीय र लैंगिक मद्दाहरु समुचित रुपमा व्यवस्थापन गर्न माओवादी तयार हुने हो भने प्रचण्डले भने झै माओवादी पुरानै अवस्थामा फर्कन सक्छ । प्रचण्डले गम्भीर आत्मसमीक्षा र आत्मलोचना भन्नुको मतलव यो नै हुनसक्छ । तर, महाधिवेशनले तय गर्ने नीति तथा कार्यक्रम कार्यान्वयन नहुने हो भने त्यो सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्