Logo
Logo

मिडियाकर्मीको हर्कतबाट पीडित समाज




आफैँ मर्यादामा बस्नुपर्ने पेशाका मानिसहरुले जब त्यो घेरा तोड्छन्, तब तिनै मानिसहरु सामाजिक सञ्जालमा ‘भाइरल’ बन्छन् । त्यसमाथि पनि अरुका समाचार बनाउने मानिसहरु जब आफैँ समाचार बन्छन्, तब सिंगो पत्रकार जगतले शिर निहुर्याउनुपर्ने हुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा संलग्न एकजना सञ्चारकर्मीले नेपाल वायुसेवा निगमको उडिरहेको जहाजमा सञ्चारकर्मीको रुपमा जे–जस्तो हर्कत गरे, त्यो अपराधजन्य कार्य हो ।

अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनिवार्यरुपमा सबै यात्रुहरुले पालना गर्नैपर्छ । पत्रकार हुँ भन्दैमा त्यो कानुन छु हुँदैन । अन्यथा, त्यस्ता यात्रुमाथि अन्तर्राष्ट्रिय कानुनबमोजिम ‘हत्कडी’ लगाइन्छ । धन्न ती सञ्चारकर्मी ‘हत्कडी’ लगाउनबाट जोगिए ।

यसमा ती सञ्चारकर्मीको भन्दा बढी दोष प्रधानमन्त्री देउवाको छ । किनभने, सरकारी प्रतिनिधिमण्डलमा देउवाले कस्ता मानिसलाई समावेश गरेका रहेछन् भन्ने कुरा उक्त घटनाले उजागर गरेको छ ।

मिडियाकर्मीको हर्कतबाट समाज पीडित छ । पीडा पोख्ने ठाउँ छैन । वास्तवमा मिडिया परपीडक बन्नु हुँदैन । बरु, समाजको पीडामा मल्हमपट्टी लगाउने काम गर्नुपर्छ ।

पत्रकारिता पेशा आफैँमा जिम्मेवार र मर्यादित पेशा हो । यस पेशामा लाग्ने जो कोहीले पनि ‘सेल्फ सेन्सरसीप’लाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यसमाथि अहिले सामाजिक सञ्जालका कारण हरेक मानिस आफैँ सूचनाका संवाहक पनि हुन् । यो कुरा यस घटना सामाजिक सञ्जालमा भाइरल भएबाट पनि पुष्टि हुन्छ ।

त्यो भिडियो कुनै पत्रकारले खिचेर पोष्ट गरेको होइन, जहाजमा भएको यात्रुलाई एउटा सञ्चारकर्मीको हर्कत पचाउन गाह्रो भएर उनले मोबाइलमा भिडियो खिचेर सामाजिक सञ्जालमा ‘भाइरल’ गराएका हुन् ।

उक्त भिडियोमा एक जना आफूलाई सञ्चारकर्मी ठान्ने व्यक्ति जबर्जस्ती ‘ककपिट’तर्फ जाने दुष्प्रयास गरेको दृश्य खिचिएको छ । उनलाई एयरहोस्टेजले दुई हात जोडेर त्यसो नगर्न बिन्ती गर्छन्, तर हातमा माइक समाएका ती मानिसले ‘ककपिट’भित्र छिर्न अनेक पटक दुष्प्रयास गरेको देखिन्छ । त्यसपछि असह्य भएर कुनै यात्रुले उनको हर्कत आफ्नो मोबाइलमा कैद गर्छ । जुन अहिले तपाईं हामीले हेर्न सक्छौं । अन्यत्र देशमा भएको भए एयरमार्शलले ती व्यक्तिलाई जहाजबाट जेल पुर्याउँथे ।

तर, ‘लाटो देशमा गाँडो तन्नेरी’ भनेझैं जसको सिङ छैन, उसैको नाम तिखे भएको छ । नेपालमा मिडिया कतिसम्म गैरजिम्मेवार छ भन्ने कुराको यो एउटा सानो उदाहरण मात्र हो । अरुलाई सच्याउन पटक–पटक प्रयास गर्ने मिडियाकर्मी आफू नसच्चिँदा सिंगो पत्रकार जगत्कै बेइज्जत हुने अवस्था आएको छ ।

मिडियाकर्मीहरुको यस्तो हर्कतबाट समाज पीडित छ । पीडा पोख्ने ठाउँ छैन । वास्तवमा मिडिया परपीडक बन्नु हुँदैन । बरु, समाजको पीडामा मल्हमपट्टी लगाउने काम गर्नुपर्छ ।

सञ्चारकर्मी मात्र होइन, हरेक पेशा व्यवसायमा आवद्ध मानिसहरुले जब आफ्नो मर्यादा भुल्छन्, तब समाजमा त्यसले बिग्रह ल्याउँछ । त्यसमाथि चौथो अंग भनिने पत्रकारिता क्षेत्रको दिमाग खुस्कियो भने देश र जनताले कस्तो दुर्घटना भोग्नु पर्ला, विचार गरौं ।

प्रतिक्रिया दिनुहोस्