Logo
Logo

‘मण्डले’ बोकेर हिँड्नु एमालेको आर्यघाट यात्रा



‘प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ’ गायक दीपक खरेलको स्वरमा गाइएको यो गीत एक जमानामा खुबै चर्चित थियो । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएपछि यो गीतको झझल्को आयो ।

यो गीतमा प्रेमी र प्रेमिकाबीचको सम्बन्ध हाँसो, मिलन र विछोडमा टुंगिएको छ । गीतका शब्दमा भनिएझैं प्रेम पनि मन र भावना मिल्नेसँग मात्र स्थायी हुन्छ । जबर्जस्ती बाध्यतावश गरिएको प्रेम अन्ततः हाँसो, मिलन र विछोडमै टुंगिन्छ । त्यस्तै ओली र थापाबीचको प्रेम पनि कति दिन टिक्ने हो थाहा छैन । किनभने, जीवनभर कम्युनिष्ट विचार बोकेका ओली र जीवनभर राजावादी भएर राजनीति गरेका थापाबीचको यो सहकार्य नैतिकहीन, सिद्धान्तविहीन र चरम अवसरवादको नमूना हो ।

सिद्धान्तविहीन सहमति र सम्झौताको जगमा भएको यो सहकार्यले एमालेको भविष्यलाई मण्डलेकरणतर्फ डोहोर्याएको छ । जुन नेता पञ्चायती निरंकुश व्यवस्थाविरुद्ध १४ वर्ष जेल बसे, त्यही नेताले पञ्चायती निरंकुश व्यवस्थामा मण्डले भनेर चिनिने कमल थापासँग चुनावी तालमेल गर्नु भनेको ‘डाडुमा पानी तताएर मर्नु’ बराबर हो ।

‘मण्डले’लाई बोकेर एमाले हिँड्नुपर्ने अवस्था आउनु भनेको एमालेको आर्यघाट यात्रा नै हो । अब तिनै तहको निर्वाचनमा जनताले एमालेलाई दागबत्ती दिनुको विकल्प रहेन ।

ओलीको यस्तो चरित्रले उनको राजनीतिक भविष्य त पुस ५ गतेपछि समाप्त भयो नै, साथसाथै पुष्पलालले जन्माएको मनमोहन अधिकारी, मदन भण्डारीहरुले हुर्काएको कम्युनिष्ट पार्टीसमेत मण्डलेकरण हुँदै विसर्जनवादतर्फ उन्मुख भयो ।

यो पार्टीलाई यहाँसम्म ल्याउन धेरै नेता, कार्यकर्ताले बलिदानी दिएका छन् । आजको यो व्यवस्था तिनै नेताहरुको बलिदानीको परिणाम हो । तर, ती सहिदहरुको त्याग र बलिदानीलाई बेवास्ता गर्दै थापाजस्ता मण्डलेलाई ‘सूर्य’ चुनाव चिह्न दिनुले ‘सूर्य’ चिह्नप्रति समेत एमाले नेता, कार्यकर्ताहरुको वितृष्णा जाग्न थालेको छ ।

जतिबेला नेपाली जनता निरंकुश राजतन्त्रविरुद्ध सडकमा थिए, त्यतिबेला जनआन्दोलन दमन गर्न कमल थापालाई पूर्वराजा ज्ञानेन्द्रले गृहमन्त्री बनाएका थिए । चाहे ०४६ सालको आन्दोलन होस् वा ०६२÷६३ को जनआन्दोलन नै किन नहोस्, त्यसमा कमल थापाको भूमिका दमनकारी थियो ।

प्रजातन्त्र आइसकेपछि जनताको पहिलो माग ‘कमलेलाई फाँसी दे’ भन्ने थियो । त्यो आवाज निकाल्ने पहिलो पंक्तिको नेतृत्व एमाले नेता, कार्यकर्ताहरुले नै गरेका थिए । निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गर्दा एमालेका कति नेता, कार्यकर्ताले ज्यान गुमाए, कतिले जेलनेल भोगे ।

अहिले तिनै ‘मण्डले’लाई बोकेर एमाले हिँड्नुपर्ने अवस्था आउनु भनेको एमालेको आर्यघाट यात्रा नै हो । अब तिनै तहको निर्वाचनमा जनताले एमालेलाई दागबत्ती दिनुको विकल्प रहेन ।

गीतमा भनिएझैं ‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ’ भनेझैं ओलीलाई २०७४ सालको निर्वाचनमा जनताले सगरमाथाको शिरमा पुर्याएको थियो । आम नागरिकमा ओलीको राष्ट्रवादी छवि चुलिएको थियो । दुर्भाग्य, माओवादीसँग गरेको पार्टी एकता टुंगोमा पुग्न नसक्दा र प्रचण्ड, माधव नेपाललाई ठेगान लगाउँछु भन्दा ओली आफैँ सगरमाथाको शिरबाट टुकुचाको तिरमा पुगेका छन् ।

अब तिनै तहको निर्वाचन तयारीमा गठबन्धन सरकार जुटेको छ । जनता नै इतिहासको अजेय शक्ति हुन् । यो तिनै तहको निर्वाचन परिणामले प्रतिगामी एमाले र मण्डले गठबन्धनलाई ठेगान लगाउने छ ।

हेक्का रहोस्, जनता जहिले पनि प्रतिगामी, पुनर्उत्थानवादी शक्तिको विरुद्धमा उभिएका हुन्छन् । तिनै जनताले हिजो ओलीलाई ‘राजनेता’ बनाएका थिए, अब तिनै जनताले अब ओलीलाई ‘लाजनेता’मा परिणत गर्नेछन् । प्रतिक्षा गर, मेरी मायालु समयले ओलीलाई कहाँ कहाँ पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्