Logo
Logo

भ्रष्टहरूलाई बालकोटको बर्को



भर्खरै बहुदलीय व्यवस्था स्थापना भएको थियो, त्यतिबेला देशमा ‘कम्युनिष्ट शासन’ आयो भने साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई गोली ठोकेर मारिन्छ भनिन्थ्यो । परन्तु मनमोहन अधिकारी प्रधानमन्त्री र माधवकुमार नेपाल महासचिव भएका पालादेखि ज्येष्ठ नागरिकहरूका लागि वृद्धभत्ता दिन थालियो ।

जनयुद्ध सुरु भएपछि ‘माओवादीको शासन’ आयो भने साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई मारिन्छ भन्ने स्यालहुइयाँ फेरि मच्चाइयो । माओवादीले बाबुराम भट्टराई अर्थमन्त्री भएपछि वर्षौंदेखि रोकिएको वृद्धभत्तालाई अझै वृद्धि गरेर वितरण गर्न थाल्यो । आम नागरिकमा एउटा बेग्लै उत्साह छायो ।

अहिले देशलाई श्रीलंका बनाउन थालियो भनेर डंक पिट्नेहरू पनि त्यही ‘साठी वर्षमाथिका नागरिकलाई मार्छ’ भन्ने कथनका परिकल्पनाकार नै हुन् । यो कथा भात खान बसेको सोझो किसानलाई पछाडिबाट बञ्चरो हिर्काएर १४ वर्ष जेल बस्ने केपी ओलीले ‘म गणतन्त्र प्राप्तिको लागि जेल बसेको हुँ’ भनेझैँ हो । जसले अहिले एमाले नामक अति उखारमाउलो झुण्डको नेतृत्व गरिरहेका छन् ।

विरोधका नाममा सधैं निर्लज्ज बनेर पाखुरा सुर्किने एमाले र बालकोटको आशीर्वादले राज्यका विभिन्न निकायलाई ध्वस्त बनाइरहेका सबैखाले भ्रष्टहरूलाई तह लगाउनु नै देशको आवश्यकता हो ।

उनकै व्यक्तिवाद हावी रहेको त्यो जमातले सधैँजसो आफ्नो उत्ताउलो व्यवहारद्वारा राज्य र राजनीतिलाई गिजोलिरहेको छ । पानी धमिलो बनाइरहने र खुसुखुसु माछाजति आफ्नै भागमा पार्न पल्किएको यो जमातले आजसम्म जहाँ हात लम्काएको छ, त्यहाँ तहसनहस नै बनाएको छ ।

सबैतिरको आफ्नै पोल्टामा सोहोर्न खोज्दा आहिले ‘भुइँमा न भाँडामा’ भएर पोखिएको यो जमात निर्वस्त्र भएर दिउँसै सडकमा दौडिरहेको छ । झण्डै चार वर्षसम्म सत्तामा बस्दा देशलाई जुकाले झैँ चुसेर टाट पल्टाएको भ्रष्टहरूको यो भेँडीगोठले जल, जंगल, जमिन, खोला–खोल्सादेखि राज्यका भौतिक सम्पत्तिसमेत भोका स्यालहरूले जस्तै लुछेर थिलोथिलो बनाएको छ । फलतः त्यही पाखण्डहरूले गरेको धुत्र्याइँको सजाय आज देश र जनताले भोगिरहेका छन् ।

देशको अर्थतन्त्र ओरालो लाग्नुमा विभिन्न कारण होलान । अर्थतन्त्रको अवस्था यस्तो हुनुमा केपी शर्मा ओली नेतृत्वको सरकार जिम्मेवार छ । ओली सरकारकै पालामा अर्थतन्त्रका सूचकहरू ऋणात्मक भइसकेका थिए । अहिले त्यो अवस्था थप जटिल बनेको मात्र हो ।

यद्यपि, एउटा नेपालीले विदेशमा परिश्रम गरेर स्रोत खुलाएरै कमाएको पैसा देशभित्र ल्याउँदा २५ प्रतिशत घुस माग्दै दुई वर्षदेखि अल्झाइयो । त्यो पनि ओली सरकारकै पालामा । जेहोस्, राजनीतिक पूर्वाग्रह राख्दै सरकारसँगै समग्र देशको अर्थतन्त्र र पूँजीबजारलाई ध्वस्त पार्न उद्यत बालकोटे सुसारेलाई ढिलै भए पनि सरकारले ठेगान लगाएको छ ।

झट्ट हेर्दा र सुन्दा स्वायत्त संस्थाप्रति सरकारको हस्तक्षेप जस्तो देखिन्छ, तर वर्तमान अवस्थामा यो निर्णय लिनैपर्ने थियो । आफू सकिँदा देश नै सकियो भनेर हल्लाखोर गर्न माहिर ओली गुटले अहिले गभर्नरका विषयमा जे अफवाह जोतिरहेको छ, यो पूर्णतः उसको रासनपानीको मुहान सुक्दै जानुको उपज हो । विरोध गर्नु प्रतिगमनकारीका मतियारहरूको धर्म नै हो ।

राष्ट्र बैंक सञ्चालन समितिका सदस्य सुबोधकुमार कर्णले विनोद चौधरीका छोरासँग ३० हजार डलर घुस मागेको म्यासेज बाहिरिएको छ । नकावधारी तस्करहरू कहाँसम्म पुगेका छन् भन्ने यो पनि एउटा प्रमाण हो । अनि अर्थतन्त्र श्रीलंकाको जस्तो हुँदैछ भनी बाहिर हल्ला गर्ने पनि यिनै माफियाहरू हुन् ।

अर्थतन्त्र भनेको रक्सीको नसाझैँ पिउनेबित्तिकै लाग्ने हैन । एमाले सत्तामा हुँदा राज्यकोषबाट अर्बौं रकम दुरुपयोग गरेको परिणाम भर्खरै देखिन थालेको छ । यो हिजो देश समृद्ध हुँदैछ भन्ने ललिपप देखाएर आफैँ समृद्ध हुन घुँडा धसेरै लाग्नुको नमिठो करामत हो ।

ओली सरकारले राष्ट्रिय ढुकुटीको अवाञ्छित दोहन गरी राष्ट्रिय ऋण २ दशमलव ५ गुणा बढाएर अर्थतन्त्र ध्वस्त परेको थियो । ठिक त्यही बेला स्वीस बैंकमा नेपालीको खातामा ३ गुणा बढी पैसा डिपोजिट भएको तथ्य पनि बाहिरिएको थियो ।

चरम भ्रष्टाचार र अनियमिताका कारण थिलथिलो पारिएको राष्ट्रिय अर्थतन्त्र कसरी टिक्यो होला ? जनार्दनको ठाउँमा अरू कोही भएको भए भूमाफिया र दलाल पूँजीपतिहरूले देशलाई उहिल्यै श्रीलंकाको हालतमा पुर्याइसक्थे ।

उतिबेला दैनिक अठार घन्टासम्म लोडसेडिङ गर्दै अर्बौं ऋणको भारीले थिँचिएको विद्युत प्राधिकरणबाट मुकेश काफ्लेलाई बर्खास्त गर्दा पनि एमालेलाई साह्रै दुखेको थियो । ‘लोडसेडिङ’ अन्त्य भएमा आफ्नो कमिसनको मुहानमा खडेरी पर्ने देखेर एमालेभित्र भयंकर आतंक मच्चियो । लोडसेडिङ अन्त्य हुनै नसक्ने र भएमा कुनै पनि सार्वजनिक पदधारण नगर्ने घोषणा गरियो । यतिसम्मकि बिजुलीका खम्बा ढाल्नेदेखि ट्रान्सर्फमर फोड्नेजस्ता लाजमर्दो हर्कतहरू भए ।

आखिर भ्रष्टका मतियारहरू ढल्न खोज्दा बालकोटले यतिविधि ऐया–आत्थाको चित्कार किन छोड्छ ? किन पोल्छ– बालकोटको मुटु ? धन्धावाला माफियाहरू फन्दामा पर्दा किन मुर्छा पर्छन् त एमालेजन ? किनकि– खाइपाइ आएको ढुकुटीको मूल जर्जर खडेरीको मारमा पर्छ । त्यसैले भ्रष्टहरू भुंग्रोमा पर्दा जहिल्यै पनि बालकोटको बर्कोले छोप्न खोजिन्छ ।

खासमा यती–ओम्नी काण्ड, बालुवाटार जग्गा काण्ड, ७० करोड काण्ड, बतास तथा गिरीबन्धु टि स्टेट काण्ड आदि सबैका मतियारहरूलाई राष्ट्रिय सम्मान गर्नुपर्छ भन्ने बालकोटको अघोषित धारणा हो ।

विरोधका नाममा सधैं निर्लज्ज बनेर पाखुरा सुर्किने एमाले र बालकोटको आशीर्वादले राज्यका विभिन्न निकायलाई ध्वस्त बनाइरहेका सबैखाले भ्रष्टहरूलाई तह लगाउनु नै देशको आवश्यकता हो । कहाँ हिर्काएर भ्रष्टहरूलाई थला पार्दा देशले अग्रगामी गति लिनसक्छ ? त्यहीँ प्रहार गर्नु हरेक जनउत्तरदायी सरकारको दायित्व पनि हो ।
– लमही दाङ

प्रतिक्रिया दिनुहोस्