Logo
Logo

जगन्नाथहरुको विद्रोहले प्रतिगामीलाई मद्दत पुग्न सक्छ



राजनीतिमा जीवन बिताएका मानिसमा इमान, जमान, नैतिकता र त्याग भएन भने, त्यो मानिसको राजनीति पतन सुरु हुन एक सेकेन्ड पनि लाग्दैन ।

सर्वोच्च कमाण्डर गणेशमान सिंहमा यी चारै गुण थिए, र उनी आजसम्म पनि त्यागी नेताका रुपमा चिनिन्छन् । यदि, गणेशमान सिंहले पञ्चायती व्यवस्था ढाल्न कम्युनिष्टहरुसँग सहकार्य नगरेको भए नेपाली कांग्रेसको अवस्था पनि ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ भनेजस्तै हुन्थ्यो ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउनुमा पनि वाम–लोकतान्त्रिक गठबन्धनको अहं भूमिका छ भन्ने कुरा कांग्रेसका एकथरि नेता, कार्यकर्ताले यतिबेला बुझ्नुपर्छ । पुस ५ को कदम यो व्यवस्था ढाल्न चालिएको थियो, त्यसैको जगमा यो व्यवस्था जोगाउन पाँच दलीय गठबन्धन बनेको हो ।

जब–जब लोकतन्त्रमाथि प्रहार हुन्छ, तब–तब लोकतन्त्र जोगाउन कांग्रेस र कम्युनिष्टहरु एक भएको इतिहास छ । र आज, स्थानीय तहको निर्वाचनमा त्यही इतिहास कायम गर्न पाँच दलीय गठबन्धन बनेको हो । यतिबेला पाँच दलीय गठबन्धनको कार्यभार पनि स्थानीय तहको निर्वाचनबाट प्रतिगामी र पुनर्उत्थानवादी तत्वलाई परास्त गर्नु नै हो ।

कांग्रेस जोगाउन जगन्नाथ पौडेलको उम्मेदवारी हो भने सबैभन्दा पहिला उनी लोकतन्त्र र संविधान जोगाउन प्रतिबद्ध हुनुपर्छ । अनि मात्र कांग्रेस जोगिन्छ । कांग्रेसभन्दा माथि देश छ, भन्ने कुरा पनि भरतपुरका कांग्रेस नेता, कार्यकर्ताले बुझ्नुपर्छ ।

२०७७ सालको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र मिल्दा पनि नेकपा एमालेले ४० प्रतिशत मत ल्याएर अधिकांश ठाउँ जितेको थियो । त्यो एमाले अहिले प्रतिगामी कित्तामा उभिएको छ । र, यो व्यवस्था समाप्त पार्न राप्रपा नेपालसँग सहकार्य गरेको छ । तिनै तहको निर्वाचनमा प्रतिगामी तत्वलाई पराजित गर्ने उद्देश्यसहित यो गठबन्धन विशेष परिस्थितिमा निर्माण भएको कुरा कांग्रेसका नेता, कार्यकर्ताहरुले बुझ्नुपर्छ ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रेणु दाहाल हार्यो भने आउँदो प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा त्यसले कस्तो परिणाम ल्याउँछ भन्नेतिर पनि कांग्रेसजनहरुको ध्यान जानुपर्छ ।

भरतपुर कांग्रेसले दाबी गरेजस्तै उसको पकडमा हुन्थ्यो भने २०७४ सालको निर्वाचनमा रेणु दाहालले एमालेका देवी ज्ञवालीलाई जम्मा २०३ मतले हराउने अवस्था आउने थिएन ।

माओवादी र कांग्रेस गठबन्धन भइसकेको अवस्थामा दशौं हजार मतले रेणु दाहालले जित्नुपथ्र्यो । तर, झिनो मतअन्तरले जित्नु भनेको कांग्रेसको बेइमानी हो । यो बेइमानी यसपटक दोहोर्याउनु हुन्न ।

२०७४ सालको निर्वाचन परिणामलाई हेर्ने हो भने पनि भरतपुरमा प्रतिगामी एमाले कमजोर छैन । कांग्रेसको विद्रोहले प्रतिगामीलाई मद्दत पुग्न सक्छ । त्यसो भयो भने सत्ता गठबन्धनको पनि कुनै औचित्य रहन्न र देश पुनःप्रतिगमनतर्फ उन्मुख हुन्छ ।

कांग्रेस जोगाउन जगन्नाथ पौडेलको उम्मेदवारी हो भने सबैभन्दा पहिला उनी लोकतन्त्र र संविधान जोगाउन प्रतिबद्ध हुनुपर्छ । अनि मात्र कांग्रेस जोगिन्छ । कांग्रेसभन्दा माथि देश छ, भन्ने कुरा पनि भरतपुरका कांग्रेस नेता, कार्यकर्ताले बुझ्नुपर्छ ।

विपी कोइरालाले कम्युनिष्टहरुसँग सहकार्य गर्नु हुन्न भन्दा पञ्चायती निरंकुश व्यवस्थाले तीस वर्ष निरन्तरता पायो । कांग्रेस खोज्न वनारस जानुपर्ने अवस्था आयो, त्यसैले कांग्रेसको आवरणमा प्रतिगामीलाई सहयोग पुग्ने काम आफूलाई कांग्रेस हौँ, लोकतन्त्रवादी हौं भन्ने जगन्नाथहरुले गर्नु हुँदैन । अराजकताले निम्त्याउने भनेको गलत परिणाम नै हो ।

राजनीति भावनामा बग्दैन । सिद्धान्त र विचारले राजनीतिलाई अगाडि बढाउने हो । यति बेलाको परिस्थिति यो व्यवस्था ल्याउन एकजुट भएका दलहरु फेरि पनि एकजुट हुनु नै हो । यही कुरा बुझेर प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा माथि देश र लोकतन्त्रलाई राखेका छन् । देउवाको यो प्रयासले कांग्रेस इतिहासमै एकपटक शक्तिशाली बन्दैछ । त्यसको अवरोध जगन्नाथ हुनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्