Logo
Logo

रक्सी, मासु र पैसामा नेतृत्व चुन्ने गल्ती नगरौं



यतिबेला देशका कयौं भागमा मासुभातको थुप्रो र रक्सीको खोलो बगाइँदैछ । यसै बखत निर्वाचन अभियानका नाममा विभिन्न जिल्लामा भोजभतेर नै चलाइएका खबरहरू पनि प्रवाह भइरहेका छन् । जबसम्म मासु, रक्सी र पैसा भरिएको मानसिकतामा एजेन्डा र विचार रोप्न सकिँदैन तबसम्म असल र कुशल नेतृत्वले समाजमा स्थान पाउँदैन ।

विगतदेखि नै चुनाव जित्नलाई अनेकौं हत्कण्डा अपनाउने र जितिसकेपछि समाज विकासको संकल्पलाई आफ्नो लुटिखाने मन्त्रमा रुपान्तरण गर्नेहरुको देशमा बिगबिगी नै छ ।

लामो समयसम्म देशलाई आफ्नै स्वार्थको दम्लोले बाँधेर अनिर्णयको बन्दी बनाउनेहरु फेरि पनि जनताको गीत गाएको स्वाङ देखाएर गाउँ पसेका छन् । ‘अर्को पाँच वर्षसम्म पनि हामीले नै देश लुट्न पाउनुपर्छ’ भन्ने आसय व्यक्त गर्दै गल्ली–गल्लीमा बडो तामझामका साथ मुख मिठ्याएर साउती मारिरहेका छन् ।

यो देशका सबै समस्याको समाधान आफ्नै गोजीमा बोकेर ल्याएझैँ चुट्की बजाएर जनतालाई दिग्भ्रमित पारिरहेका छन् । ‘बितेको पाँच वर्षसम्म आफ्नै भकारी भर्न घुँडा धँसेको प्रतिनिधिले अब देशका लागि केही गर्छ भन्नु र खिर्राको बोक्रो ताछेर दूध आउँछ भन्नु एकै हो ।’

देश तोड्छु भन्नेहरू र देश जोड्छु भन्नेहरू मिले । राजा ल्याउँछु भन्नेहरू र राजा फ्याँक्नेहरू पनि मिलेकै छन् । संविधान बनाउनेहरू र त्यही संविधान च्यात्नेहरू पनि मिले । तर यो देशबाट हराएको सुशासन र समृद्धि भन्ने कुरा निर्वाचनका प्रतिबद्धताहरूमा मात्रै भेटियो ।

‘कमाउ र राज गर’को सिद्धान्तलाई निधारमा टाँसेर विकास र निकासका बुँदाहरु पुछारमा झुण्ड्याउने प्रवृत्तिले धेरैपटक यो देशमा दुर्मतिको खेला देखाइसकेको छ ।

पटक–पटकका निर्वाचनमा जनताका ख्याउटे सपनाहरु भजाएर सत्ताको भत्ता खानेहरु केही बेरमै बदलिए । देशलाई गरिबीको भट्टीमा धकेलेर सम्पन्नताको शिखर चढ्न उनीहरुलाई कुनै आइतबार कुर्नु परेन । यद्यपि, छरपस्ट देशका समस्याहरु जहाँको त्यहीँ मुर्छा परेर बसेका छन् ।

केन्द्रका नेताले के भनेका छन् भनेर होइन । आफ्ना पालिकका कुनचाहिँ उम्मेदवारले आफूले चाहेजस्तो गर्लान् भन्ने ठहर गरेर मात्र भोट दिउँ । यो पटकको स्थानीय निर्वाचनमा पार्टीलाई होइन, व्यक्तिको क्षमता, योग्यता र छवि हेरेर मतदान गरौं । यहीँबाट परिवर्तनको सुरुवात हुनेछ ।

फेरि पनि उनै कुरुप चित्तका अनुहारलाई जलप लगाएर सत्ता सुम्पनु र उनीहरुबाटै नयाँपनको आशा राख्नु भनेको ‘ढुंगालाई मलजल गरेपछि टुसाउँछ’ भन्ने भ्रम पाल्नुजस्तै हो ।

सिंगापुरका पिता ‘ली क्वानयु’ले भनेका छन्– ‘असल शासनको लागि असल मान्छे चाहिन्छ । शासन व्यवस्था जति नै राम्रो भए पनि शासक वा नेता खÞराब भएपछि जनताले दुःख पाउँंछन् । शासन व्यवस्था राम्रो हुनुपर्दछ भन्ने छैन, नेता असल छ भने समाज र देश त्यसै राम्रो बन्दछ ।’

त्यसैले जनताको अथाह त्याग र बलिदानबाट प्राप्त यो व्यवस्थाको संस्थागत विकास गर्न हामीले पनि असल नेतृत्व चुन्ने जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गरौं ।

अब पनि सुन चोर, बलात्कारी, बिचौलिया, ठेकेदार र ब्यभिचारीहरुलाई टिकट बेचेर ठूलो दल बन्ने मानसिकता पालेका राजनीतिक दलहरुले निर्वाचन जिते भने देश कता जाला ? नैतिक पतन भएर उदांगो बनेका जनमतका हत्याराहरुलाई नै पुनः देशको बागडोर थमौती गरियो भने आउने पुस्ताले हामीलाई के भनेर पुकार्ला ? एक चोक्टो मासु र एक घुट्को रक्सीमा समग्र देशको भविष्य लिलाम गरी पलभरको लागि रमाउने मतदाता र देशको आँठो बेचेर खाने नेतामा कुनै भिन्नता रहला त ?

अघिपछि सधैँजसो चौबाटोमा बसेर नेता सराप्ने हामीले मात्रै निर्वाचनको बेला स्वच्छ र सवल मस्तिष्कको प्रयोग गरेर मताधिकार प्रयोग गर्यौ भने सायदै पछुताउनु पर्ला ।

देशघातीहरुले हामीमाथि प्रयोग गर्ने विभिन्न प्रविधिका बल्छीबाट जोगिन सके पनि भविष्यमा यति धेरै हिनतावोध मान्नु पर्दैन । आफ्नै देशभित्रका जनतालाई कहिले बिहारी, कहिले कुहिएको आँप त कहिले माखे साङ्लो भनेर अपमानित गर्ने विषवृक्षले खाल्डोमा हाल्न खोज्दाखोज्दै देश जोगिएको छ । विभाजन र भ्रमको रोटी सेकेर आफू ढाडिने बानी परेका त्यस्ता कपटी मानसिकतालाई जनताले दिने सजाय भनेकै निर्वाचन हो ।

शासन व्यवस्थाका अन्तिम र निर्णायक शक्ति भनेकै जनता हुन् भनेझैँ कस्तो मान्छेलाई अभिभावक चुन्ने ? भन्ने कुरा जनताकै हातमा निर्भर छ । जनताकै छोराछोरीको बलिदानबाट प्राप्त व्यवस्थालाई विभिन्न तरिकाले प्रदूषित गर्न खोज्ने विषवृक्षलाई मलजल गर्ने कि त्यसलाई ढलाउन खोज्नेलाई शक्ति प्रदान गर्ने भन्ने अधिकार पनि आम मतदातामै केन्द्रित छ ।

त्यसैले आफ्नो मत र मताधिकारको कदर गरौं । सोचेर मतदान गरौं ता कि अर्को पाँच वर्ष फेरि पनि उस्तै निस्तो र निराशाजनक नबनोस् । आफैँले गरेको निर्णय सम्झिएर हिनतावोध गर्न नपरोस् । ग्लानी र पश्चातापको रापले डढ्ने दिन नआओस् । त्यसो हुन नदिन सामाजिक मर्यादा र असल शासनसहितको बुद्धिमानी नेतृत्वलाई मतदान गरौं ।

जनसेवा र जनमतको कदर गरेर सामाज विकासको स्पष्ट खाका कोर्न सक्ने बलियो, विश्वासिलो एवं आँटिलो व्यक्तिलाई अभिभावकत्व ग्रहण गराउन निर्णायक भूमिका खेलौं ।

– लमही दाङ

प्रतिक्रिया दिनुहोस्