Logo
Logo

करोडौं कर छली काण्डमा मुछिए सुमार्गी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नक्कली कम्पनी खडा गरी ६८ करोड राजश्व छलीको घटनामा व्यवसायी अजय सुमार्गीकै संलग्नता देखिएको छ । तर, चलखेलका आधारमा सो प्रकरणलाई सामसुम बनाइएको छ ।

उनका सहयोगीले अरुको नागरिकताको आधारमा कम्पनी दर्ता गरेर ६८ करोड रुपैयाँ राजश्व छलेका थिए । जसमा संलग्न चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको थियो । दिनेश सिवाकोटी, विजयनारायण श्रेष्ठ, रमेश दाहाल र शरद रिजाललाई पक्राउ गरी सिआईबीले कीर्ते मुद्दा चलाएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाएको थियो । छानबिनको क्रममा सुमार्गीकै संलग्नता देखिएपछि अनुसन्धानमा चलेखल भएको हो । चारै जना सामान्य धरौटीमा छुटिसकेका छन् ।

स्रोतका अनुसार पक्राउ परेकामध्ये शिवाकोटी सुमार्गीका विश्वासपात्र हुन् । उनको घर हेटौंडा नै हो । उनलाई नै प्रयोग गरी सुमार्गी परिवारले नक्कली कम्पनी खडा गरी कर छली गरेका हुन् । सुमार्गीले चलाएको स्पाइस नेपालको रिचार्ज कार्ड बिक्रीका लागि नयाँ कम्पनी कडा गरी त्यसरी कर छली भएको हो । शिवाकोटीले सोही प्रकरणबाट करोडौं कमाएको स्रोत बताउँछ । त्यस्तै उनका साथी विजयनारायण श्रेष्ठले समेत सोही धन्दाबाट केही वर्षमै कोटेश्वरमा घर बनाएका थिए ।

कोटेश्वरका लीला श्रेष्ठको भेट्टाएको नागरिकताका आधारमा उनीहरूले कम्पनी दर्ता गरेका थिए । सोही कम्पनीबाट ०७१ सालदेखि दुई अर्ब ४२ करोडको कारोबार गरेका थिए । कर कार्यालयले त्यसबापत ६८ करोड कर तिर्नुपर्ने निष्कर्ष निकाल्दै श्रेष्ठलाई पत्राचार गरेको थियो । आफुलाई थाहा नै नभएको कम्पनीको नाममा त्यत्रो कर तिर्नुपर्ने पत्र आएपछि श्रेष्ठ झन्डै बेहोस भएका थिए । पछि उनले प्रहरीमा उजुरी गरेका हुन् ।

अरुको नागरिकताको आधारमा कम्पनी खोल्न सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका सहायक रजिस्ट्रार (उपसचिव टेकबहादुर पुलामी तथा कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई समेत सिआईबीले पक्राउ गरेको थियो ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा काम गर्ने बिचौलिया शरद रिजालले नक्कली नागरिकताका आधारमा कम्पनी दर्ता गर्न सघाएका थिए । प्रहरीका अनुसार सो कम्पनीले एनसेलको रिचार्ज तथा सिमकार्ड बिक्री र वितरणको ठेक्का लिएको थियो । त्यसबापत १३ प्रतिशत भ्याटसमेत कम्पनीले तिरेको थिएन । राज्यलाई ठगी गर्ने उद्देश्यले नै उनीहरूले नक्कली कम्पनी खडा गरेको गरेको खुलेको थियो ।

यो प्रकरणमा राजश्व अनुसन्धान विभाग समेत ठूलो दबाबमा परेको थियो । जसकारण उनीहरुलाई समेत सहज हुने गरी मुद्दा दायर मात्र गरेन मुख्य नाइके सुमार्गीलाई उन्मुक्ति समेत दिइएको छ । यस्तै अवैध रुपमा कमाएको सम्पति विदेश लैजाने र वैदेशिक लगानी भन्दै विदेशबाट ल्याएर कालो धनलाई सेतो बनाउने धन्दामा उनी सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्