Logo
Logo

ठूलो होइन, सानो आशामा रोजियो बालेन



जसको मुखमा पनि बालेन साहको चर्चा छ । राजधानी काठमाडौंको मेयरका रुपमा एकाएक उदाएका बालेन साहप्रति काठमाडौंका जनताले यति धेरै आशा र भरोसा गर्नुको कारण के हो भन्ने प्रश्नको जवाफ कसैले दिन नसके पनि बालेनले प्राप्त गरेको मत राजनीतिक दलप्रतिको विद्रोह हो ।

यस मतले काठमाडौंका युवापुस्तामा राजनीतिप्रतिको वितृष्णा झल्किन्छ । काठमाडौंका युवापुस्ता मात्र होइन, विभिन्न पेशा, व्यवसायमा संलग्न मानिसमा पनि एक प्रकारको असन्तुष्टि छाएको देखिन्छ ।

विगतमा कांग्रेस, एमालेलाई भोट हालेका पुस्ता पनि यसपटक बालेन साहप्रति आकर्षित भएका छन् । यसैकारण कांग्रेस एमालेका गढहरु तासको घरझैं ढलेका छन् ।

यसको सन्देश के हो भने अब राजनीतिक दलहरु सच्चिनु पर्छ । जनतालाई एकपटक मुर्ख बनाउन सकिन्छ, पटक–पटक सकिँदैन भन्ने कुराको एउटा सानो उदाहरण मात्र हो बालेनको उम्मेदवारी ।

मैदानमा एमालेका चर्चित नेता केशव स्थापित र गठबन्धनका शालिन उम्मेदवार सिर्जना सिंह पनि नउत्रिएका होइनन् । उनीहरुका अगाडि पार्टी र संगठन बिनाका बालेन शक्तिशाली देखिनु काठमाडौंका जनताको विद्रोह हो ।

त्यसो त मैदानमा एमालेका चर्चित नेता केशव स्थापित र गठबन्धनका शालिन उम्मेदवार सिर्जना सिंह पनि नउत्रिएका होइनन् । उनीहरुका अगाडि पार्टी र संगठन बिनाका बालेन शक्तिशाली देखिनु काठमाडौंका जनताको विद्रोह हो ।

काठमाडौं मौन छ, चुप छैन । देशभरिबाट काठमाडौंमा अवसरको खोजीमा आउने युवाको संख्या बढ्दो छ । दिनहुँ सार्वजनिक यातायातमा हिंड्नु पर्दाको सास्ती, फुटपाथमा हिँड्दा फोहरको डंगुरले नाक छोप्नुपर्ने बाध्यता, एउटा पासपोर्ट लिन हस्तौं लाइनमा बस्नुपर्ने यातना, बढ्दो वायु प्रदूषण अस्तव्यस्त शहर जो कोहीको भोगाइ हो ।

यसमा सुधार कहिले हुन्छ, कसले गर्छ ? विगतमा केही गर्ला कि भनेर तीन दशक कुरेर बसेका काठमाडौंवासीले यिनै सानोतिनो सुधार गर्ला कि भनेर बालेन साहको ‘लौरो’ रोजेका हुन् ।

काठमाडौंमा मात्र होइन, धनगढी र धरानले पनि स्वतन्त्र उम्मेदवारलाई मेयर पदमा विजयी गराएर राजनीतिक दललाई चुनौती दिएका छन् ।

२०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ सालको जनआन्दोलनमा यिनै युवा होमिए । राजनीतिक परिवर्तनपछि आर्थिक विकासको आशा थियो । देशमै पढेर केही काम गरौं भन्ने सोच थियो । देशले त्यो सोच थेग्न नसकेपछि बाध्य भएर विदेशिएका छोरा, छोरीहरुको रोजाइमा पनि बालेन साह आशाको केन्द्र बन्यो ।

युरोप, अमेरिका, बेलायत पढ्न गएका छोराछोरीहरुले आ–आफ्ना बुवाआमालाई रुँदै फोन गरे– यसपटकको भोट ‘लौरो’मा हाल्नुस् है, लौरो चुनाव चिह्न मतपत्रको यो ठाउँमा छ भनेर समेत देखाए । यो देशप्रतिको प्रेम हो । नेपाली जहाँ गए पनि नेपाल उसको हृदयमा हुन्छ । त्यही युवापुस्ताको ढुकढुकी बालेन साह बन्न पुगे ।

अब युवाको चाहना बालेनले कसरी पूरा गर्लान्, त्यो कौतुहलको विषय बनेको छ । वर्षौँदेखि भ्रष्टाचार, कमिशन र बेथितिले पुरिएको काठमाडौं महानगरलाई त्यो फोहरको डंगुरबाट निकाल्न सजिलो छैन ।

तर, बालेन साहले आफू स्वच्छ, निर्भिक भएर देखाए भने असम्भव भन्ने केही छैन । भनिन्छ, असम्भव भन्ने शब्द मुर्खको डायरीमा मात्र हुन्छ ।

प्रतिक्रिया दिनुहोस्