Logo
Logo

कलो खाएर अन्तर्घातको जालो ?



विपरीत तत्वको कन्दनीमा झुन्डिएर आफ्नै वर्गप्रति घात गर्नेहरु राजनीतिका अश्लील खेलाडी हुन् । यिनीहरुसँग वर्गमुक्ति र सामाजिक रुपान्तरणको अस्त्र भन्दा ‘भ्रष्टहरुको जुठ्यौनुमा लुट्पुटाएर कसरी लाभ लिने ?’ भन्ने जुक्ति हुन्छ ।

विभिन्न रुपमा अभावको दम्लोले बाँधिएर समाजाको पिँधमा रहेका मान्छेहरुको माओवादीले उद्वार गर्याे । सामाजिक थिचोमिचो सहेर आफ्नै आगनमा मुर्झाएका वर्गलाई राज्यको माथिल्लो संरचनासम्म पुर्याउन जोडबल लगायो । र, त्यो विधि कानुनतः स्थापित पनि भयो ।

आज तिनै विगतमा हेपिएका र चेपिएका भनिएकै वर्गका केही छद्यमभेषीहरुले माओवादी सिध्याउन घुँडा धँसेर लागिपरेको दृश्य पनि देखियो । यसको पुष्टि स्थानीय तह निर्वाचनले गरेको छ ।

माओवादी २०७४ सालमा भन्दा बढी स्थानमा विजय त भयो, तर जहाँ पराजय भोगेको छ त्यहाँको अवस्थाले माओवादीको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ । पराजय पनि गठबन्धन भएको ठाउँमा होइन एकल उम्मेद्बारी दिएको स्थानमा गरिएका अनैतिक हर्कतले भोलिको माओवादी आन्दोलन प्रति नै शंका उत्पन्न गरेको छ ।

यो नरमाइलो परिदृश्यको छायांकन दाङको लमही र राजपुरमा भएको छ । आजसम्म जुन वर्गको उत्थानमा माओवादीले बलिदानीपूर्वक संघर्ष गर्यो त्यही वर्गका केही कमरेडहरुले विपक्षी दलसँग मोलमोलाइ गरेर माओवादी सिध्याउनेसम्मको हर्कत देखाइदिए । माओवादी खोल ओढेकाहरुलाई ठेगान लगाउने ल्याकत माओवादी नेतृत्वसँग छ ?

राजतन्त्र र कांग्रेस–एमालेको चरम शोषणमा पिल्सिएर पुस्तौंदेखि हलिया बसेको एउटा गाउँको सोझो मान्छेलाई माओवादीले अधिकार माग्न सिकायो । दिनभरी जमिनदारको खेत जोतेर साँझ खालिहात घर फर्किनेहरुलाई माओवादीले बोल्न सिकायो । बालिघरे प्रथामा बराजुको पैताला ढोग्ने कथित दलितहरुको राज्यका हरेक निकायमा माओवादीले उपस्थित गरायो ।

देशमा बाहुनवादको कुरो सजिलै उठाइन्छ । बाहुनहरु नै बाहुनवादका संरक्षक हुन् र आजसम्म यिनीहरुले नै देश तहसनहस बनाए भन्ने ढ्याङ्ग्रो खुवै ठटाइन्छ ।

हो विगतका सन्दर्भमा त्यस्तो भएको पनि छ । यद्यपि, बाहुनवाद कुनै जातीय लेपन नभएर एउटा तल्लो स्तरको सोंचाई र व्यबहार हो । यो सबै जातजाति बसोबास गर्ने समाजमा आजप्रयन्त पनि हुर्किँदै गइरहेको छ ।

आजकै कुरो गर्ने हो भने, ब्राह्मण जातिमाभन्दा कथित तल्लो जाती भनिएकाहरुमा बाहुनवाद मस्तै मौलाएको छ । थारुमाथी शोषणगर्ने थारुहरु तराईमा अझै पनि बग्रेल्ती छन् । मधेस मुक्तिको गम्छा सिउरिएर मधेसीको छातिमा लात्ती हिर्काउनेहरुको मधेसभित्रै अभाव छैन ।

बार्दलीमा बसेर माओवाद विरोधी अभियान चलाउने पेटी बुर्जुवाहरूको एउटा अंश अहिले पनि माओवादी पार्टी भित्र निकै सक्रिय छ । बाहिर सामाजिक रुपान्तरणको कनिका छरेर भित्रभित्रै माओवादीको मुलगढमा बिष्ट्याउने बानी परेका तरमाराहरुलाई पार्टीले यथाशीघ्र ठेगान लगाउन जरुरी छ ।

यहाँ माओवादीको भजन गाउन वा विरोध गर्न खोजिएको होइन । यथार्थ र सत्यतथ्य प्रष्ट पार्ने प्रयत्न गरिएको हो । अहिले चुनाव जित्नेहरूमा कोही वर्षौंसम्म बिना ज्याला जमिनदारको खेत जोत्ने थारुहरु छन् । कोही बादी छन् । कोही मुसहर छन् । कोही परियार छन् । कोही विश्वकर्मा छन् । कोही सन्थाल छन् । कोही कुसवाह छन् । कोही देउला छन् । कोही डोम छन् । कोही पूर्वकमैया र कमलरी पनि छन् ।

वर्षौँवर्षदेखि मुर्झाइएका सप्तरंगी फूलहरू आज ढकमक्क फक्रिएका छन्– गणतन्त्रको फूलबारीमा । आखिर यो फूलबारीको असली माली को हो त ? यसको सहज उत्तर– माओवादी नै हो ।

परन्तु यहाँ सत्य विषयलाई अतिरंजित गर्नेहरुको कमि छैन । किनकि, यो व्यवस्थाले उनीहरुको हालीमुहाली ध्वस्त पारेको छ । पुस्तौंदेखि समाजमा कायम रहेको विरासत घोप्टाइदिएको छ । फलतः आज उनिहरु विभिन्न दल भित्रका इमानदार कार्यकर्तालाई प्रयोग गरेर आफ्नो अधिपत्य फर्काउने चालबाजीलाई अघि बढाएका छन् ।

समयमै यसको यथोचित चिरफार नगरे वडातहसम्म मौलाउन खोजिरहेको माओवादी भित्रको गुटले विभिन्न युद्ध–आन्दोलनबाट प्राप्त उपलब्धिहरु सहित पार्टीलाई नै सिध्याउने कुरामा विमति राख्न सकिँदैन ।

निर्वाचनमा पराजित हुनुका पछाडि अन्य तमाम विषयहरु पनि छन् । तिनका बारेमा गम्भीर समीक्षा त हुनैपर्छ । तर, माओवादको कलो खाएर, अर्थात् माओवादीले प्रदान गरेको लाभको पदमा बसेर माओवादीलाई नै खुइल्याउने जालो बुन्ने अन्तरघातीहरुलाई पार्टीले सही समयमै पहिचान गरी यथाशीघ्र कारबाही गर्न जरुरी छ ।
– लमही दाङ

प्रतिक्रिया दिनुहोस्