Logo
Logo

अस्तित्व रक्षाको संकटमा एमाले



एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हार’ शब्द मन पर्दैन । त्यसैले स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो दर्जामा झर्दा पनि जितकै गीत गाइरहेको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३२९ पालिकाको नेतृत्वमा विजय हासिल गरेको थियो भने, एमालेले २०५ स्थान मात्र जितेको थियो । ६ वटा महानगरपालिकामध्ये एमालेले एउटा पनि महानगरमा जित हासिल गर्न सकेन ।

एमालेले पद गुमाए पनि मतका आधारमा आफू पहिलो पार्टी भएको दाबी गरेको छ । यही दाबीको आधारमा एमाले प्रदेश र संघको निर्वाचनमा होमिने हो भने मत त आउला, पद भने जोगाउन सक्ने छैन ।

यही कुरालाई ध्यानमा राखेर एमालेका एकथरि नेताले आगामी निर्वाचनमा वाम गठबन्धन गरेर जाने कुरा चर्चामा ल्याएका छन् । अहिलेकै स्थानीय तहको निर्वाचनमा वामपन्थी दलहरुले ल्याएको मत जोड्ने हो भने नेपाली कांग्रेस दोस्रोमा झर्छ । तर, कम्युनिष्टहरुलाई मिल्न नदिने तत्वहरु कम्युनिष्ट पार्टीभित्रै बलियो भएको कारण वाम गठबन्धन त्यति सजिलैसँग होलाजस्तो लाग्दैन ।

कम्युनिष्टहरु फुटेर एक्ला एक्लै निर्वाचनमा भिड्नु भनेको अन्ततः कम्युनिष्ट आन्दोलनको जग कमजोर हुँदै जानु हो ।

एमालेले हारको वास्तविक कारण खोज्ने प्रयत्न अझै गरेको छैन । निर्वाचन अगाडि आफ्नो पार्टीलाई ‘क्विन्टल’को संज्ञा दिएको एमालेले निर्वाचन परिणामपछि ‘किलो’मा झरेको कुरालाई आत्मसात गर्न सकेको छैन ।

एमालेका जिल्ला अध्यक्षहरुले निर्वाचन हार्नुको कारण सत्ता गठबन्धन प्रमुख कारण भएको रिपोर्ट केन्द्रलाई दिएका छन् ।

एमालेमा विद्रोह गरेर एकीकृत समाजवादी नयाँ पार्टी बन्नु एमालेको हारको प्रमुख कारण हो । जसका कारण कहिल्यै नहार्ने काठमाडौं, पोखरा, बुटवल, हेटौंडाजस्ता गढ भत्किएको छ । यस विषयमा एमालेले गम्भीर समीक्षा गर्नुपर्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा एमाले अध्यक्ष ओलीलाई आगामी चुनाव जितेर एक्लै प्रधानमन्त्री बन्न चुनौती दिए । हुन पनि २०७१ र २०७४ मा तिनै प्रचण्डको प्रस्तावमा ओली दुई–दुईपटक प्रधानमन्त्री बनेका थिए ।

त्यो वाम शक्ति थियो । अब त एमाले टुक्रिएको, माओवादीसँगको एकता भंग भएको अवस्था छ । यस्तो बेला एक्लै चुनाव लड्ने ओलीको रहरले एमाले हुने भनेको फेरि पनि प्रतिपक्ष नै हो । प्रतिपक्षबाट सत्तामा उक्लिन फेरि पनि तिनै माधवकुमार नेपाल र प्रचण्डको आवश्यकता पर्ने कुरालाई एमालेले यतिबेला बिर्सनु हुँदैन ।

प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धन नभए पनि वामपन्थीहरुबीच सहकार्य हुनसक्छ । त्यो सहकार्यको ढोका पनि बन्द गर्न ओलीले वाम गठबन्धन असम्भव भन्नु गैरराजनीतिक अभिव्यक्ति हो । यस अभिव्यक्तिले ओली एमाले सिध्याउन अग्रसर छन् भन्ने बुझिन्छ ।

संसदीय राजनीतिमा सत्ता बाहिर हुनु भनेको पानी बिनाको माछाजस्तै बन्नु हो । राजनीति गर्नु भनेकै सत्तामा पुगेर जनताको सेवा गर्नु हो । त्यसैले एमाले सच्चिनु जरुरी छ ।

पराजयको पीडा कार्यकर्तामाथि थोपर्नु पानीमाथि ओभानो बन्नुजस्तै हो । यथार्थमा भन्ने हो भने स्थानीय तहमा एमालेको पराजय अन्तर्घात होइन, पार्टी विभाजन नै हो । यस कोणबाट एमालेले आफूलाई सच्याउन सक्यो भने मात्र एमालेको अस्तित्व रहला नभए ‘हिङ नभए पनि हिङको टालो’मा एमाले पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्