Logo

म झुक्दै नझुक्ने ‘नेपालकी छोरी’



संसारलाई भर्खरै चिन्दै थिएँ । हिंड्ने बाटो आफैले खन्दै अगाडि बढ्नुको विकल्प पनि थिएन । नयाँ बाटोको सपना देख्नेले त्यो बाटो पनि आफै नै खन्नुपर्ने रहेछ भन्ने कुरा त आधा शताब्दी हिंडेपछि बल्ल बोध भयो ।

सपनाको पोको बोकेर पसेको त्यो अँध्यारो कुनामा सुरुमै पुरै अस्वागत भयो । गाली खानु पर्यो … र पनि एउटा अचम्मको आत्मविश्वास थियो – उमेरले दिएको हो कि समयले ? कि आँखाले देखेको त्यहीँकै यथार्थले ? दरिलो अभिभावक, गुरु, प्रेरक पात्र खास कोही पनि जीवनमा आइसकेकै थिएन । थियो त केवल अवरोध– जो चारै दिशाबाट आइरहेको हुन्थ्यो ।

आफ्नै उमेर पनि आफ्नै निम्ति बाधक थियो । छोरी हुनु भनेकै अभिशाप जस्तो, दुई पाइला हिंड्न घरैबाट संघर्ष सुरु हुन्थ्यो । मेरो ‘ईश्वर’ नै जस्तो भएकी आमालाई समेत ढाँट्दै छल्दै अगाडि बढ्नु पर्थ्यो ।

म कहाँ काम गर्छु, के गर्दैछु भन्ने सुंईको सम्म दिन मिल्ने अवस्था थिएन । घरमा जस्तै अभाव भए पनि छोरीले बाहिर गई कामगर्ने सोँचको विरुद्धमा नै हुनुहुन्थ्यो आमा । टोलछिमेक जोरीपारीबाट मेरोबारेमा नचाहिँदो कुरा सुन्न नपरोस् भन्ने नै हुन्थ्यो ।

१६ बर्ष पुग्दा नपुग्दै छोरी माग्नेहरु घरमा आईसकेका थिए । हुने खाने परिवारले मागेको बेला बिहेगरी पठाईदिन पाए आफू ढुक्कसँग बस्न पाइन्छ भन्ने सोचमा हुनुहुन्थ्यो आमा ।

घरमा सबैभन्दा पहिले कलेज देखेको मैले । कलेज पुगेपछि मेरो बाहिरी कार्यकलाप बढेकोमा आमालाई गर्व होइन चिन्ता नै लाग्थ्यो बढि । छोरी साहित्यमा लागेको, नाटक खेलेको आदि कुरा मन नपराउनु मात्र होइन विरोध नै गर्नु हुन्थ्यो ।

मेरो स्वीकृति बिना नै मैले चिन्दै नचिनेको मलाई माग्न आउने ठाउँमा वचन दिईसक्नु भएछ, बिहेको निम्ति । त्यो बेलाको ‘वचन’ भन्नु नै ‘एन्गेजमेन्ट’ जस्तै हुन्थ्यो । केटा–केटी आपसमा चिन्नु चिनाउनु पनि जरुरी थिएन ।

महेश दाइसँग चिनारी भइसकेको थियो । पछि अभिभावक जस्तै लाग्न थाल्यो । सुरुमा चिनियाँ भाषाको गुरु, पछि राजनीतिकै गुरु हुनुभयो । म मात्र नभएर अष्टलक्ष्मीलाई पनि सँगै बोलाउन थाल्नु भयो । नजिकबाट महेश दाइको कुरासुन्नेमा अष्टलक्ष्मी र सुमन पनि थिए र हामी तीनजनाको एउटा कमिटी पनि बनेको थियो ।

मेरो विवाह हुने निश्चित नै भइसकेको थियो । समय मात्र पर्खेका रहेछन् । पर्खिन त दुईवर्ष जति नै पर्खेका थिए । र दुईवर्ष भनेको लामो समय हो त्यो उमेरको निम्ति, त्यतिञ्जेल म आफ्नो कर्म निर्माण गर्दै ‘भाग्य’को अर्कै मोडमा पुगिसकेकी थिएँ ।

आफैले रोजेको काममा लागिसकेकी थिएँ र औपचारिक शिक्षिका भैसकेकी थिएँ । समयले नै त्यो स्कूलमा र त्यो ठाउँमा कस्तो व्यवहार गर्नु पर्छ भन्ने सिकाउँदै लग्यो । त्यो समयप्रति पनि कृतज्ञ छु, जसले मलाई संसार चिनाई दियो ।

विस्तारै विश्वासले जित्न थालें । सुरुमा मलाई गालीगर्ने विद्यार्थीकी आमाले समेत पनि माया गर्न थाल्नु भयो, सहयोग गर्न थाल्नु भयो । बच्चाहरुलाई मात्र होइन, स्कूलको समयपछि स्कूल आउन नसक्ने ठूलो उमेरकाहरुलाई पनि घर घरमा गई पढाउन बाटो खुल्यो ।

बिस्तारै उनीहरुको भान्छा, बुईंगलमा समेत मेरो स्वागत हुन थाल्यो र निर्धक्क उनीहरुले पकाएका कुराहरु बाँडीचुँडी ख्वाउने र खाने गर्न थालेँ । म निर्भिक भएर नै जातिय भेदभावविरुद्ध पाठ दिन थालें ।

जातिय हीनताबोध हटाउन ‘कर्मको भोग’ के हो ?’ भन्ने एउटा निबन्ध नै लेखेर सुनाउन, बुझाउन थालेँ । मेरै निम्ति पनि यो ठूलै पाठ भयो र त्यो निबन्धले पछि एउटा सानो पुस्तिकाकै रूप लियो ।

विद्यार्थीहरु पाटीमा भरिभराउ भएर तल सुकुल ओछ्याउनु पर्याे । पछि त स्थानीयहरुले आफ्ना छिंडी, टहरा समेत पढाउनका निम्ति दिन थाले । दलित बस्तीका बच्चाहरु मात्र नभएर वरिपरीका किसानका छोराछोरी पनि त्यही स्कूलमा पढ्न पठाउन थाले ।

महेश दाइसँग चिनारी भइसकेको थियो । पछि अभिभावक जस्तै लाग्न थाल्यो । सुरुमा चिनियाँ भाषाको गुरु, पछि राजनीतिकै गुरु हुनुभयो । म मात्र नभएर अष्टलक्ष्मीलाई पनि सँगै बोलाउन थाल्नु भयो । नजिकबाट महेश दाइको कुरासुन्नेमा अष्टलक्ष्मी र सुमन पनि थिए र हामी तीनजनाको एउटा कमिटी पनि बनेको थियो ।

पहिलोचोटी हाम्रो छुट्टै भूमिगत नामसमेत राखियो । अन्य साथीहरुसँग कुराकानी बढाउने जिम्मा पनि थपियो, संगठकको रुपमा । अब फेरि अर्को सपनाको दुनियाँमा पुगेको भान हुन थाल्यो । यथार्थ जतिसुकै कठिन भएपनि सपना भने ‘रोमान्टिक’ नै थियो ।

त्यहीबेला साथीहरुसँग मिलेर हस्तलिखित पत्रिका ‘मितेरी’ निकाल्न थालियो । गाउँ गाउँ डुलेर समाजको थप अध्ययन गर्न थाल्यौँ ।

अर्को एउटा रमाइलो कुरा हामीले (अष्टलक्ष्मी र मैले) ‘बुर्जुवा शिक्षा’ छोडेको भने पनि दुबैजना शिक्षिका भएकोले महेन्द्र रत्न क्याम्पस ताहाचलमा शिक्षक तालिममा जान्थ्यौं बिहान । आईएड सरह कै थियो पढाई, सेमेस्टर सिस्टम आइसकेकोले औपचारिक नयाँ पद्धति थियो पढाईमा ।

दिउँसो आ–आफ्नो स्कूल पढाउने गथ्र्यौं । तालिममा अरु प्राय उमेर गएका शिक्षकहरु थिए भने हामी दुई सबैभन्दा युवा विद्यार्थी थियौं ।

बाहिरबाट औपचारिक शिक्षालाई विरोध गरेपनि सेमेस्टर सिस्टममा बालमनोविज्ञान, मानवशास्त्र, भाषाविज्ञान जस्ता विषय मलाई असाध्य मन पथ्र्यो । र अन्य हस्तकला र बाल गीत आदिपनि सिक्न पाउने हुँदा त्यो कक्षामा ज्यादै रमाउने मान्छे मध्यकै थिएँ म । आफुले चाहेजस्तैको पढाई भएकोले सन्तुष्टी पनि प्राप्त भइरहेको थियो । त्यहाँ पढाउने प्राध्यापकहरुले पनि धेरै मनपराउने विद्यार्थीहरु मध्येमै पर्थ्यौ हामी ।

एकपल्ट ‘प्रजातन्त्र दिवस’को दिन कलेजकै एउटा कार्यक्रममा मैले पनि गीत सुनाएँ– गोपाल योञ्जनको ‘बनेको छ पहराले यो छाति मेरो …।’ ‘म झुक्दै नझुक्ने नेपालको छोरो’को ठाउँमा ‘नेपालकी छोरी’ भनेर गाएकी थिएँ ।

गीत सबैले मन पराइदिएको थाहा पाएँ । क्याम्पस–चीफ ज्यादै सम्मान गर्न लायकको मानिस हुनुहुन्थ्यो– प्रा. निरञ्जनकुमार राजभण्डारी । उहाँले त मेरो गीत सुनेदेखि मलाई मेरो नामले हैन ‘नेपालकी छोरी…’ भनेर बोलाउन थाल्नु भयो । आफ्नै छोरीलाई झैं माया पनि गर्न थाल्नु भयो ।

एकपल्ट स्कूलको निरिक्षणमा अचानक क्याम्पस–चीफ आफै पुग्नुभयो, मेरो स्कूलमा । स्कूलको अवस्था देखेर चकित पर्नु भयो । बस्नलाई अफिस त के, एउटा कुर्सी पनि थिएन । चौरको सानो पाटी या अरुका छींडीमा बस्नु पथ्र्यो ।

त्यो देखेर भावुक हुँदै भन्नु भयो– ‘ए नेपालकी छोरी ! तिमीलाई म सलाम गर्छु ! म पनि तिमीलाई साथ दिन्छु अगाडि बढ…’ त्यो सुन्दा मेरो आँखा एकाएक आँसुले भरियो । जीवनमा कति मान्छे ‘गुरु’ भएर आए, गए । उहाँको सच्चा र सद्भाव प्रेरणा कहिल्यै बिर्सन सकिन ।

उहाँले दिएको नाम पनि बिर्सिन्न– ‘नेपालकी छोरी’ । कहाँ पाउनु उहाँजस्तो असल गुरु ! अब त उहाँ हुनु पनि हुन्न । उहाँलाई सम्झिँदा मात्र पनि श्रद्धाले झुक्छ मेरो शीर …।

प्रतिक्रिया दिनुहोस्