
चितवन । काठमाडौँ र हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ ।
यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् ।
भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् । भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिए ।
शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उनको सुझाव छ । ‘पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ । खानेपानीको पाइपमा ढल मिसिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।
लगातार पातलो चौलानीपानीजस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन् । यससँगै मृगौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले र तत्काल चिकित्सककहाँ जान पौडेलले आग्रह गरे ।
पानीबाट संक्रमण फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहालले बताए । भरतपुर महानगरमा ९२ प्रतिशतले सरकारी तवरबाट वितरण गरिएको पानी उपभोग गर्दै आएका छन् ।
जिल्लामा छिमेकी जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले पनि सङ्क्रमणको जोखिम उच्च रहेको चिकित्सकको भनाइ छ ।
जोखिम रहने भएकाले उच्च सावधानी अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।











