
काठमाडाैं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव कम गर्न सरोकारवाला सचेत हुनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रहरुलाई कसरी सुरक्षित गर्ने भन्ने बिषयमा आवश्यक रणनीति बनाउनुपर्ने बताए ।
जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पुग्नसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । महामारीको असर कम हुँदै जाँदा पर्यटक आवागमन सामान्य हुँदै गएको र पर्यटन गतिविधि पुनरागमनको अपेक्षा गरिएको उनको भनाइ छ ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय न्यायका लागि बनेका ऐन र कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।
सो अवसरमा जलवायु परिवर्तनले महिलाको जनजीवन र पर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन ६० जना महिलाले डोल्पाको शे फोक्सुन्डो क्षेत्रमा पदयात्रा गर्ने जानकारी दिइएको थियो ।














