Logo
Logo

मधेशमा परेन पानी, भएन रोपाइँ



जनकपुर । अन्नको भण्डारण मानिएको मधेसमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् ।

समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ सकिनुपर्ने थियो । तर, हालसम्म ५७ प्रतिशत मात्र धान रोपाइँ भएको जनाइएको छ । अधिकांश जमिन अझै बाँझो रहेको मधेसको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिए ।

सबैभन्दा बढी सप्तरीमा ७५ र सबैभन्दा कम पर्सामा ४२ प्रतिशत धान रोपाइँ भएको उनले बताए । वर्षा नभएपछि किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् । अधिकांश किसान अझै आकाशे पानीको प्रतिक्षामा छन् ।

वर्षा नहुदाँ रोपो पनि सुक्न थोलेको छ । ‘पानी तान्ने मोटर लगाएरै करिब एक बिघा जग्गामा धान रोपाइँ गरेँ,’ धनुषाधाम–४ का किसान सुगम्बर यादवले भने, ‘वर्षा ठयाप्पै रोकिएपछि अहिले रोपिएको धानमा डढेलो लाग्न थालेको छ ।’ अब केही दिन पानी नपरे रोपाइँ गरिएको धान नष्ट हुने उनले सुनाए ।

कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको २५ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइको व्यवस्था पुगेको छ । तर कमला नदीमा पानीको सतह कम भएका कारण सिँचाइ गर्न समस्या भइरहेको कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवको भनाइ छ ।

‘पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो ।’ सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएका छन् ।

एकातिर सिँचाइ अभाव अर्कातिर मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद्य र मजदुर आभावमा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा भोकमरीको चिन्ता बढेको कृषिविज्ञको भनाइ छ ।

मधेसका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्