Logo
Logo

पल्लो घरमा पुष्पलाल आउँदा



२७, २८ साल तिरको कुरा हो । स्कूलको पढाई भर्खरै सके पछिको खाली समयमा बुवाले जम्मा गरेर छोडेका साहित्यिक पुस्तक, पुराना पत्रिका, जे पाइन्छ त्यो पढ्ने गर्थेँ ।

श्यामप्रसाद शर्मासम्म पुग्ने मेरो पुल बनेकी र शान्तदास काकाको घरमा निर्वाध आउजाउ गर्ने मेरी बालसखी शान्तदेवी मलाई मनपर्ने अन्य साहित्यिक पुस्तकहरु उतैबाट ल्याईदिन्थिन् । पढेरै नभ्याइने पुस्तकहरु घरैमा आइपुग्ने भएपछि कतै खोज्न जानु पनि परेन ।

किशोरावस्थाको स्वाभाविक कौतूहल र जिज्ञासा भएकी मलाई अरु के चाहियो ! ज्ञानको अर्को स्रोत हुनुहुन्थ्यो– मेरै घर नजिक डेरा लिई बस्ने कवि– रामचन्द्र भट्टराई । उहाँ पनि मलाई साहित्यिक र राजनीतिक पुस्तकहरु पढ्न दिनु हुन्थ्यो । बुझे पनि नबुझे पनि म पढ्न भने कोसिस गर्थें ।

उहाँ त्यो बेलाको कम्युनिष्ट नेता पुष्पलालसँग सम्बन्धित सक्रिय कार्यकर्ता हुनुहुँदो रहेछ । आफै कवि हुनुको नाताले मलाई धेरै नै साहित्यिक पुस्तक पढ्न दिनुहुन्थ्यो । साथमा गहौँ राजनीतिक दस्तावेज जस्ता सामग्री पनि पर्दथे ।

पल्लो घरमै आइरहने ती असल मानिस, इमानदार, सच्चरित्र र दूरदर्शी नेतालाई मैले प्रत्यक्ष भेट्न पाइन । तर पनि उनी यतै कतै छन् कि भनेजस्तो लाग्छ । असल मानिसहरु मरेर गए पनि उनीहरुको आदर्श, जीवनप्रतिको प्रेम, कुनै न कुनै रूपमा मानिसहरुका मनमा, चेतनामा रहिरहने होलान् ।

मेरो घरसँगै जोडिएको काकाको घरमा एउटा सानो कोठामा रामचन्द्र दाइले चलाइरहनुभएको ‘सुस्केरा’ पत्रिकाको कार्यालय थियो । त्यहाँ बुद्धिजीवीजस्ता लाग्ने मान्छेहरुको प्रशस्त आउजाउ हुन्थ्यो । घरसँगै भएकोले त्यहाँको गतिविधिबारे वास्तै नराखे पनि केही न केही देखिरहिन्थ्यो, सुनिरहिन्थ्यो ।

उहाँले दिएका र शान्तले दिएका पुस्तक तथा अन्य पाठ्यसामग्रीमा राजनीतिक हिसाबले संवेदनशील सामग्री प्रशस्तै थिए । पुलिसको निगरानी बढेका बेला काकाको त्यही घरको कौसीमा लगेर रातारात मैले ती सामग्री लुकाएकी थिएँ ।

अहिले फर्केर हेर्दा लाग्दैछ, ‘अतिगोप्य’ मानिएको संगठनसँग मात्र होइन पुष्पलालसँग सम्बन्धित कार्यकर्ता बुद्धिजिवीहरुसँग पनि यसरी मेरो अप्रत्यक्ष सम्बन्ध जोडिइसकेको रहेछ ।

मैले दाइ मानेकी रामचन्द्र भट्टराई आफैं नै पुष्पलाल समूहका इमान्दार र सक्रिय कार्यकर्ता हुनुले बेलाबेलामा उहाँकै डेरामा पनि पुष्पलाल समेत आउनुहुँदो रहेछ ।

अरु नेताहरु त झनै धेरै आउनुहुने नै भयो । रामचन्द्र दाइले भने अनुसार हामी दिदीबहिनीबारे पनि त्यहाँ चर्चा हुन्थ्यो रे । तर अतिगोप्यतावादी संगठनसँग हाम्रो गाढा सम्बन्धबारे दाइले राम्रैसँग अनुमान गरिसक्नुभएको रहेछ ।

त्यसैले गर्दा पुष्पलाल आएका बेला हामीलाई सिधै चिनाउने काम भने नगरेको कुरा रामचन्द्र दाइबाटै धेरै पछि मात्र सुनें । अरु महत्वपूर्ण नेतासँग पनि चिनाउने काम गर्नु भएन । साहित्य मनपराउने केटी भनेर थाहा भएकोले साहित्यिक व्यक्तित्वहरुलाई भने चिनाइदिनुहुन्थ्यो ।

त्यहीबेलैदेखि केवलपुरे किसान लगायत अन्य पुराना प्रगतिशील कवि लेखकलाई चिन्न थालेकी थिएँ । रामचन्द्र दाइबाट पाएका युद्धप्रसाद मिश्रका कृति पनि म एक्लै लय हाली हाली पढ्ने गर्थैं र आफुलाई बलियो क्रान्तिकारी बनाउने प्रण गर्थें । युद्धपसाद मिश्र र पुष्पलालको नजिकैको सम्बन्ध रहेछ ।

मेरो घरसँगै जोडिएको घरमा भएको ‘सुस्केरा’ पत्रिकाको त्यो सानो कार्यालय नजिकै अर्को कोठामा परिवारसहित बस्नुहुन्थ्यो, रामचन्द्र दाइ । उहाँसँगै भाउजु मैंया भट्टराई र हाम्रो परिवारको सम्बन्ध गाढा हुँदै गयो र त्यो सम्बन्ध अहिलेसम्मै कायम छ । एउटै परिवार झैं हामी दाजु–बहिनी नै भयौं, उहाँले आमालाई ‘आमा’ सरह र हामीलाई आफ्नै बहिनी सरह व्यवहार गर्नुहुन्थ्यो ।

हालसालै मात्र फोनमा कुरा हुँदा उहाँले फेरी भन्नुभयो, ‘नानीहरु ‘अतिगोप्य’मा पसिसकेको कारण त्यो बेलाका धेरै असल पात्रहरुलाई बेलामा चिनाउन सकिएन । पुष्पलालजस्ता महान मान्छे घरसम्मै पुग्दा पनि चिनाईदिन सकिन…’ भन्नुभयो ।

त्यो सुन्दा अहिले जीवनमा कुनै अमूल्य कुरा हातैमा आएर पनि गुमेजस्तो भइरहेकोछ । अहिले बुटवलमा बस्नुहुने ८१ बर्षिय कवि दाइबाट हामीलाई आवश्यक परेको बेला पाएको अभिभावकत्व बिर्सन सकिने कुरै हैन । उहाँलाई राजनीतिककर्मीभन्दा बढी एक असल कवि र त्योभन्दा बढी एउटा दाइ, एउटा असल मान्छेको रूपमै हो हामीले चिनेको, बुझेको । हृदयमा कुनै छलकपट नभएको मान्छे ।

मेरो राजनीतिक चेत जगाउन र साहित्यिक यात्रामा अग्रसर गराउन उहाँको ठूलो हात रह्यो । पछि मालेसम्म पुर्याउने भूमिका पनि उहाँले नै खेल्नु भयो । जनसांस्कृतिक मोर्चामा अगाडि बढ्दा धेरै काम गर्नु भयो । उहाँलाई सधैँ पैसाको खाँचो हुन्थ्यो । पैसामा लोभ कहिल्यै गर्नु भएन ।

अहिले पुष्पलालका बारेमा उहाँका निकटस्थ व्यक्तिहरुबाट सुन्दा यस्तो लाग्छ, हाम्रो रामचन्द्रदाइ पनि निष्कपटता, निर्लोभ, उत्तरदायित्वबोध आदि सद्गुणमा सम्भवतः पुष्पलालकै सद्गुणलाई प्रतिविम्बित गरिरहनुभएको थियो । झन् पुष्पलाल स्वयंलाई भेट्न पाएको भए कस्तो हुन्थ्यो होला !

पुष्पलालका भान्जा बहुप्रतिभाशाली कवि, मूर्तिकार, कलाकार नरेन्द्र बहादुर श्रेष्ठले आफ्नी नवविवाहिता श्रीमतीलाई लिएर बनारसमा आफ्ना मामालाई भेट्नजाँदाको संस्मरण सुनाउँदा आँखामा आँसु आउँछ ।

भान्जा र भान्जी बुहारी अचानक भेट्न आउँदा उनीहरुलाई चिया खुवाउनसम्म पैसा थिएन रे ! बिरामी भएर दरभंगाको अस्पतालमा रहँदा नजिकबाट हेर्ने डाक्टर अशोकानन्द मिश्रले उहाँबारे सुनाएका कुरा त्यत्तिकै हृदयस्पर्शी छन् ।

भारतीय सरकारको मद्दत लिन अस्वीकार गरेको कुरादेखि लिएर उहाँको सरलता, देश जनता र आफ्ना कर्यकर्ताप्रतिको स्नेह र वास्ता आदि अहिलेका नेतामा जति खोजे पनि पाइँदैनन् । उहाँको गरिबीको गुणगान हैन हो– उद्देश्यप्रतिको समर्पण, इमानदारी, र दूरदर्शिताका कुरा अझ महत्वपूर्ण पक्ष हुन् ।

मैले धेरै नबुझे पनि कति चाहिँ बुझेकी छु भने, उहाँले देखाएको संयुक्त आन्दोलनको बाटोबाटै अहिलेको लोकतान्त्रिक गणतन्त्र जन्मिएको हो । तर यस्तो लाग्छ, यो बालगणतन्त्रलाई हुर्किनै नदिई स्वार्थीहरुले अपहरण गरेर लगेका छन् र सडक बालकलाई शोषण गर्ने बदमासहरुले झैँ विरूप बनाएर, हातमा ट्वाक् थमाइदिएर पराइका सामु लम्पसार पर्ने माग्ने बच्चा झैँ बनाइदिएका छन् ।

पुष्पलाल अझै बाँच्नु भएको भए कति दुःख लाग्थ्यो होला उहाँलाई ! आफ्नो सुन्दर सपनाको मैदानमा ‘कम्युनिष्ट’कै खोल ओढेर आजका भ्रष्ट नेताहरुले मनपरी फोहोर पारेको देख्दा ५४ वर्षको अल्पायुमै मृत्यु वरण गरेका यी महान मान्छेलाई कस्तो लाग्दो हो ? सम्झँदा पनि मन चरक्क हुन्छ ।

पल्लो घरमै आइरहने ती असल मानिस, इमानदार, सच्चरित्र र दूरदर्शी नेतालाई मैले प्रत्यक्ष भेट्न पाइन । तर पनि उनी यतै कतै छन् कि भनेजस्तो लाग्छ । असल मानिसहरु मरेर गए पनि उनीहरुको आदर्श, जीवनप्रतिको प्रेम, कुनै न कुनै रूपमा मानिसहरुका मनमा, चेतनामा रहिरहने होलान् ।

नत्रभने अहिलेको यस्तो अन्धकारमा, इमानको यो खडेरीमा, भ्रष्टाचारको घना कुहिरोबीचमा पनि कसरी थोरै भए पनि मानिसहरु इमानका कुरा गर्न सक्थे? झिनो भए पनि आशाको उज्यालो बोक्न सक्थे !

हार्दिक श्रद्धान्जली- पुष्पलालप्रति !

प्रतिक्रिया दिनुहोस्