Logo

क्षितिजको उज्यालो खोज्दै…



जति हिंडे पनि छिचोल्नै नसकिने अँध्यारो जंगलमा प्रवेश भएको जस्तो लाग्थ्यो कहिलेकाहीँ । हरेक दिन भयग्रस्त हुन्थें ।

मैले पढाउने गरेको अँध्यारो बस्तीको त्यो स्कूलमा नै मेरो सबैभन्दा बढि समय बित्ने गथ्र्यो । स्कूलको गतिविधि सानो पाटीबाट विस्तार भएर चौर र वरिपरीका घरका छिंडीहरूमा फैलियो । अलि टाढैबाट पनि स्कूलमा पढ्न आउनेको संख्या बढ्दै गयो । तर, स्कूल भवन बन्ने कुनै संकेत थिएन ।

घाम, धुलो, मैलो त आफ्ना साथी नै भइसकेका थिए । सपना थियो– ‘यो ठाउँलाई जसरी पनि जातीय विभेदमुक्त शिक्षाले उज्यालो उदाहरणीय बस्ती बनाउँछु ।’ तर, अनेक बाधा स्कूल भित्रै थिए । नभई नहुने एउटा अफिससम्म थिएन । तर, एउटा ‘संचालक समिति’ भने थियो । अध्यक्ष थिए, एकजना मासु बेच्ने साहु ।

उनी आफुलाई त्यहाँको राजा नै ठान्थे । अरु भन्दा हुनेखाने साहु, ‘जात’ले पनि अलि ‘माथि’ । स्थानीय सबै उनको अगाडि थर्कमान नै हुन्थे– सिनेमामा देखिने खलनायकसँग सोझा पात्र डराएजस्तै । उनी आफै प्रगतिका विरोधी थिए, त्यसकारण स्कूलमा उनको सहयोग हुने कुरै भएन ।

त्यो बस्तीले चारवर्ष पुग्दा नपुग्दै मलाई धेरै कुरा सिकायो । समाजमा भएको जातीय विभेदको कति धेरै तह रहेछ र कहाँसम्म पुगेको रहेछ त्यसको ‘जरा’ भन्ने कुरा बुझ्दै गएँ । मान्छेका अनेक प्रवृत्तिहरू पनि देख्दै गएँ ।

जीवनकै सूवर्ण समय त्यसरी गुज्रिरहँदा बेला बेलामा ‘यो म ठीक गर्दैछु कि बेठीक ?’ भन्ने प्रश्न मनमा आइरहन्थ्यो । एकजना शुभचिन्तक साथी पार्वती माया गर्दै भन्थिन्– ‘सुलो, तिमी एकजनाले समाज फेर्छु भनेर हुन्छ र ? छोडिदेऊ त्यो स्कूल…’

उनी मेरो असल सहपाठी साथी थिइन्– शिक्षक तालिम लिने बेला देखिकै । असल मन भएकी ती साथीलाई अहिले पनि सम्झिरहन्छु । तर, उनी कहाँ के गर्दै होलिन् ? थाहा छैन ।

उनलाई चिन्दा नै विवाहित थिइन् । अन्तरजातीय प्रेमविवाह भएकोले घरमा समस्या थियो । नेवार–नेवारकै बीचमा पनि जातीय विभेद चर्को थियो । आफैले त्यस्तो समस्या झेलेर पनि मलाई भने ‘बिहे गर्ने भए प्रेम विवाह नै गर है ! प्रेम नभएको विवाह त बन्धन मात्र हुन्छ’ भन्थिन् ।

उनको कुरा मलाई ठीक लाग्थ्यो । तर, ‘प्रेम’ आफैँ के हो– अझै स्पष्ट थिइनँ । अनुभवमा काँचै भए पनि त्यो बेलाको सामाजिक मापदण्ड अनुसार बिहे गर्ने उमेर त भइसकेको थियो । दिनहुँ जस्तो बिहेका कुरा गरी हैरान गर्नेहरू पनि थिए नै । घरैमा पनि एक ठाउँमा बिहेको कुरा रोकिए पनि अन्यत्रबाट कुरा आइ नै रहन्थे ।

आमाले भने निराश भएर छोरी माग्न आउनेका कुरा सुन्नै छोडिदिनु भएको थियो । हामीले आफैले आफैलाई बचाउनुको विकल्प थिएन । साधारण पहिरन त हाम्रो हुन्थ्यो नै, एकताका त आफ्नै अनुहार पनि बिगारेर हिंडने हो कि भन्नेसम्म पनि सोँच्न थालेकी थिएँ । हंगेरीकी एकजना क्रान्तिकारी महिलाले अघि बढ्न गाह्रो हुँदा आफ्नै अनुहारलाई एसिडले बिगारेको कुरा सुनेकी थिएँ । धन्न त्यस्तो मूर्खता भने गरिनछु !

जीवनलाई माया गर्न थालें र आफ्नो प्रतिज्ञा आफैले दोहोर्याउँदै जसरी भए पनि अँध्यारोबाट उम्कने र आँटेको कुरा पार लगाउने बाटो खोजिरहेँ । सैद्धान्तिक ज्ञान अलि बढाउन पाए त आफैले पनि सही बाटो भेट्न सकिन्छ कि भन्ने लाग्थ्यो ।

एक्लै बसेर कोर्सबुक जस्तै गरी दर्शनका किताबहरू घोक्न थालेँ– ‘द्वन्दात्मक भौतिकवाद’, ‘माक्सवाद लेनिनवाद’ बुझ्नै गार्हाे लाग्थ्यो मलाई । सुन्ने गरेको चीनको प्रगतिबाट भने प्रभावित थिएँ । चीनबाटै फर्केका महेश दाइकै प्रभावले पनि होला ।

‘चीन सचित्र’ भन्ने पत्रिका पाइन्थ्यो– त्यहाँ देखाइएका ‘समाजवादी विकास’का कुरा गज्जब लाग्थ्यो । एकचोटी सभागृहमा देखाइएको ‘रातो लालटिन’ नामको नाटक हेरेपछि यति प्रभावित भएँ कि मैले पनि एउटा लालटिन किनेँ । त्यो लालटिन अझै पनि मसँग सुरक्षित छ । तर, कहिल्यै नबलेको त्यो लालटिनले मलाई नै बाटो देखाउन भने सकेन !

जीवनकै सूवर्ण समय त्यसरी गुज्रिरहँदा बेला बेलामा ‘यो म ठीक गर्दैछु कि बेठीक ?’ भन्ने प्रश्न मनमा आइरहन्थ्यो । एकजना शुभचिन्तक साथी पार्वती माया गर्दै भन्थिन्– ‘सुलो, तिमी एकजनाले समाज फेर्छु भनेर हुन्छ र ? छोडिदेऊ त्यो स्कूल…’

तर, ‘जति सकिन्छ उज्यालो बाँड्ने’ भनेर साथीहरूको टोली नै बनाएर गाउँ–गाउँ डुल्ने कामको सुरुवात भयो । कहाँबाट त्यो आँट आयो थाहा पनि छैन । त्यतिबेला मैले विश्वास गर्ने ‘भगवान’, ‘गुरु’ कोही नभएको बेला । आफ्नो गुरु आफै ! आफ्नो हृदयको आवाज– विवेक, करुणा, मानवसेवा हरेक दिन नै मन्त्रझैं सम्झिरहने हुँदा त्यसैले पनि अगाडि बढिरहने प्रेरणा दिइरहन्थ्यो ।

आफ्नो भन्दा साथीहरूको माया लाग्थ्यो । सहि दिशा र स्पष्ट बाटो भएन भने धेरै असल साथी गुम्दै जानेछन् भन्ने चिन्ताले पनि सचेत बनाइरह्यो । आशाको बत्ती निभेन ।

हप्ता हप्तामा जस्तै कुनै न कुनै गाउँमा पुग्ने अनि जति सकिन्छ ‘बत्ती बाल्दै जाने’ कोशिसको क्रम जारी नै थियो । उपत्यका वरिपरी मात्र नभएर तराईका गाउँहरू सम्मै पुगेका छौँ– अष्टलक्ष्मी, पूर्णशोभा र म ।

यस्तो ‘देशदर्शन’ले थप अनुभवी हुँदै नयाँ बाटो पनि देखिंदै गयो । आत्मविश्वास बढ्न थाल्यो । देशमा जटिलता र चुनौती थपिंदै थियो, तीसँग सामना गर्न हामी अभ्यस्त हुँदै गयौं… ।

समय एकनास हुँदैन । मलाई रातदिन साथ दिने पद्मा दिदीको बिहे भएर दुई जुम्ल्याहा सन्तान जन्मे– छोरी चेतना र छोरा चिन्तन ! मेरो जीवनमा नै अर्को बत्ती बले झैँ भयो । घुँडा धसेर दर्शनको अध्ययन गर्छु भनेर लागिरहेकै बेला थाहा पाएँ– दिदीको पेटमा दुई सन्तान छन् भनेर ।

दिदीलाई नियमित जचाउन जाँदा भ्याएसम्म म पनि सँगै जाने गर्थें । डाक्टरले दुई बच्चा छन् भने पछि मलाई अत्यन्तै खुसी लाग्यो । दिदीलाई गार्हो हुने कुरा पनि पूर्वअनुमान गर्थें, चिन्ता पनि लाग्थ्यो । तर, पनि उत्साहित भएर बच्चा जन्मिनु भन्दा अगाडि नै उनीहरूको नाम सोचिसकेकी थिएँ– छोरा भए के नाम दिने छोरी भए के भनेर ।

वरदान स्वरुप जन्मेका ती नवसन्तानले घरमा नयाँ सकारात्मक लहर ल्याइदिए । आमाको म प्रतिको असन्तोष एक्कासी हराए जस्तो भयो ! जुम्ल्याहा सन्तान जन्माउने सुत्केरी र बच्चाहरूलाई स्याहार्न हामी सबै नै बेस्सरी लाग्यौँ । अझ साथीहरूको पनि मद्दत चाहिने भयो । आपसी माया र एकता त छँदैथियो ।

त्यो बेला दिदीलाई अस्पतालमा खाना पुर्याउन जाने काम अष्टलक्ष्मीले जिम्मा लिएकी थिइन् । अन्य काममा शारदा कोइराला, सुभद्रा कोइराला, जमुना श्रेष्ठ, बहिनीहरू सोना, दयालक्ष्मी समेतको पनि अमूल्य सहयोग जुरेको थियो । ती सबैप्रति कृतज्ञ छु !

प्रतिक्रिया दिनुहोस्