काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री खाँणले यस्तो बताएका हुन् । उनले भने, ‘यसअघिको सरकारले विभिन्न राजनीतिक दलसँग गरेको सम्झौता विधिमा उभिएरै पूरा गर्न प्रतिवद्धताका साथ लागेका छौं ।’

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिअनुसार सो पार्टीका कार्यकर्ता जेलमुक्त गर्नुपर्ने छ । तर, अझै कतिपय कार्यकर्ता जेलमुक्त भएका छैनन् । गृहमन्त्री खाँडले सहमतिलाई अघि बढाउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको बताउँदै भने, ‘केही कानुनी जटिलता छन् तर सम्झौतालाई सम्वोधन गरेर सवैलाई राष्ट्र निर्माणमा सहभागी गराउन चाहन्छौं ।’
उनले अपराधको स्वरुप र प्रवृत्तिमा परिवर्तन आएकाले अनुसन्धान थप जटिल बनेको भन्दै सुरक्षा निकायको सक्षमता वृद्धि गर्न आफू प्रतिबद्ध रहेको बताए ।











