काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका महासचिव देव गुरुङले निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले अहिले त्यसको लागि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको बताए । ‘अहिले सिट बाँडफाँटबारे गठबन्धनमा गृहकार्य चलिरहेको छ’, उनले भने ।
‘शीर्ष नेताहरूबीच पनि छलफल चलिरहेको छ । कार्यदलले पनि पर्याप्त होमवर्क गरेर काम गरेको छ’, महासचिव गुरुङले भने, ‘शीर्ष नेताहरूसँग अन्तरकुन्तर गृहकार्य चलिरहेको छ भनेर कार्यदलका संयोजक कृष्ण सिटौलाजीले भन्नुभएको छ । अब एकाध दिनमा गृहकार्य सकिन्छ । सिट बाँडफाँड टुङ्गोमा पुग्छ ।’
आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेदवार उठाउने सवालमा मापदण्ड तय गरिने उनले बताए । उनले भने,‘हाम्रो दलको भागमा जे/जति सिट पर्छ । अहिले उम्मेदवारको मापदण्ड बनाएका छैनौँ । पार्टीमा खटिरहेका र दृढतापूर्वक लागेकाहरूलाई प्राथमिकता दिनुपर्छ । महिलाहरूलाई अधिकतम रूपमा सिट दिनुपर्छ । दलित, मधेसी, जनजातिलाई प्राथमिकता दिएका छौँ ।’











