Logo
Logo

नयाँ मोडसँगैका अविस्मरणीय पलहरु



जीवनको हरेक क्षण त्यसै पनि नयाँ हुन्छ । गतिले अझै नयाँ मोड र अनुभव दिन थाल्यो ।

काठमाडौंभन्दा अलिकति मात्रै टाढाको किसान बस्तीमा काम गर्न थालेपछि अझै नयाँ ऊर्जा थपिएको महसुस भयो । आफूले खोजेजस्तो ‘जनताको सेवा’ भन्ने मन्त्र जप्दै अगाडि बढ्ने अवसर पनि जुरेको जस्तो लाग्यो ।

बलम्बुको त्यो सानो स्कुललाई हरिया डाँडाहरुले घेरेका थिए, वरिपरिबाट बहने शीतल बतासले हृदयभित्रसम्म नै स्पर्श गथ्र्यो । प्रकृतिको काखमा रहेको त्यो बस्तीका बच्चाहरुलाई पढाउन पाउनु भनेकै समयले दिएको इनामजस्तै लाग्थ्यो ।

किशोरावस्थादेखि यो युवावस्थासम्म पुग्दा कुनै व्यक्तिगत नाफा नोक्सानको सोचै नगरी अँध्यारा ठाउँहरुलाई कसरी उज्यालो बनाउने भन्नेमै सोंच केन्द्रित हुन्थ्यो ।

म हुर्केको झोछें गल्लीमा घरैघरले घाम र हावालाई समेत छेकेको हुन्थ्यो । त्यसमाथि ९० सालको भुइँचालोले पनि नभत्काएको तर पुरानो र झन्–झन् होचो हुँदै गएको चारतले घरमा म जन्मे हुर्केकी थिएँ ।

सानो भए पनि चोकमा पस्ने बित्तिकै देखिने मोहडाको घर, उबेला पक्कै त्यो घरको चहक थियो होला । तर हेरचाह र आवश्यक रङरोगन केही नपाएको घर, वरिपरि नयाँ घर बन्न थालेसँगै झन्–झन् होचो हुँदै गयो ।

नयाँ अग्ला घरले घाम, हावा त छेक्ने नै भए । जब हरेक दिन बलम्बु पुग्न थालें, दिनचर्या गतिशील हुन थाल्यो, शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुन थाल्यो । स्वतन्त्रताको अनुभूति हुन थाल्यो ।

स्कुल पुग्ने बाटो किसान बस्तीको बीचबाट जान्थ्यो । बस्तीभन्दा अलि छुट्टै स्कुल र सँगै एउटा मन्दिर पनि । त्यहीँ एउटा खुला चौरमा भेंडाबाख्रा चराउने ठाउँ थियो ।

दिउँसो भेंडाको भ्या..भ्या र सानो पाठापाठीको चुल्बुलेपन नजिकबाट देख्दा पनि उत्तिकै मनलाई खुसी पाथ्र्यो । त्यो भन्दा पनि बिर्सनै नसक्ने कुरा त गाउँमा पस्दै गर्दा सम्पूर्ण बस्तीको न्यानो स्वागत र माया नै थियो । प्रेम, करुणा, मैत्री, सेवा जुनै नाम दिउँ– त्यही नै रहेछ जीवनलाई अनन्त खुसी दिने कुरा !

अहिले फर्केर हेर्दा समय, परिस्थिति र मान्छेहरु सबै फेरिँदै गएका छन् । बलम्बुका उहिलेका मेरा विद्यार्थीहरुमध्ये कोही मेरा गुरु र गुरुमा पनि भइसक्नुभएको छ । बौद्धधर्मका ती गुरुहरुका निम्ति अझै पनि म ‘मिस’ नै छु ।

अहिले त त्यो बेलाको भन्दा धेरै नै फरक भइसकेको छ बलम्बु पनि । नगरपालिका भइसकेको बलम्बुमा अहिले त जताततै गाडी दौडिन्छन् । त्यतिबेला नजिकबाट देखिने धानका बालाको ठाउँमा ठूला सिमेन्टका घरहरु उभिसकेका छन् । स्कुल आफैँ पनि पहिलेभन्दा ठूलो भएर ‘प्लस टु’सम्म नै पुगिसकेको छ । त्यो बेलाको चित्र केवल मनमा छ ।

‘तिमीले आँट म पूरा गरिदिन्छु’ भन्ने पनि अरु कोही नभएर समय नै रहेछ । बलम्बुसम्म पुग्दा मन मिल्ने साथी पूर्णशोभाको साथ पाउनुले पनि बाटो कत्ति लामो लाग्दैनथ्यो ।

‘जनताको हृदयमा पुग्न खोज्ने हामीले तडकभडक कपडा लगाउनु हुँदैन’ भन्ने हामी दुईले उस्तै रङको खद्दरको धोती लगाउन थाल्यौं स्कुल जानलाई ।

बिहानै टेकुबाट थानकोटको बस चढ्नु पथ्र्यो । त्यतिबेला धेरै बस नभएकाले बस चढ्न सजिलो थिएन । सिटमा बसेर जान पाउनु मुस्किलै हुन्थ्यो ।

गुर्जुधारामा स–साना चैत्य भएको ठाउँमा बच्चाहरु हामीलाई पर्खिबसेका हुन्थे । बसबाट ओर्लिनासाथ हात समाउन आइपुग्थे ‘मिस’ भन्दै । ती साना–साना हातले समाउँदाको आनन्दानुभूति नै भिन्दै ।

बाटोभरि बच्चाहरुबाट घेरिएर बस्तीमा पुगेपछि तिनका अभिभावकसँग हाँस्दै भलाकुसारी गर्दै स्कुलसम्म पुग्दा खुट्टा त थाक्दैनथ्यो, मुख र गाला भने थाकिसक्थ्ये हाँस्दै, मुस्कुराउँदै जाँदा ।

कुन दिन कुन घरमा खाजा खान जाने बिहानै थाहा भइसक्थो । बोलाएको घरमा जे पाकेको हुन्थ्यो त्यही खान्थें प्रेमपूर्वक । त्यो बेलाको अनुशासनमा ‘जनताबाट सियो धागो पनि सित्तैमा नलिनु’ भन्ने थियो ।

त्यो कुरालाई मनन गरे पनि जनताको पवित्र माया कुनै अनुशासन र नियमभन्दा परको कुरा हुन्थो, कुनै भौतिक हिसाब–किताबभन्दा फरक । हरेक दिन खुसी हुनसकेको बेला थियो त्यो ।

तर त्यति पाएर पुगेन मलाई । ‘सम्पूर्ण देशकै परिवर्तनको निम्ति आफूलाई समर्पण गरिसकेको’ भन्ने लाग्थ्यो । बलम्बुले दिएको त्यो खुसीभन्दा पर मनले केही खोजी नै रह्यो ।

सहयात्री साथीहरु पनि बाटैमा अल्मलिएका छन् भन्ने थाहा थियो । नेताहरु अझै भेटिएका थिएनन् । कुन दिशा पकड्नुपर्ने हो स्पष्ट थिएन । मेरा पुराना साथी सुशीला पनि थानकोटमा काम गर्थिन् ।

कहिले–कहिले एउटै बसमा पथ्र्यौँ । उनको साथमा अर्को एक जना शिक्षक पनि हुन्थे । नामले नचिने पनि उनको विचार हाम्रै जस्तो भन्ने थाहा थियो । उनी शशि शेरचन (शशि सर)को नामबाट चिनिन्थे ।

क्रान्तिको निम्ति राम्रो नेतृत्व पनि जरुरी छ भन्नेबारे छलफल चल्दा सुशीलाले बरोबर शशि सरको नाम पनि लिन्थिन् । सुरुमा उनी पनि श्यामप्रसाद शर्मासँग सम्बन्धित अति गोप्य संगठनसँग नै आबद्ध रहेछन् । पछि अर्कै संगठनमा पुगेछन् ।

भुइँमान्छेसँग सजिलै घुलमिल हुनसक्ने मान्छे, हामीसँग मित्रवत् हुनु त स्वाभाविकै थियो । मौका मिल्दा बाटोभरि गफ गर्दै फर्कन्थ्यौँ । पछि उनी ‘स्वनाम साथी’को रुपमा विख्यात भए । उनी पनि अब यो संसारमा छैनन् । तर उनका कथाहरु जिउँदै छन् ।

पूर्ण र म दुई जना मात्र पनि धेरै हिड्यौं त्यो बेला । कहिले स्कुल पुग्न बसले धेरै ढिलो गरिदिँदा स्कुल जानै लाज जस्तो हुने र बरु कुनै नजिकको डाँडा चढ्ने र गाउँतिर लाग्ने पनि गर्यौँ ।

चन्द्रागिरि वरिपरिको गाउँहरु मात्र नभएर कहिले पर्खदा पर्खिंदै पनि बस पुगेन भने अर्कै दिशातिरको बस चढेर कहिले कहाँको, कहिले कहाँको डाँडा चढ्ने काम पनि प्रशस्तै गर्यौँ ।

जाँगर आफैँ आउँथ्यो, मनोबल उच्च थियो । जहाँ जान पनि नक्शा वा योजना केही चाहिँदैन थियो । जुनबेला जता जान मन लाग्यो त्यतै लाग्ने गथ्र्यौँ हामी ।

जीवनमा सबभन्दा धेरै डाँडा चढेको वर्ष पनि थियो त्यो । कहिले जुकाले टोकेका जनताको खुट्टा देख्दा पनि भावुक हुन्थे । केही न केही औषधि बोकेर हिँडने त बानी नै भइसकेको थियो ।

अहिले फर्केर हेर्दा समय, परिस्थिति र मान्छेहरु सबै फेरिँदै गएका छन् । बलम्बुका उहिलेका मेरा विद्यार्थीहरुमध्ये कोही मेरा गुरु र गुरुमा पनि भइसक्नुभएको छ । बौद्धधर्मका ती गुरुहरुका निम्ति अझै पनि म ‘मिस’ नै छु । र आत्मियता उस्तै छ ।

बलम्बुलाई यसै पवित्रस्थल भनेको होइन । सबैभन्दा धेरै बौद्ध भिक्षु–भिक्षुणीहरु जन्माएको ठाउँमध्ये पर्छ, बलम्बु । तीमध्ये कति त आफ्नै पूर्वविद्यार्थी भनेर थाहा पाउँदा पनि मन आनन्द लाग्छ ।

त्यो बेलाका अभिभावकहरुले अझै सम्झिरहनुभएको कुरा सुन्दा पनि यो मन कति खुसी हुन्छ । बलम्बुले दिएको त्यो पवित्र मायालाई कहिल्यै बिर्सिन सक्तिनँ ।

प्रतिक्रिया दिनुहोस्