Logo
Logo

ओलीको प्रधानमन्त्री चाह र एमालेको संकटमय भविष्य



यतिबेला नेकपा एमाले जीवनमरणको दोसाँधमा छ । एमालेको भविष्य आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणामले तय गर्ने छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष पछाडि नेपालको कम्युनिष्ट पार्टीले दुईतिहाइको मत ल्याएको थियो । यसको जग भनेको एमाले र माओवादी पार्टीबीचको गठबन्धन नै हो ।

यदि गठबन्धन नभएको भए एमाले एक्लैले दुईतिहाइ मत ल्याउने सम्भावना थिएन । माओवादीसँग चुनावी तालमेल गर्दै पार्टी एकतासम्मको यात्रा तय गरेको एमालेले पार्टी एकतामा इमान्दार भएको भए केपी शर्मा ओलीको अवस्था किन रोइस मंगले, आफ्नै ढंगले भनेजस्तो हुने थिएन ।

दुईतिहाइको सरकार ढाल्नु र माओवादीसँग गरेको एकतालाई सर्वोच्च अदालतबाट भंग गराउनु ओलीको ठूलो गल्ती थियो । इतिहासले यसको हिसाब किताब पक्कै पनि गर्ने छ ।

२०७४ सालमा ओलीको नक्कली राष्ट्रवाद चुलिएको थियो । केरुङ–काठमाडौं रेल, काठमाडौं रिङरोडमा मेट्रो रेल, घर घरमा ग्यासको पाइप, कोलकातासम्म पानीजहाजको यात्रा, पाँच लाख युवालाई स्वदेशमै रोजगारी, पूर्व–पश्चिम विद्युतीय रेल आदि ओलीले देखाएका सपना थिए ।

त्यतिबेला विकास गर्न सपना देख्नुपर्छ भन्ने मानसिकता आम युवामा जागेको थियो । जसले ओलीको सपना साकार पार्न एमालेलाई भोट हाले । समय बित्दै गयो । ती सबै कुरा ‘गँजेडी गफ’मा परिणत हुँदै गयो ।

पाँच वर्षका लागि जनादेश पाएको ओलीले पार्टीभित्रको सन्तुलन मिलाउँदै जान सकेको भए देशको अवस्था बेग्लै हुने थियो । तर, दुर्भाग्य ओली असनको साँढेझैं भएको कारण दुईतिहाइ बहुमत भुइँ न भाँडो बन्यो ।

अहिले फेरि एमालेले त्यही ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको छ । जनतालाई एकपटक झुक्याउन सकिन्छ, पटक–पटक सकिँदैन । अब जनताले एमालेलाई प्रश्न गर्नुपर्छ २०७४ सालमा जनताप्रति प्रतिबद्धता जनाएको काम खोइ ? एमालेलाई भोट दिने आधार के हो ? जसले जनताको दुईतिहाइ मतको दुरुपयोग गर्याे ।

अर्को कुरा स्वयं केपी शर्मा ओलीले २०७४ सालको निर्वाचनमा आफू अन्तिम पटक प्रधानमन्त्री बन्ने कुरा दोहोर्याएका थिए । उनीमा नैतिकता भएको भए नेकपा एमालेका उनीभन्दा सक्षम नेतालाई उनले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नुपथ्र्यो ।

धेरैलाई सम्झना होला, एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा ओलीले आफू एकपटकको लागि मात्र अध्यक्ष बन्ने घोषणा गरेका थिए । यदि, ओलीको बोलीमा विश्वास गर्ने हो भने दशौं महाधिवेशनमा ईश्वर पोखरेल स्वतः अध्यक्ष बन्नुपर्ने हो र भावी प्रधानमन्त्रीको दाबेदार पनि पोखरेल हुनुपर्ने हो । त्यसो नभई ओली स्वयं प्रधानमन्त्री बन्ने कुराले एमालेको राजनीतिक भविष्य ध्वस्त हुने पक्का छ ।

किनभने, अहिले पनि एमालेभित्र ओली प्रवृत्ति मन नपराउने धेरै युवा नेता छन् । जसको मनमा विद्रोहको ज्वाला दन्किरहेको छ । त्यसले आगामी निर्वाचनपछि विस्फोटको रुप लियो भने आश्चर्य हुने छैन ।

प्रतिक्रिया दिनुहोस्