Logo
Logo

गोल्छालाई महासंघबाट खेद्ने षड्यन्त्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमानअध्यक्षहरु सबै आ–आफ्नो पेशा, व्यवसायमा आबद्ध भए पनि एक जना पूर्वअध्यक्ष बेरोजगार भएको कारण महासंघको भविष्य अन्यौल बन्दै गएको छ । महासंघमा बढ्दो गुटबन्दीका कारण विनोद चौधरीले सीएनआई खोल्न बाध्य भए । महासंघसँग रुष्ट उद्योगी, व्यापारीको सीएनआईमा बढ्दो आकर्षण छ । त्यस्तै चेम्बर अफ कमर्शले पनि राम्रा उद्योगी, व्यवसायीहरुलाई आफूतिर तानिरहेको छ । यस्तो अवस्थामा महासंघलाई यो ठाउँसम्म पु¥याउन योगदान दिने गोल्छा परिवारलाई नै महासंघबाटै बाहिररिनुपर्ने अवस्था सिर्जना गरिँदैछ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न महासंघको विधान संशोधन गरिने भएको छ । महासंघको पूर्वअध्यक्ष चण्डिराज ढकालको संयोजकत्वमा गठित विधान संशोधन कमिटीले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन हुने प्रावधान विधानमा राखेपछि गोल्छाको स्वतः अध्यक्ष बन्ने बाटो रोकिएको हो । भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा तिनै ढकालले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने भनेर विधान संशोधन गरेका थिए । जुन कुरामा गोल्छाले पनि सहमति दिएका थिए । तर, एक कार्यकाल बितेपछि पुनः विधान संशोधन गरेर अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भनेपछि गोल्छा ठूलो अन्यायमा परेका छन् ।

यही साउन ३१ गते महासंघको कार्यसमितिको बैठक बस्दैछ । उक्त बैठकले विधान संशोधनका लागि कात्तिक अन्तिम हप्ता विशेष साधारणसभाको बैठक बोलाउने भएको छ । विशेष साधारणसभाको दुईतिहाइले विधान संशोधन प्रस्ताव पास गरेमा त्यसपछि चैतको २८, २९ गते आयोजना हुने महासंघको साधारणसभाले प्रत्यक्ष निर्वाचनबाट महासंघको अध्यक्ष निर्वाचित गर्नेछ ।

राणाको एक कार्यकाल सकिएपछि विधान संशोधनको कुरा उठाइनुलाई राणालाई अध्यक्ष बनाउन मात्र ढकालले सबैलाई ‘उल्लु’ बनाएका रहेछन् भन्ने कुरा खुलेको छ । यद्यपि, प्रस्तावित विधान पास भएको खण्डमा त्यो विधान अहिलेदेखि लागू गर्ने कि अर्को कार्यकालदेखि लागू गर्ने भन्ने कुरा टुंगिएको छैन । विशेष साधारणसभाले अर्को कार्यकालदेखि संशोधित विधान लागू हुने निर्णय गरेमा मात्र गोल्छाले न्याय पाउनेछन् । अन्यथा, गोल्छा परिवारका लागि महासंघको ढोका सधैँका लागि बन्द हुनेछ ।

महासंघका अधिकांश सदस्यहरु गोल्छालाई एक पटक अध्यक्ष पदको जिम्मेवारी दिनुपर्छ भन्ने पक्षमा छन् । ढकालबाहेकका पूर्वअध्यक्षहरु पनि गोल्छाकै पक्षमा छन् । तर, गोल्छाले भने आफ्नो कुरा निवर्तमान अध्यक्षहरु, कार्यसमितिका सदस्यहरुलाई स्पष्ट रुपमा राख्न सकेका छैनन् । उनको यही कमजोरीको फाइदा उठाएर पूर्वअध्यक्ष ढकालले महासंघभित्र रजगज चलाइरहेका छन् । जुन कुरा महासंघको भविष्यका लागि सुखद् होइन । महासंघलाई सशक्त ढंगबाट अगाडि बढाउने हो भने कसैमाथि षड्यन्त्र गरिनु हुन्न । उद्योगीमैत्री वातावरण बन्यो भने मात्रै महासंघको भविष्य सुध्रने छ । अन्यथा, भाँडभैलोले महासंघको बचेखुचेको अस्तित्व नै समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्