Logo
Logo

एमाले पराजित नभएसम्म जनता दशामुक्त हुँदैनन्



यतिबेला नेपाली जनता बडादशैँको शुभकामना आदानप्रदानमा व्यस्त छन् । हरेक दिन, हरेक क्षण सामाजिक सञ्जालमा सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना ओइरिरहेको छ ।

काठमाडौंका सडकहरू रित्तिन थालेका छन् । गाउँ, घर बस्तीहरूमा बडादशैँको रौनकले नयाँ उत्साह, जोस, जाँगर निम्त्याएको छ । 

दशैँ सँगसँगै आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न हुँदै छ । गाउँ, बस्ती निर्वाचनको हावाले छुन थालेको छ । हरेक घर, टोलमा निर्वाचनको चर्चा चल्न थालेको छ । 

तर, यसपटक एमाले नेता तथा कार्यकर्ता निराश छन् । एमाले पानी विनाको माछा जस्तै छटपटाइरहेको छ । एमाले अध्यक्ष पानी विना पनि माछा बाँच्न सक्छ भन्ने भ्रम आम जनतामा छरिरहेका छन् । 

एमालेका लागि २०७४ मंसिर १० र २१ गते जुन उत्साह थियो, त्यो अहिले छैन । २०७४ सालको निर्वाचनमा माओवादीसँगको सहकार्यले सिंगो कम्युनिष्ट आन्दोलनलाई जुरुक्कै उचालेको थियो । तल्लो तहको कार्यकर्ताको बलमा नेपालका कम्युनिष्टहरूले पहिलो पटक दुईतिहाइको मत प्राप्त गरेका थिए । 

अहिले एमाले आफैँ फुटेको छ । माओवादीसँग गर्ने भनिएको एकता भाँडिएको छ । यस्तो अवस्थामा एमालेले बहुमत ल्याउँछु भन्ने कुरा ‘मूर्खको सल्लाह, खरानीको डल्ला’ भनेजस्तै हो । 

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एमाले अध्यक्ष केपी शर्मा ओली असफल भइसकेका छन् । जसले दुईतिहाइको सरकार जोगाउन सकेनन् । साथै, पार्टीलाई पनि एकतावद्ध बनाउन असफल भए । तिनै अनुहारलाई एमालेले भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नु नेपाली जनतालाई उल्लू बनाउनु हो । 

भनिन्छ–‘मानिसलाई एकपटक उल्लू बनाउन सकिन्छ, पटकपटक होइन ।’ नेपाली जनतालाई ओलीले धेरै पटक उल्लू बनाएको उदाहरण छन् । 

त्यसैले, एमालेलाई भोट दिनु भनेको संघीय लोकतान्त्रिक व्यवस्था ध्वस्त पार्नु हो । यो व्यवस्थालाई ध्वस्त पार्न एमालेले राजावादी पार्टीहरूसँग सहकार्य गरेको छ । यो कुरालाई हरेक नेपाली जनताले मनन् गर्नुपर्छ । 

यदि, एमाले यो देश र जनताप्रति इमानदार भइदिएको भए यस पटकको दशैँ सुख, समृद्धिको दशैँ बन्ने थियो । तर, दुर्भाग्य एमालेको कारण दशैँ दशा बनेको छ । यो अवस्थाबाट नेपाली जनता मुक्त हुन पनि एमालेको पराजय आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्