Logo
Logo

नेकपा फर्किए राई


- दृष्टि न्युज/संवाददाता


धरान । धरानका प्रभावशाली नेता तथा पहिलो संविधानसभाका सभासद किरणकुमार र।ईलाई अन्ततः नेकपाका नेताहरुले पुरानै पार्टीमा फर्काएर ल्याउन सफल भएका छन् ।

हाल देशमा प्रतिबन्धित राजनीतिक दल नेकपा विप्लव समूहका केन्द्रीय सदस्य तथा पूर्वी व्युरो इन्चार्जसमेत रहेका राईलाई विगत एक वर्षदेखि सरकारले पटक–पटक समातेर मुद्दा लगाउँदै आएको थियो । जनयुद्धका बेला पटक–पटक घाइते भएर जिउभरि बमका छर्रा बोकेर हिँडिरहेका राई गत संसदीय निर्वाचनताका बेलवारीमा मोटरसाइकल दुर्घटनामा परेर एक हप्ता आइसीयूमा बस्नुपरेको थियो । स्वस्थ्य अवस्थाका कारण नेकपा विप्लव समूहबाट पार्टी सहमतिमा नै त्याग गरी घरमा बस्दै आएका थिए ।

‘तर केही समय आराम गर्न घरैमा बसी सानोतिनो कृषि पेशा गरौँ भनेको थिएँ, तर नेकपाका मेरा पुराना शुभेच्छुक प्रचण्ड, बादल, समरजस्ता अग्रज कमरेड नेता, कार्यकर्ता कमरेडले बस्नु दिनुभएन । राजनीतिक खेलाडीले त्यसै बस्न हुँदैन भन्न थाल्नुभयो र नेकपामा प्रवेश गरेको छु । तर मैले साथीहरुलाई स्पष्ट भनेको छु मलाई केन्द्रीय राजनीतिभन्दा स्थानीय विकासका कामको जिम्मेवारी दिनुहोस् । मलाई आफ्नै क्षेत्रमा बसेर केही नमूना काम गर्न चाहन्छु । किनभने अब स्थानीय निकायलाई सबै कुरामा बलियो र समृद्ध बनाउनुपर्छ, स्थानीय निकाय बलियो नभए कुनै पनि हालतमा केन्द्र बलियो हुँदैन’, भन्छन् राई ।

जनयुद्धको बेला जनमुक्ति सेनाका ब्रिगेडियर भएर विभिन्न स्थानमा कुशलतापूर्वक युद्धको मोर्चा सम्हालेका राई पहिलो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र न १ बाट भारी मतले तत्कालीन नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । इमान्दार, कर्तव्यनिष्ठ र राम्रो बोली व्यवहारका कारण सबैतिरबाट लोकप्रिय छवि बोकेका राईको नेकपा प्रवेशसँगै आगामी मसिर ४ गते हुने उपनिर्वाचनमा धरानका नगरप्रमुखको पदमा उनलाई उठाउन पाए सबै पार्टी र जनताको साझा उम्मेदवारको रुपमा विजयी बनाउने व्यापकरुपमा चर्चा शुरु भएको छ । किनभने उनले संविधानसभाको सदस्य हँुदा पनि धरान क्षेत्रभित्र चार ठुला ठूला पुल, सडक, हालको एडिबी खानेपानी योजनालगायत थुप्रै योजना ल्याउन सफल भएका थिए ।

उनलाई धरानको भावी मेयर बनाउने चर्चा सुनेर संघीय समाजवादी पार्टीका नेता तथा धरानका पूर्व नगरप्रमुख ध्यानबहादुर राई पनि उत्साहित हँुदै भन्छन् ‘यदि किरण राईजस्तो इमान्दार मेयरमा आए राम्रै हुन्थ्यो, किनभने धरानलाई अब एउटा इमान्दार र ठोस निर्णय गर्न सक्ने साझा नेताको आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्