Logo
Logo

सडकमा सवारी होइन भेल बग्दै


- दृष्टि न्युज/संवाददाता

0
Shares

वीरेन्द्र रावल, कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका (साविक मोहन्याल पण्डौन र सुगरखाल) सात वडाअन्तर्गत हालै निर्माण गरिएका ज्यानमारा सडकहरु पुनः बगरमा परिणत बन्न पुगेका छन् ।

अवैज्ञानिकरुपले निर्माण गरिएका मोहन्याल गाउँपालिकाको वडानम्बर २, ४, ३ र ७ नम्बरमा निर्माण गरिएका अधिकांश सडकहरु वर्षातको भेलसँगै बगरमा परिणत हुनपुगेका कारण सवारीसाधन त परै जाओस् मानिसहरुलाई पैदल हिँड्डुल गर्नसमेत असहज बनेको स्थानीयको गुनासो रहेको छ । गाडी गुड्नुपर्ने सडकमा वर्षातको भेल बग्दा सडक नै बगरमा परिणत भएपछि स्थानीय जनताको सवारीसाधन चढ्ने चाहना अपुरै रहेको अधिकाँशको भनाइ छ ।

मोहन्याल गाउँपालिकाको सिमलीदेखि खिमडी सडकखण्डका विभिन्न स्थानहरुमा सडक ठाउँ–ठाउँमा भत्किएर सडक पूर्णरुपले अवरुद्ध हुनपुगेको छ । वर्षातको समयमा मानिसहरुलाई पैदल आवतजावतमा समेत समस्या भएको छ ।

सिमली–पण्डौन सडकखण्ड, बडिकाथाई–कोल्तडी खण् देखि लिएर चिसापानी–सोल्टालगायतका सडकहरु बढी प्रभावित बन्न पुगेका छन् । अवैज्ञानिक तरिकाले सडक निर्माण गरिएका कारण कोल्तडीदेखि मुढाबजारसम्म पुग्नका लागि दुई दिनको पैदल बाटो हिँड्नुपर्ने बाध्यता सिर्जना भएको बताउँछन्– मोहन्याल २ कोल्तडीका स्थानीय बासिन्दा रमेश सापकोटा ।

असार मसान्तमा सडक निर्माण सम्पन्न भई रकम फछ्र्योट गरेको एक महिना पूरा नहुँदै ती सडकहरुमा चल्ने मोटरसाइकल जीप र ट्रयाक्टरहरु पूर्णरुपले बन्द भएका कारण पैदल यात्रा गर्नु पर्ने बाध्यता आइपरेको बताउँछन्– महेन्द्र मावि कोल्तडीका प्रधानाध्यापक कमल देवकोटा ।

देवकोटा भन्छन्– यसपालिको हिउँदका बेलामा दुई चार महिना मोटरसाइकलमा गाउँसम्म पुगिएको भएता पनि वर्षातको शुरुवातसँगै बाटो पूर्णरुपले अवरुद्ध भएपछि मोटरसाइकल घरमै थन्क्याउनुपर्ने बाध्यता आइलागेको छ ।

स्थानीय जनप्रतिनिधि र उपभोक्ता समितिका सीमित व्यक्तिहरुको मिलेमतोमा काष्ठ व्यवसायीहरुले जथाभावी डोजर चलाएर सडक निर्माण गरिएका कारण वातावरणीय सन्तुलन बिग्रिन गई सडकहरु बगरमा पणित भएको बताउँछन् । मोहन्याल–२ का स्थानीय बासिन्दा रविलाल देवकोटा । देवकोटा भन्छन्– जब बर्षातको समय आउँछ, तब बाटोको निर्माणकार्यका थालनी हुने गर्दछ, बाटो निर्माण गरी भुक्तानी लिएलगत्तै सडक फेरि पूर्ववत अवस्थामा परिणत हुने समस्या विगत वर्षहरुझैं यस बर्ष पनि उही अवस्थामा परिणत हुन पग्नु ठूलो दुर्भाग्य हो ।

उनी भन्छन्, सडक निर्माणका नाममा सीमिति व्यक्तिहरु मोटाएका छन् । बर्षा शुरु हुनेबित्तिकै सडक बन्द हुने गर्दछ । मानिसहरुले पहिलेकै झैं पैदल हिँड्नुपर्ने बाध्यता आउँछ भने सडक निर्माणको औचित्य नै के रह्यो र ?

वर्षौँदेखि पिठ्युँमा भारी बोकेर कष्टकर जीवनयापन गर्दै आइरहेका मोहन्याल गाउँपालिकाका जनताको गाडी चढ्ने सपनामाथि भ्रष्ट ठेकेदार प्रवृत्तिका वडाध्यक्षहरुका कारण यस्तो भएको हो । सडकमा अनियमितता र भ्रष्टाचार भएकाले त्यस्ता सडकहरुको गुणस्तर नाप जाँच गर्दै जून जून वडाहरुमा अपारदर्शि कामहरु भएका छन्, ती वडाहरुलाई दण्डको व्यवस्था गरिनुपर्ने माग स्थानीय बासिन्दाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्