Logo
Logo

बेइजिङ होइन, दिल्ली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । तीन जना सहसचिवको नाम मन्त्रिपरिषद्मा अड्किएको छ । सरकारले चीनको बेइजिङस्थित नेपाली दूतावासमा वाणिज्यदूतका रुपमा राष्ट्रपति कार्यालयका सहसचिव छविन्द्र पराजुली, चीनकै ग्वाङझाओको महावाणिज्यदूतमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी र नयाँदिल्लीस्थित नेपाली दूतावासको वाणिज्य मिनिष्टमा पर्यटन मन्त्रालयकी सहसचिव नीता अर्याल पोखरेलको नाम सिफारिस गरेको छ । यस अगाडि अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलको नाम वाणिज्यदूतमा आए पनि अर्थमन्त्री डा. युवराज खतिवडाले उनको ठाउँमा पुडासैनीको नाम सिफारिस गरेको स्रोत बताउँछ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा इकोनोमी मिनिष्टरमा नाम सिफारिस भएकी सहसचिव अर्याललाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सिफारिसमा बेइजिङ पठाउने भनिएको थियो । तर, अन्य दुई जना सहसचिवभन्दा अर्याल कनिष्ठ सहसचिव भएकोले उनलाई नयाँदिल्ली पठाइएको परराष्ट्र स्रोतले बताएको छ ।

पर्यटन मन्त्रालयको पूर्वाधार महाशाखा प्रमुखका रुपमा कार्यरत सहसचिव अर्यालले एशियाली विकास बैंकको सहयोगमा लुम्विनी विकास कोषका लागि चीनको बीवाईडी कम्पनीसँग खरिद गरिएको पाँच वटा बिजुली बसलाई भारतमा निर्मित बस भनेर सम्झौता भंग गरेपछि चिनियाँहरु उनीसँग आक्रोशित भएका थिए । सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता हुँदासमेत अर्यालको काम सन्तोषजनक थिएन । पदले सहसचिव भए पनि क्षमता र कार्यशैलीमा उनी कमजोर रहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्