Logo
Logo

खोई, गाईजात्रे कार्यक्रम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुनै समय गाईजात्रा हाँस्य कलाकारहरुका निम्ति ‘महोत्सव’ नै हुन्थ्यो । र, गाईजात्रा नजिकिँदै जाँदा सर्वसाधारणमा एक किसिमको योजना नै बन्थ्यो, ‘यसपटक कसको गाईजात्रा कार्यक्रम हेर्ने होला ?’ तर, अहिले आएर गाईजात्रा न कलाकारलाई उत्सव बन्न सकेको छ, न त सर्वसाधारणलाई चासो नै ।

हरेक वर्ष गाईजात्रामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि पुर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका बरिष्ठ हाँस्य कलाकार सुभास गजुरेल होस वा हाँस्य अभिनेत्री दीपाश्री निरौला र दिपक गिरि नै किन नहोस्, उनीहरु केही वर्षयताबाटै गाईजात्राप्रति वितृष्णा देखाउँदै आएका छन् । यस वर्ष त यी कलाकारको नाम निशाना समेत आएन ।

हाँस्यकलाकारलाई यो वर्ष गाईजात्राको कुनै रौनक छैन । निरन्तरताका लागि यस वर्ष पनि गाईजात्रा कार्यक्रम भयो । तर, त्यहाँ खाशै हाँस्यकलाकारका हस्ती भनिएकाहरुको देखिएनन् । जसले गर्दा दर्शकले गाईजात्रा कार्यक्रमतिर चासो समेत देखाएनन् । ‘देश नै गाईजात्रा जस्तो बनेको छ, किन हेर्ने गाईजात्रा ?’ अघिल्लो वर्षसम्म प्रत्येक वर्ष गाईजात्रा महोत्सव हेर्दै आएका सुनसरीका सुदेश खड्काले भने, ‘हिजोआज फेसबुकमै नेता र कलाकारको गाईजात्रा हेर्न पाइएको छ अनि केका लागि गाईजात्रा हेर्ने ।’

सर्वसाधारण दर्शकलाई मात्र होइन, केही वर्षअघिसम्म गाईजात्राको सिजनमा मालामाल भएका हाँस्य कलाकारहरुसमेत त्यसै भन्न थालेका छन् । एक हाँस्यकलाकार भन्छन्, ‘नेताहरुलाई ब्यंग्य गरेर कामै छैन अनि किन गाईजात्रा देखाउनु ?’ आफ्नै बेइज्जत ।

यसरी हाँस्यकलाकारदेखि दर्शकसम्मलाई गाईजात्राप्रति वितृष्णा लाग्न थालेपछि कसरी गाईजात्रा महोत्सव हुन्छ त ? प्रश्न अनुतरित छ । तर, गाईजात्रा हाँस्य महोत्सव मात्र नभएर एक धार्मिक तथा सांस्कृतिक आस्था र मान्यता बोकेको पर्व हो । त्यसैले परम्परा धान्नका लागि भएपनि फाट्टफुट्ट गाईजात्रा महोत्सव हुने गरेको छ । तर, दर्शक शून्य ।

यसपाली जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा गत शुक्रबारदेखि ‘गाईजात्रा महोत्सव–२०७६’ आयोजना गरिएको छ । आज मंगलबारसम्म आयोजना हुने उक्त महोत्सवबारे धेरैलाई थाहै छैन । कारण गाईजात्राप्रतिको वितृष्णा नै हो, अर्कोतर्फ चर्चित हाँस्यकलाकारहरुले चासो नलिनु ।

यसपालीको गाईजात्रा कार्यक्रममा नाचघरमा हास्य कलाकारहरु दमन रुपाखेती, प्रभाकरदेव शर्मा, विष्णु सापकोटा, लक्ष्मण गाम्नाङे, कमल गाउँले, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, घनश्याम गौतम, सन्तोष खनाल, पुष्प राज अवस्थी, शशी थापा, राजन थापा र सुशील निरौलालगायतले प्रस्तुति दिएका छन् । तर, उनीहरुले पनि पहिलेजस्तो राजनीतिक दलका नेतालाई तारो बनाएनन् । कारण सरकारले ल्याएको नयाँ मुलुकी संहिता । नयाँ मुलुकी संहिताले पनि हाँस्यकलाकारलाई खुम्च्याएको छ ।

हरेक वर्ष गाईजात्रामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि पुर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका बरिष्ठ हाँस्य कलाकार सुभास गजुरेल होस वा हाँस्य अभिनेत्री दीपाश्री निरौला र दिपक गिरि नै किन नहोस्, उनीहरु केही वर्षयताबाटै गाईजात्राप्रति वितृष्णा देखाउँदै आएका छन् । यस वर्ष त यी कलाकारको नाम निशाना समेत आएन ।

कटौती हुँदै गाईजात्रा

एक दशकअघिसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने गर्दथ्यो गाईजात्रा महोत्सव, जहाँ दर्शकको ठूलै भीड लाग्थ्यो । तर, उक्त भवन संसद भवनमा परिणत भएसँगै प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह र कमलादीको प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा महोत्सव खुम्चियो । त्यससँगै दर्शक पनि खुम्चिँदै गए ।

एकातिर गाईजात्रा कार्यक्रमप्रति हाँस्यकलाकारमा वितृष्णा बढ्दै जानु र अर्कोतिर प्रदर्शन गर्ने हलसमेत खुम्चिँदै जानुले गाईजात्रा कार्यक्रमको गरिमा पनि खुम्चिँदै गयो । यो वर्ष जमलको राष्ट्रिय नाचघरमा गाईजात्रा कार्यक्रम हुनुको कारण यही नै हो । तर, दर्शक नै भएन । राष्ट्रियसभा गृह ‘राष्ट्रियसभा गृह’कै रुपमा सञ्चालनमा छ भने प्रज्ञा प्रतिष्ठान सुधार गरिँदै । तर, कुनै समय यी तीनै हलमा कलाकारहरुको फरक–फरक समूहले गाईजात्रे कार्यक्रम प्रस्तुत गर्थे । ती प्रतिस्पर्धात्मक सबै कार्यक्रममा गाईजात्रा कार्यक्रममा हेर्न दर्शकको भीड लाग्थ्यो ।

तर, पछिल्ला पाँच वर्षयता गाईजात्राको अवसरमा आयोजना हुने यस्ता हाँस्यव्यंग्य कार्यक्रमको क्रेज यसतसम्म तल झरेको छ कि जहाँ दर्शक नै हुँदैनन् । त्यसैले पनि गाईजात्रा कार्यक्रम कटौती हुँदै गएको छ । गत वर्षमात्रै पनि राष्ट्रिय नाचघरमा एक साताका लागि जम्मा एउटा गाईजात्रा कार्यक्रम प्रस्तुत गरिएको थियो  । तर, यस वर्ष त्यसमा पनि कटौती गरेर जम्मा तीन दिनका लागि मात्र गाईजात्रे कार्यक्रम प्रस्तुत गरिएको छ ।

हाँस्य कलाकार फिल्ममा व्यस्त

गाईजात्रा भन्नेवित्तिकै हाँस्यकलाकार जोडिन्छन् । तर, पछिल्लो केही वर्षयता हाँस्य कलाकारहरु फिल्ममा जम्न थालका छन् । फिल्ममा जम्न थालेपछि हाँस्यकलाकारले नेताहरुको ब्यंग्य पनि गर्न छाडेका छन् ।

कुनै समय गाईजात्रा कार्यक्रममा सबैभन्दा रुचाइएको हाँस्य जोडी थियो, महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । तर, गाईजात्राका कार्यक्रमप्रति दर्शकको रुचि घट्न थालेपछि महजोडीले त्यस्ता कार्यक्रमबाट आफूलाई अलग गर्दै लगे र उनी फिल्मतिर ढल्किए । पछिल्ला केही वर्षयता मह सञ्चारले चलचित्रको निर्माणलाई गति दिन थालेका छन् । जसले गर्दा उनीहरुले गाईजात्रा कार्यक्रममा प्रस्तुत हुन समेत भ्याइरहेको छैन ।

यस्तै अर्को जोडी दिपकराज गिरी र दीपाश्री निरौला पनि हुन्  । यी जोडी पनि केही वर्षदेखि चलचित्र निर्माणमै व्यस्त हुन थालेका छन् भने उनी फिल्मी अभिनयमा पनि जमिरहेका छन् । साथै, गाईजात्रा कार्यक्रममा दर्शकले रुचाएका सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, जितु नेपाल, केदार घिमिरे, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, विल्सनविक्रम राई ‘तक्मेबुढा’, मनोज आचार्यजस्ता हाँस्यकलाकारहरू पनि चलचित्रतिरै व्यस्त भएका छन् । लोकप्रिय कलाकारहरू नै स्टेजमा प्रस्तुत भएर गाईजात्रा कार्यक्रमलाई समय दिन नसक्ने भएपछि दर्शक प्रेक्षालयमा आउनेक्रम स्वतः घट्यो । जसले गर्दा गाईजात्रा कार्यक्रम आफैमा संकटमा पर्दै गयो ।

यु–ट्युब र छाडापन

नामै गाईजात्रा । यसो भन्दैमा गाईजात्राको नाममा छाडापन समाजले पच्दैन । तर, पछिल्लो केही वर्षयता गाईजात्राको नाममा छाडापनले आश्रय पाउँदै आएको छ । कुनै राजनेता वा अभिनेता र अभिनेत्रीको ब्यंग गर्ने नाममा गरिएका प्रहशन यतिसम्म छाडा हुन थाल्यो कि, हेर्नेलाई नै गाह्रो हुन्थ्यो । गत वर्ष मात्र पनि गाईजात्राको एक कार्यक्रममा अभिनेत्री रेखा थापा र नेकपाका अध्यक्ष प्रचण्डको प्रहशन गरिरहँदा दर्शकले आँखा छोप्ने अवस्था आएको थियो । र, गाईजात्राको नाममा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको क्यारिकेचर र प्रहशन गर्दा दर्शकले अप्ठ्यारो मानेका थिए । गाईजात्रा कार्यक्रमप्रति वितृष्णा बढ्दै जानुको कारणमध्ये एक छाडापन पनि बन्यो ।

अर्कोतिर यु–ट्युब र टेलिभिजनहरुबाट प्रसारण हुने हाँस्य शृँखलाहरु हुन् । मोवाइल–मोबाइलमा हाँस्य कलाकारलाई हेर्न पाइरहेको अवस्थामा हलसम्म उनीहरुलाई हेर्न दर्शक हत्तपत्त जाँदैनन् । यु–ट्युबका कारण तितो सत्य, जीरे खुर्सानी, मेरी बास्सै, भद्रगोलजस्ता चर्चित र लोकप्रिय टेलिशृँंखलाहरुको समेत क्रेज घट्दै गएको छ । यस्तो अवस्थामा गाईजात्रा कार्यक्रमको क्रेज घट्नु सामान्य हो ।

र, मुलुकी संहिता

सरकारले अघिल्लो वर्षको भदौ १ गतेदेखि लागू गरेको मुलुकी संहिताका कारण पनि हास्य कलाकारहरू खुलेर आफ्नो प्रस्तुति दिन हच्किन थालेका छन् । नयाँ मुलुकी संहिताले व्यक्तिगत तथा गोपनियताको हक सुरक्षित गरेपछि कलाकारहरू खुलेर व्यंग्य गर्न डराएका छन् । जसले गर्दा गाईजात्रा कार्यक्रम मात्र नभएर हाँस्य टेलिचलचित्रहरुको समेत लोकप्रियता घट्दै गएको छ ।

धार्मिक एवं सांस्कृतिक परम्पराअनुसार मनाइँदै आएको गाईजात्रालाई हाँस्यकलाकारले स्टेजसम्म पु¥याएर लोकप्रिय बनाएको थियो । तर, यी माथि उल्लेखित विविध कारणहरुले गाईजात्रा कार्यक्रमको रौनक नै समाप्त पारिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्