Logo
Logo

योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी नयाँ पाठ्यक्रममा चीनको चासो


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ४ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चीन सरकारले चासो व्यक्त गरेको छ ।


चाइनाको चाइना डाइलेक्टिल एशोसिएसनका अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय अध्ययनका लागि चीन सरकारले बार्षिक १ हजार विद्यार्थी पठाउने इच्छा व्यक्त गरेका छन् । नेपाल सरकारसँगको सहमतिमा वार्षिक एक हजारको संख्यामा विद्यार्थी पठाउन चीन सरकार तयार रहेको प्रोफेसर थिङले जानकारी दिए ।

हिजोदेखि काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा जारी माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रोफेसर थिङ मन्त्री पोखरेल भेट्न आज सिहंदरबारस्थित मन्त्रालय आएका थिए । भेटको क्रममा नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि अध्ययन गर्न उपयुक्त देश भएकोले आफुहरु सहयोग गर्न तयार रहेको थिङले प्रष्ट पारे । चाइना डाइलेक्टिल एशोसिएसन चीन सरकारको उच्च तहको निकाय हो ।

भेटको क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रम आफ्नो चासोको बिषय भएकोले तुरुन्तै आवश्यक छलफल र तयारी गरि पाठ्यक्रम लागू गर्ने बताए । उनले चाइना डाइलेक्टिल एशोसिएसन र चीन सरकारलाई धन्यवाद ज्ञापन गर्दै सहकार्यको अपेक्षा गरिएको बताए । मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय देशको अहिलेको आवश्यकताको बिषय भएको प्रष्ट पार्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्