Logo
Logo

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्नुभएको छ । आज अपरान्ह १.३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गर्नुभएको हो ।

अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले एक विज्ञप्ति जारी गरेर जनाएअनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो ।

“एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो” डा. सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तीमा जनाइएको छ ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चारमाध्यमलाई जानकारी गराउने डा. सिंहले जनाउनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आम नेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउनेनै छौं” डा सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्