Logo
Logo

लागुऔषधको प्रयोग र कारोवारमा वृद्धि


– रीता लामा (रासस)


घोराही, ६ भदौ  । जिल्ला प्रहरी कार्यालय दाङले गत वर्ष लागुऔषधसम्बन्धी ३५ वटा मुद्दा चलाएको छ । तीमध्ये ब्राउनसुगरको प्रयोग र कारोवारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले चलाएको २९ वटा मुद्दामा ३८ पुरुष र चार महिला रहेका छन् । तीमध्ये २६ पुरुष र दुई महिला धरौटीमा छुटेका छन् भने बाँकी छ पुरुष र दुई महिला अझै अनुसन्धानका क्रममा छन् । प्रहरीले चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुबाट सो अवधिमा प्रहरीले २२० ग्राम ३९० मिलीग्राम ब्राउनसुगर बरामद गरेको थियो । ब्राउनसुगरको यो मात्रा थोरै भए पनि मूल्य धेरै हुन आउँछ । जसकारण यसलाई प्रहरीले ठूलो उपलब्धि मानेको छ ।

यसैगरी गत वर्ष चरेस कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई महिला र चार पुरुषलाई पक्राउ गरेको छ । लागुऔषध चरेससम्बन्धी एउटा मुद्दा चलाइएकोमा दुई महिला र दुई पुरुष पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रमुख राजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार, चरेस कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये एक जना धरौटीमा छुटेको छ भने एक जना फरार रहेको छ । सो अवधिमा पक्राउ परेका चार जनाबाट ६० किलो ८०० ग्राम चरेस बरामद गरिएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयले लागुऔषध अफिम सम्बन्धी गत वर्ष एउटा मुद्दा चलाएको छ । लागुऔषध अफिमको कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाबाट प्रहरीले दुई किलो ५०० ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्लाको धेरै ठाउँमा पाइने गाँजा उत्पादन, बिक्री वितरण र सेवन सबै गैरकानूनी मानिन्छ । विगत एक वर्षमा प्रहरीले पाँच पुरुष, तीन महिलालाई पक्राउ गरी उनीहरुविरुद्ध तीन मुद्दा अदालतमा दर्ता गरेकामा सबै धरौटीमा छुटेका छन् ।

नाइट्रोभेट चक्की कारोवार र सेवनको मुद्दामा प्रहरीले चार पुरुषलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले मुद्दा चलाए पनि तीन जना धरौटीमा छुटेको र एक जनाको अनुसन्धानमा भइरहेको प्रहरीले जनाएको छ । लागुऔषधको रुपमा प्रयोग हुने डाइजापाम र नुफिनसहित पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले धेरैजसो युवाले लागुऔषधको रुपमा बजारमा पाइने नाइट्रोभेट, गाँजा, यामपुल, नाइट्रोसन ट्यावलेट र सिरिञ्ज जस्ता लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । लागुऔषध कारोबारीले विद्यार्थीहरुलाई प्रयोग गर्ने र फसाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रमुख राजन गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुलले विद्यार्थीदेखि कलेजका विद्यार्थीहरुलाई यसको लतमा फसाउने गिरोह नै सक्रिय रहेको छ, हामीले त्यस्ता एउटा गिरोहलाई नियन्त्रणमा लिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लागुऔषध प्रयोगकर्ता र कारोवार गर्नेहरु वर्षेनी बढिरहेको पाइएको छ । लागुऔषध विरुद्ध जनचेतना जगाउने, यसको प्रयोगकर्ता र कारोवारीलाई पक्राउ गर्ने, मुद्दा चलाउने, कानूनी कारवाही गर्ने लगायतका कार्यहरु हुँदै आएपनि यसको कारोवार र प्रयोगकर्तामा कमी आउन नसकेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष २०७३÷७४ मा लागुऔषध प्रयोग र कारोवारमा प्रहरीले १७ मुद्दा अदालतमा पेश गरेको थियो भने आर्थिक वर्ष २०७४÷७५ मा २० मुद्दा चलाएको थियो । गत आर्थिक वर्षमा यो सङ्ख्या बढेर ३५ पुगेको छ ।

लागुऔषध प्रयोग, उत्पादन र बिक्री वितरणले आजको समाजलाई नराम्रोसँग बिथोलेको छ । विशेषगरी युवा पिँढीहरु यसबाट बढी आक्रान्त भएको देखिन्छ । विशेषगरी शैक्षिक असफलता, पारिवारिक विखण्डन, आर्थिक अभाव, साथीसङ्गीको लहलहैमा लागेर वा डिप्रेशनको कारणले लागुऔषधको प्रयोग गर्ने र बिक्री वितरणमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेले बताउनुभयो ।

दाङका छिमेकी जिल्ला रोल्पा, रुकुमतिर अफिम, चरेस र गाँजाको उत्पादन हुने हँुदा यहाँका युवामा त्यसप्रतिको चासो र प्रयोग बढेको देखिन्छ भने खुला सिमानाको कारण भारतबाट अवैध रुपमा पनि लागुऔषध नेपाल भित्रिएको देखिन्छ ।

लागुऔषधका कारण पारिवारिक सम्बन्ध र समाज नै भताभुङ्गको अवस्थामा जान लागेको बताउँदै जिल्ला प्रहरी प्रमुख पाण्डेले यसलाई नियन्त्रण गर्न सबै संयन्त्र परिचालन गरिएको छ भन्नुभयो । उहाँले भन्न्ुभयो, “लागुऔषध नियन्त्रण होइन, निषेध गर्ने गरी कार्ययोजना बनाएर अघि बढेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्