Logo
Logo

मतदाताको अन्योल : कसलाई भोट दिने ?



प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने मिति मंसिर ४ आउन डेढ साता पनि बाँकी छैन । तर, स्वतन्त्र मतदाताले अहिलेसम्म पनि कुन पार्टी वा उम्मेदवारलाई मत दिने ? भन्ने ठम्याइसकेका छैनन् । कतिपय मतदाताले त मतपत्र हातमा लिएपछि निर्णय गर्नेछन् ।

राजनीतिक दलले सत्ताको लुछाचुडीमै पाँच वर्ष खेर फाल्नु र चुनावी घोषणापत्रलाई कर्मकाण्डमै मात्र सीमित राख्नु जस्ता राजनीतिक दलले विगतमा गरेका गतिविधिले जनता अलमलमा परेका हुन् ।

२०७४ को आमनिर्वाचनमा लगभग दुईतिहाइ बहुमतका साथ नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनताले विजयी गराएका थिए । तर, राष्ट्रहितलाई सर्वोपरी मानी आम नेपाली जनताको जीवनस्तरमा सुधार हुने केही काम भएन ।

न्यायपालिका र व्यवस्थापिकामाथि कार्यपालिकाद्वारा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत अनावश्यक हस्तक्षेप गरी स्वतन्त्ररूपले काम गर्न नदिनु लगायत यावत विकृति, विसंगतिको सिर्जना गरियो ।

निर्वाचित जनप्रतिनिधि विजयपश्चात समस्या समाधानका लागि फर्केर मतदातासमक्ष गएनन् । यसले आम नेपाली जनतामा सरकार (व्यवस्थापिका)प्रति वितृष्णा उत्पन्न भयो । यसको ट्रेलर त नेपाली जनताले स्थानीय निर्वाचनमा देखाइसकेका छन् ।

ठूला भनिएका राजनीतिक दलका उम्मेदवारहरूलाई संघीय राजधानीदेखि धरान, धनगढी, बर्दिवासलगायत स्थानहरूबाट जनताले राम्रै जवाफ दिएका छन् । यस निर्वाचनमार्फत ठूला पार्टीहरूले सोच्दै नसोचेका बालेन र हर्क लगायत उदाए । यसकारण कुनै पार्टी वा उम्मेदवार २०७४ को निर्वाचन जस्तो आफू जित्ने कुरामा ढुक्क हुने परिस्थिति छैन ।

यस्तो विषम परिस्थितिमा पनि ठूला भनिएका दलहरूले सुध्रिएको कुनै संकेत मतदातासमक्ष प्रस्तुत गर्न सकेका छैनन् । यसबाट के स्पष्ट हुन्छ भने, मंसिर ४ मा हुने आमनिर्वाचनमा कुनै एक दलले सरकार बनाउन चाहिने आवश्यक प्राप्त गर्ने स्थिति छैन । र, मिलीजुली सरकारको विकल्प छैन ।

अस्थायी सरकार मुलुकको भविष्यको लागि सुखद् होइन । यस्तो परिस्थिति ल्याउन ठूला राजनीतिक पार्टी जिम्मेवार छन् । यो परिस्थितिबाट उनीहरू मुक्त हुने वा छुट पाउने अवस्था छैन ।

०००

राजनीतिक नेतृत्वमा गलत प्रवृत्ति हाबी छ । आफू राष्ट्रहित र जनहितमा काम नगर्ने ? अनि जे कुरामा पनि विदेशी हस्तक्षेप देख्ने, कोलाहल मच्चाउने ? विदेशीहरूलाई स्पेश दिएपछि उनीहरूले आफ्नो स्वार्थको लागि काम गर्छन् नै ।

काठमाडौँमा जति पनि दूतावास छन्, उनीहरूको काम नै आफ्नो देशको हितमा काम गर्ने हो । यसमा सन्तुलन त्यतिबेला मात्र हुन्छ, जब हामी आफ्नो देशको हितमा दृढतापूर्वक उभिन्छौँ ।

०००

केही दिनअघि काठमाडौं–५ का वाम–लोकतान्त्रिक गठबन्धबाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडैलले एक चुनावी सभामा व्यथा पोख्दै भने– ‘मैले अहिलेसम्म घरदैलोमा जाँदा जति पनि मतदातालाई नमस्ते गरेको छु त्यसमध्ये २० प्रतिशतले पनि मेरो नमस्ते फर्काउनु भएन । पार्टीको उम्मेदवार भन्नेबित्तिकै मुख बटार्नुभयो ।’

पौडेलले मतदाताको मनस्थितिको धरातलीय यथार्थ प्रस्तुत गरेका हुन् । पौडेल बेदाग र आशलाग्दा युवा उम्मेदवार हुन् । उनका लागि पनि मतदातामा खासै आकर्षण नहुनु चिन्ताजनक कुरा हो । यसको मुलकारण, कांग्रेस नेतृत्वले राष्ट्रहित र जनहितमा जनताले देख्ने र अनुभूति गर्ने गरी काम नगर्नु हो ।

निर्वाचनका लागि राजनीतिक दलले जारी गरेका घोषणापत्र कागजको खोष्टाबाहेक केही होइन । किनभने विगतमा चुनावी घोषणापत्रअनुसार काम नै गरेका छैनन् । त्यसैले, राजनीतिक दल र दलका नेतृत्वले आम मतदाताको विश्वास गुमाएका हुन् ।

०००

संसदीय व्यवस्थाको जनक मानिने बेलायतमा हालै भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक प्रधानमन्त्री भए । ‘बेलायतलाई आर्थिक संकटबाट पार लगाउन सुनकलाई प्रधानमन्त्री बनाइएको’ भनिन्छ ।

विश्व राजनीतिको यस्तो परिवर्तित माहोलमा पनि नेपालमा भने ७० कटेका वृद्धहरू ‘सातौं पटक प्रधानमन्त्री बन्छु’ भन्दै अड्डी लिएर बसेका छन् । मुलुकमा साँच्चै परिवर्तन ल्याउने हो भने प्रदीप पौडैलजस्ता युवा नेतालाई प्रधानमन्त्री बन्ने अवसर दिनुपर्छ ।

नेपाली जनता पुराना राजनीतिक नेतृत्वबाट आजित भइसकेका छन् । के यस्तो आँट ठूला भनिएका पार्टीहरूका नेतृत्वले गर्छन् ? अवश्य पनि गर्दैनन् । किनभने, उनीहरूलाई निहित स्वार्थका लागि आर्यघाट नपुगुन्जेल प्रधानमन्त्री भइनैरहनु छ । यस्तो परिस्थितिमा उनीहरूप्रति जनतामा वितृष्णा जाग्नु स्वाभाविक हो ।

०००

राजनीति भनेको जनसेवा हो । दुर्भाग्य, नेपाली राजनीतिमा यो व्यवहारमा आउन सकेन । त्यसैले यो परिस्थिति भोगिरहेका छौँ ।

राणाकाल र राजतन्त्रमा सत्तामा बस्नेहरूले जसरी जनतामाथि शासन गर्दथे, आज पनि सोही शासनको झल्को आउँछ । त्यो शासक र शासितको परिभाषा यत्रो राजनीतिक परिवर्तनपश्चात पनि परिवर्तन भएको जनताले अनुभूत गर्न सकेका छैनन् ।

ठूला भनिने राजनीतिक पार्टीहरूले पुरातन सोचभन्दा माथि उठेर राष्ट्रहित र जनहितमा जनताले पत्याउने गरी पार्टी संरचना परिवर्तन गरेर युवा अनुहारलाई देश हाँक्ने अवसर दिने घोषणा गरे उनीहरूले मतदाताको विश्वास आर्जन गर्न सक्ने सम्भावना छ । तर यो नैतिक साहस उनीहरूले देखाउन सक्लान् ?

नत्र त भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरिनै रहेका छन् !

प्रतिक्रिया दिनुहोस्