Logo
Logo

प्रथम मे दिवस र जीवनको नयाँ मोड



बालाजु औद्योगिक क्षेत्रमा त्यो एउटा अत्यन्तै उत्साहपूर्ण दिन थियो । सम्भवतः पहिलो पटक मजदुर हकहितको गीत माइकबाटै गुञ्जिरहेको थियो ।

मजदूरहरू सक्रियतापूर्वक आ–आफ्नो जिम्मेवारी लिएर अन्तर्राष्ट्रिय मजदूर दिवस मनाउन लागेका थिए । त्यो बेलासम्ममा मजदूरहरूले आफ्नो एकताको महत्व बुझ्न भ्याइसकेको मात्र होइन, एकता बलियै भइसकेको थियो ।

देखिने वा नदेखिने गरी मजदूरहरूको मानसिकतामा ठूलो परिवर्तन आइसकेको थियो । मजदुरहरूको एउटा औपचारिक हैसियतकै संगठन पनि खुला रूपमै बनिसकेको थियो । र, त्यतिबेला बडो उत्साहका साथ पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक दिवस बालाजुमा मनाइँदै थियो । मजदुर संगठनको ‘ठूलो रातो झण्डा’ मजदुर नेताहरूबाटै फहराइएको थियो । झण्डा हावामा फरफराएको त्यो दृश्य भिन्दै थियो ।

मजदुरहरूको आँखाको चमक देख्दा र मजदूरको जीत प्रत्यक्ष अनुभव गर्न पाउँदा मेरो आँखा भिजेको थियो– एउटा ठूलो सपना साकार भएको बेला जस्तो । कमलबहादुर लामा, लक्ष्मीबहादुर कारञ्जित, नृपेन्द्र मास्के, पूर्णबहादूरसँगै अन्य धेरै पुरुष र लडाकु महिलाहरू पनि हँसिलो मुद्रामा सक्रियपूर्वक लागिरहेका थिए, कति राम्रो क्षण थियो त्यो ।

मजदुर आफै लडेर आफ्नो हकहित प्राप्त भइसकेपछिको यो अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन ‘मजदुर एकता जिन्दावाद !’ ठूलो अक्षरमा लेखेर मञ्च वरिपरी खुला रुपमा टाँग्न पाउँदा मजदुरको निम्ति एउटा ठूलो पर्व नै भएको थियो ।

त्यो पर्वमा बालाजुको मात्रै हैन, उपत्यकाकै मात्र पनि हैन, देशका अन्य मजदुरहरूको समेत सहभागिता थियो । त्यो दिन पुलिसहरूले केही गर्न सकेनन् । हेरेर मात्र बसे ।

३६ सालको अन्त्यतिरको समय थियो त्यो । ३६ सालको जनआन्दोलनले त्रस्त भइसकेका पञ्चायती शासकहरूले केही गर्नसक्ने अवस्था रहेन । राजाबाट जनमत संग्रहको घोषणा भइसकेको थियो ।

मञ्चबाट मजदुरहरूले ‘उठ जाग भोका नाङ्गा, जाग संसारका दुःखी सुन्दर संसार रचना गर्न, न्यायको लागि गर्जी…’

मञ्चमा उभिएर आफ्ना साथीले यो गीत गाइरहँदा दर्शक पनि उत्साहित थिए । मजदुर नेताहरूले खुला रुपमा अझै फराकिलो बाटोको सपना देख्दै भाषण गरेको यो सम्भवतः पहिलो चोटी नै होला । त्यसैले यो ऐतिहासिक दिवस थियो !

३६ सालको आन्दोलन सफल बन्नुको श्रेय निश्चय नै मजदुरहरूलाई मात्र जाँदैन । त्यो जनउभारमा विद्यार्थी, शिक्षक र नागरिकका सबै तप्काको सहभागिता र त्याग इतिहासमा कहिल्यै मेटिने छैन ।

म मजदुर भएपछि, मजदुर आन्दोलनसँगै २०३६ सालको जनआन्दोलनमा समेत त्यसरी सहभागी हुन पाउनु मेरो निम्ति ठूलो सन्तोषको कुरा थियो । तिनै आन्दोलनहरूले हामीलाई उबेलाको नेकपा (माले) सम्म पुर्यायो ।

अष्टलक्ष्मी शाक्य, पूर्णशोभा चित्रकार, मीरा ध्वंजुलगायत अन्य धेरै साथीहरू मालेमा मिस्सिदै गयौं । त्यसैबेला खुलेको ढोकाबाट नै बालाजु औद्योगिक क्षेत्र लगायतका धेरै मजदुर पनि एमालेमा प्रवेश गरे । हाम्रो जीवनले नै ठूलो मोड लिइसकेको बेला थियो त्यो ।

हामी मालेमा सामेल हुँदा कोअर्डिनेशन कमिटीबाट मालेसम्म पुगेको इतिहास बोक्ने अहिलेका पाका नेताहरू पनि अझै युवा उमेरकै थिए र तीमध्ये अधिकांश अविवाहित पनि । संगठन बनाउँदै अघि बढेका नेताहरू कोही पूर्ण भूमिगत थिए भने कोही अर्धभूमिगत रूपमा क्रियाशील थिए ।

पहिलो पटक मालेको नेताहरूसँग भेट्दाका रोचक प्रसंगहरू पनि सम्झन्छु– महासचिव थिए सीपी मैनाली । तर, त्यो बेला सीपी भन्ने थाहा थिएन । सबैका भूमिगत नाम थिए । मेरो समेत नाम फेरिइसकेको थियो ।

अन्य मजदुरको जिम्मा लिने नेता भनेर चिनाएको कामरेडले भने आफ्नो भूमिगत नाम पनि नभनेर आफूलाई अझै महान र गर्वित भएर भने– म ‘बटनपुश !’ ‘त्यो भनेको के नि ?’ भनेर सोध्दा उनले भने ‘यहाँबाट बटनपुश.. गरेपछि देशभरिकै मजदुरहरू आन्दोलित हुन्छ’ यसरी उनले गफ दिँदा ‘ए.. !’ भनेर हाँस्न त हाँसे, तर त्योबेलादेखि नै उनीप्रतिको धारणा भने त्यति राम्रो हुन सकेन ।

लाग्यो– ‘मजदुर आन्दोलनमा एकपटक पनि देखा नपरेका मान्छेको यो फूर्ति !’ पछिसम्म पनि बरु बालाजुमै मजदुरहरूसँग भेटघाट गर्न माधवकुमार नेपाल आफै पनि पुगेको याद छ मलाई ।

रातभरी जस्तो मजदुरहरू बीचको कुराकानीमा व्यस्त हुँदा मलाई निन्द्रा लागिसक्दा पनि मिटिङ नसकिएको कुरा पनि याद छ । पछिसम्म पनि ‘बटनपुश कामरेड’सँग भने अत्यन्त आवश्यक पर्दा बाहेक मजदुर क्षेत्रमा आफै सक्रियतापूर्वक पुगेको मलाई त्यति याद छैन ।

एकपटक देशभरका मजदुर कार्यकर्ताको भूमिगत भेला भएको याद छ, त्यो भेला दुईदिनसम्म नै चल्यो …। ठूलै आन्दोलनको निर्णय पनि भयो । नयाँसडकनिरकै डेरामा बस्ने एकजना कार्यकर्ताको एउटा लामो खालको कोठामा भएको थियो त्यो भेला ।

त्यतिबेला को–को थिए सबैका नाम र मान्छेको अनुहारै पनि बिर्सिसकेकी छु । तर, यादै भएको कुरा भने त्यो बेला नेताको रुपमा उनै ‘बटनपुश’ भने थिए । देशभरीका मजदुर नेताहरूमा महिलाको नाममा म एक्लै नै थिएँ ।

मलाई मात्र एउटा छुट्टै खाट थियो राती सुत्नलाई, अरु सबै लस्करै तल जेजे थियो त्यही ओछ्याएर सुतेका थिए । यो पनि बिर्सनै नसक्ने क्षण थियो मेरो निम्ति । त्यो बेला भने ‘बटनपुश कामरेड’को नेतृत्वमा भएकोले त्यही खालको कमाण्डिङ भूमिका थियो । मेरो निम्ति माले भन्नु आफै नै नयाँ संगठन सबै नयाँ अनुहारहरू थिए ।

म अब पहिले झैं स्वतन्त्र र आफ्नै ढङ्गले स्वविवेकले निर्णय गर्न सक्ने अवस्थामा रहिन । बहुमतको कदर गर्नुपर्ने, पार्टीको निर्णय अनुसार चल्नुपर्ने अवस्थामा परिसकेकी थिएँ । त्यतिनै बेलातिर मेरी अनन्य मित्र अष्टलक्ष्मीलाई घरै छोडनुपर्ने बाध्यात्मक अवस्था आइपर्यो ।

धेरैले सुनिसकेका उनका कथा म यहाँ लेख्दिन । कसरी उनी भूमिगत हुनुपर्यो, पहिलो पटक पाटनमा सुशील सरको घरमा र पछि मजदुर मित्रहरूको घरमा पालैपिलो गरी घर सार्दै कहिले रानीबन त कहिले गोलढुंगा… आदि ठाउँमा सार्दै, लुक्दै अनि मात्र पिस्करको गाउँमा नेता अमृतकुमार बोहरा र माधव पौडेलको साथ पुगिन् । त्यो अर्कै कथा । यहाँ उनले लेख्न नभ्याएका कुरामा मजदुर र मसँग सम्बन्धित मात्र कुरा छन् । कुनै बेला ती कुरा पनि बाहिर आउलान् । अहिले यहाँ यति मात्रै सान्दर्भिक हुन्छ– साथी भूमिगत भइन् । अरुको आँखामा हराइन् …।

अनेकका अनेक शंका उपशंका आफ्नै ठाउँमा छ । त्यसपछिका दिनहरू मेरा निम्ति अझै बढि चुनौतिपूर्ण हुँदै गयो । साथी हराएको कुरा ‘मलाई थाहा छैन’ भनेर पार लाग्ने कुरा पनि थिएन । मेरो जिम्मेवारी पनि थपिंदै थियो, जीवन त अर्कै मोडमा पुगिसकेको अनुभव हुँदै गयो ।

क्रमस…

प्रतिक्रिया दिनुहोस्