Logo
Logo

काबुलमा मारिएका नेपालीको शव ल्याउन पहल


- दृष्टि न्युज/संवाददाता


चितवन, २२ भदौं । अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पहल गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो । मृतककी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रबार अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
यस विषयमा दाहालले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहेको उनले जानकारी दिइन् । उनको टेलिफोन लगत्तै शनिबार उनीहरूको मृत्युको प्रमाणपत्र आएको र सोमवार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताइन् ।
ग्रीन भिलेज क्याम्प विदेशी बस्ने भवन हो । ‘गार्दा वल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नवौं दिनमा थापाको आत्मघाती आतंकवादीको हमलामा परि मृत्यु भएको थियो । विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताइन् । मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्