Logo
Logo

पर्यटक यातायात व्यवसायलाई मर्यादित बनाउन नीतिगत सुधार गरिन्छ : पर्यटनमन्त्री भट्टराई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ भदौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताएका छन् ।
नेपाल पर्यटक यातायात व्यवसायी संघको १६औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक यातायात क्षेत्रलाई नीतिगत व्यवस्था, लगानीको सुधार राज्यको दायित्व हो भन्दै त्यसका लागि आफ्नो तर्फबाट प्रभावकारी पहल गरिने बताएका हुन् ।
उनले पर्यटन सम्भावनायुक्त व्यापक क्षेत्र भएको र आजको पर्यटनको दायरा फराकिलो बनिरहेको परिप्रेक्षमा पाहुनालाई सुरक्षित गन्तव्यमा पु¥याउन पर्यटक यातायात व्यवसायीले निर्वाह गरेको भूमिकाको प्रसंशा पनि गरे । पर्यटक यातायात व्यवसायीले उठाएका समय सान्दर्भिक समस्यालाई अन्तर मन्त्रालयबीच समन्वय तथा मन्त्रिपरिषद्बाट निर्णय गराएर भए पनि समाधानका निम्ति पहल गरिने मन्त्री भट्टराईको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहनुभएका पर्यटनमन्त्री भट्टराईले प्रतिपक्षी दलले सरकारको आलोचना मात्र हैन आर्थिक विकास र समृद्धिको यात्रामा सकारात्मक सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । मन्त्री भट्टराईले सरकार गठन भएको १८ महीनाको अवधिमार समृद्धिको आधार खडा भएको दाबी गर्दै पूर्ण परिणामका लागि पाँच वर्ष कुर्नुपर्ने बताए ।
उनले भने, ‘अर्को चुनावमा जनतासामु वाचा लिएर जाँदैनौँ, पाँच वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जान्छौँ । अहिले सरकारको १८ महीनाको अवधिमै राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति हासिल गरेका छन् सात अंकको आर्थिक वृद्धि भएको छ, अन्य क्षेत्रमा सकारात्मक परिवर्तनका सूचक देखिएका छन् बरु वादविवादभन्दा पनि परिवर्तित व्यवस्थाको संस्थागत र समृद्धिको यात्रालाई सहकार्यका साथ अघि बढाउनु अपरिहार्य छ ।’
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पर्यटक यातायात व्यवसायीको महत्वपूर्ण भूमिका हुने भन्दै जिम्मेवार र मर्यादित भएर लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्