Logo
Logo

राजनीतिक अस्थिरताको खतरा



फरक–फरक विचारधारा र पृष्ठभूमिका राजनीतिक दल देशमा संकट आइपर्दा एक हुनु भनेको सामान्य घटना होइन, यो विश्वकै सर्वोत्कृष्ट लोकतान्त्रिक अभ्यास हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा वाम–लोकतान्त्रिक दलहरुको महत्वपूर्ण भूमिका रहेको छ । लोकतन्त्र, संविधान संकटमा पर्दा यी दुई विपरीत ध्रुवका राजनीतिक दलहरु एक ठाउँमा उभिनु भनेको उच्च राजनीतिक संस्कार पनि हो । यो संस्कारलाई संस्कृतिमा बदल्न सकियो भने मात्र समृद्ध लोकतन्त्रको परिकल्पना गर्न सकिन्छ ।

एउटै दलभित्र गुट, उपगुट हुनु स्वभाविककै हो । तर, ती दलभित्रका गुट, उपुगटलाई समेट्दै पार्टीलाई बलियो बनाएर देशको हितमा समर्पित हुनु कुशल नेतृत्वको पहिचान हो । कुशल नेतृत्वबिना न पार्टी बलियो हुन सक्छ, न त त्यसले देशलाई सही मार्गमा डोहोर्याउन सक्छ ।

२००७ सालको क्रान्तिदेखि २०६२–६३ सालको जनआन्दोलनसम्म आइपुग्दा धेरै राजनीतिक परिवर्तन भए । यी परिवर्तनहरुको नेतृत्व पनि वाम–लोकतान्त्रिक दलहरुले गरे । तर, राजनीतिक परिवर्तनमा सफल भूमिका खेलेका प्रमुख राजनीतिक दलका नेताहरु देशलाई नेतृत्व दिन असफल भएको कारण युवा जमातले यसपटक विद्रोही भएर वैकल्पिक बाटो रोजेका छन् ।

पाँचदलीय गठबन्धन आगामी पाँच वर्षसम्म कायम हुनुपर्छ । जनादेशअनुरुप शक्ति सन्तुलनको आधारमा पाँच वर्षका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख बाँडफाँट गर्नुपर्छ र मुलुकलाई राजनीतिक स्थिरता प्रदान गर्दै विकास र समृद्धितर्फ लम्कनु पर्छ ।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नयाँ पार्टीको उदय र विजय त्यसैको परिणाम हो । यसबाट कांग्रेस र कम्युनिष्ट पार्टीहरुले शिक्षा लिँदै युवा पुस्तालाई राजनीतिमा महत्वपूर्ण जिम्मेवारी सुम्पनु पर्छ भन्ने सन्देश पनि हो । पुष्पलाल र वीपी कोइरालाले पनि युवावस्तामै पार्टी स्थापना गरेकोले अब हरेक प्रमुख पार्टीले नेतृत्व हस्तान्तरणको बाटो रोज्नुको विकल्प छैन ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनले सत्तारुढ पाँचदलीय गठबन्धनलाई नयाँ सरकार गठन गर्ने जनादेश दिएको छ । पाँचदलीय गठबन्धनका नेताहरुले पनि राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि यस गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका थिए । तर, निर्वाचन परिणाम आइसकेपछि पाँचदलीय गठबन्धनका नेताहरुले प्रतिबद्धताविपरीत खुट्टा उचाल्न थालेका छन् । यो राम्रो कुरा होइन ।

सत्ताभन्दा ठूलो कुरा देश र संविधान हो । त्यसलाई जोगाउन सकिएन भने देशमा फेरि पनि राजनीतिक संकट उत्पन्न हुनसक्छ । त्यो परिस्थितिबाट देशलाई जोगाउँदै अगाडि बढ्न पनि अहिले पाँचदलीय गठबन्धनको विकल्प खोजिनु हुन्न । यदि कसैले विकल्प खोज्छ भने त्यो दल र त्यसका नेता ढिलोचाँडो भड्खालोमा जाकिने पक्का छ ।

संविधानसभाबाट निर्मित नेपालको संविधानप्रति हिजो ज–जसको विमति थियो, त्यो आज पनि छ । अझ भन्ने हो भने संविधानप्रति असन्तुष्ट देशी–विदेशी शक्तिहरु अझै यो संविधान भत्काउन आतुर छन् । त्यसमाथि प्रमुख प्रतिपक्षमा बस्ने जनादेश पाएको नेकपा एमालेले प्रतिगामी, पुनर्उत्थानवादी तत्वसँग निर्वाचनमा सहकार्य गरेर प्रतिनिधिसभामा बलियो स्थान बनाएको छ ।

यो परिणाम नै लोकतन्त्र र संविधानमाथिको खतरा हो । यो तत्व प्रमुख राजनीतिक दलहरुबीच फाटो ल्याउने र राजनीतिक अस्थिरतामा तीर हान्ने दाउ खोजिरहेको छ । यसलाई मलजल गर्ने गल्ती पाँचदलीय गठबन्धनका नेताहरुले भुलेर पनि गर्नु हुन्न ।

पाँचदलीय गठबन्धन आगामी पाँच वर्षसम्म कायम हुनुपर्छ । जनताको जनादेशअनुरुप शक्ति सन्तुलनको आधारमा पाँच वर्षका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख बाँडफाँट गर्नुपर्छ र मुलुकलाई राजनीतिक स्थिरता प्रदान गर्दै विकास र समृद्धितर्फ लम्कनु पर्छ ।

यसपटकको निर्वाचन परिणामले दिएको जनादेश पनि यही नै हो । विगतको गल्ती, कमजोरी सच्याउँदै पाँचदलीय गठबन्धन नयाँ ढंगले अगाडि बढ्ला भन्ने आशा गरौं ।

प्रतिक्रिया दिनुहोस्