Logo
Logo

राष्ट्रिय सहमतिको सरकार गठन गरौं



प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम आइसकेको छ । पुराना राजनीतिक दल कांग्रेस, एमाले, माओवादी, जसपा र दलको मत भार खस्केको छ ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले अनपेक्षित उपस्थिति जनाएका छन् । राजावादी दल राप्रपाले पालुवा फेर्ने बाटो समातेको छ । र यसपटक यीनै साना दल सरकार निर्माणमा निर्णायक हुनेछन् ।

यस पटक नेपाली जनताले कुनै एक दललाई सरकार बनाउने जनादेश दिएका छैनन् । वर्तमान सत्तारूढ गठबन्धनलाई समेत सरकार बनाउन पुग्दो मत दिएनन् । सत्ता गठबन्धनलाई पनि सरकार गठन गर्न साना दलको समर्थन आवश्यक छ ।

तराई मधेसमा उपेन्द्र यादव, राजेन्द्र महतो आदिलाई पछार्दै डा. सीके राउत नयाँ शक्तिका रूपमा उदाए । उनको जनमत पार्टीले एकैचोटी राष्ट्रिय पार्टीको दर्जा प्राप्त गर्यो । यस्तै रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा ३ स्थान प्राप्त गरेको छ । यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको ७ स्थान प्राप्त गरी चौथौ ठूलो राष्ट्रिय दलको रूपमा प्रतिनिधिसभामा उदाएको छ ।

नयाँ शक्तिहरू रास्वपा, जनमत, नागरिक उन्मुक्ति र राप्रपा समेतको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन गर्दै देशलाई स्थिरतातर्फ लैजानु पर्छ । सरकार गठनमा नयाँ शक्तिहरूलाई उपेक्षा गरिनु हुँदैन । अर्को यथार्थ, नयाँय शक्तिहरुको समर्थनबिना सरकार गठन सम्भव छैन ।

रास्वपाले त संघीय राजधानी काठमाडौंमा प्रयासमै ४ स्थान प्राप्त गरी आश्चर्यचकित पारेको छ । समानुतापातिकतर्फ यस पार्टीले देशै भरबाट मत प्राप्त गरी मुलुकभर आफ्नो उपस्थिति जमाएको छ ।

यस दलका विजयी उम्मेदवारमध्ये अधिकांश युवा छन् । उनीहरूले पश्चिमा मुलुकहरूबाट ज्ञान र सीप प्राप्त गरेका छन् । यस दलबाट काठमाडौँबाट निर्वाचित सोबिता गौतम त मात्र २७ वर्षका युवा हुन् ।

राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रत्यक्षतर्फ ७ स्थान नै प्राप्त गरी राष्ट्रिय पार्टीको दर्जा प्राप्त गरेको छ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको छ ।

यस आमनिर्वाचनमा नेपाली जनताले स्थापित राजनीतिक दलहरूलाई सरकार बनाउने स्पष्ट बहुमत नदिएर के स्पष्ट सन्देश दिएका छन् भने हामी तिमीहरूको नेतृत्व र क्रियाकलापबाट सन्तुष्ट छैनौँ, तिमीहरू सुध्र ! मुलुक र जनताको हितका लागि अझ बढी काम गर ! हामी तिमीहरूको दास होइनौँ ! गरेनौँ भने अर्को आमचुनावमा यो भन्दा खराब परिणामको लागि तयार भएर बस ! अब हामी धेरै सचेत भइसकेका छौँ !

यस आम निर्वाचनमा नेपाली जनताले दिएको अभिमतको कदर गर्दै स्थापित दलका नेतृत्व वर्गले नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्नु बुद्धिमानीको हुने छ । देउवा, प्रचण्ड, नेपाल आदिलाई मुलुक पुनः हाँक्ने सन्देश यो मत परिणामले दिएको छैन । किनभने, उनीहरूको लोकप्रिय मतमा ह्रास आएको छ ।

तसर्थ जनमतको कदर गर्दै सत्ताको लुछाचुडीमा नअल्झिइ आफू सत्ताको रेसमा नलागी नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्नु उनीहरूको हितमा हुनेछ ।

त्यसै पनि नेपाली जनताले यसपालिको प्रतिनिधिसभामा जुन अभिमत व्यक्त गरेका छन् त्यसको आधारमा बहुमतको सरकार गठन गर्दा अनेक चुनौतीहरूको सामना गर्नुपर्ने छ । जोडजाड गरेर सरकार बनाउने लायक बहुमत पुगिहाल्यो भने पनि त्यसको स्थिरतामाथि कार्यकालभरि नै प्रश्नचिन्ह उठिनैरहने छ ।

अहिलेसम्मको परिस्थिति हेर्दा सरकारको गठन झिनो बहुमतमा हुने छ । जुन मुलुकको हितका लागि उपयुक्त होइन ।

तसर्थ, सरकार गठन गर्दा यसपालिको प्रतिनिधिसभामा उदाएका नयाँ शक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेतको सहभागितामा राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउनु पर्दछ । सरकार गठनमा नयाँ शक्तिहरूलाई उपेक्षा गरिनु हुँदैन न त उनीहरूको समर्थनबिना सरकार निर्माण नै सम्भव छ ।

त्यसै पनि यसपालि सरकार गठन त्यति सजिलै हुने छैन । किनभने, हाम्रो वर्तमान संविधानअनुसार एकचोटि प्रधामन्त्रीले संसद्मा विश्वासको मत प्राप्त गरिसकेपछि, सामान्य अवस्थामा त्यो प्रधामन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन । तसर्थ, त्यति सजिलै प्रधानमन्त्रीको नामको लागि खिचडी सरकारमा सहमति जुटाउनु निकै गाह्रो काम हुने छ ।

हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ यसपालिको प्रतिनिधिसभा गठनको सुन्दर पक्ष के हो भने नेपाली समाजको हरेक तप्का र वर्गको प्रतिनिधिसभामा प्रतिनिधित्व भएको छ । जसले गर्दा उनीहरूले जोडदार रूपमा आफ्नो पक्ष प्रतिनिधिसभामा राख्न पाउने छन् । र, मुलुक र आफ्नो पक्षमा नीति–निर्माण गर्न सक्ने छन् ।

जस्तै, तराई–मधेसमा विखण्डनवादी नारा उचालेर मूलधारको राजनीतिमा आएका डा. सिके राउत, थरुहट आन्दोलनबाट उदाएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, आजको भोलि नै मुलुकमा सुशासन गरिहालौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी र कट्टर राजावादी पार्टी ।

अर्को सुन्दर पक्ष भनेको प्रतिनिधिसभामा उल्लेख्य संख्यामा शिक्षित र युवाहरूको प्रतिनिधित्व भएको छ । यसले गर्दा प्रतिनिधिसभा सजीव भएको छ भने जोडदार र सार्थक बहस हुने आशा पलाएको छ ।

आशा गरौँ प्रतिनिधिसभामा नेपाली जनताद्वारा अनुमोदित भएर आएका सांसदहरूले मुलुक र जनताको हितलाई सर्वोपरि राखी मुलुकलाई समृद्ध बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्