Logo
Logo

प्रदेश नं २ : डेङ्गुले एकको मृत्यु, ७३ संक्रमित


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, २७ भदौं । प्रदेश नं २ मा डेँगुुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना प्रभावित भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको संक्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु संक्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।
प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात÷सात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेङ्गु संक्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।
हिजो बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको संक्रमण देखिएको थियो भने दिउँसो सो संखया २५ र अबेर रातिसम्म ७३ पुगेको हो । प्रदेशका सबै जिल्लामा डेङ्गुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् । संक्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।
होत्तरीको सुदूरउत्तरी क्षेत्रमा डेङ्गु भेटिएको छ । अहिलेसम्म बर्दिवास र यसैसँग सीमा जोडिएको औरही नगरपालिकामा डेङ्गुको सङ्क्रमण तीन जनामा भेटिएको हो । दुई वर्ष पहिले २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेङ्गु आतङ्क नै छाएको थियो । त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेङ्गु प्रभावित भएका थिए ।

यसैबीच बर्दिवास नगरपालिकाले डेङ्गुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै शुरु गरेको छ । नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक संघसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । बर्दिवास नगरपालिकाले वडा नं १ का अध्यक्ष चुडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ । डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि पूmल पार्ने र वरपरका झाडीमा फैलनसक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिवास अस्पतालका चिकित्सकले अपिल गरेका छन् । घर वरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्