Logo
Logo

महोत्तरी कारागार : ‘१३५ राख्ने ठाउँमा ५०० राख्नु परेपछि हालत के होला ?’


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, २७ भदौं । महोत्तरी कारागारमा रहेका कैदीबन्दीको संख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । पछिल्ला पाँच वर्षयता ३५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको संख्या अहिले ५०० पुगेको हो । कारागारको १६३ वर्षको इतिहासमा कैदीबन्दीको यो संख्या अहिलेसम्मकै सर्वाधिक भएको कारागार प्रशासनले जनाएको छ ।
जम्मा १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुष कक्षमा ४५१ र महिला कक्षमा चार आश्रित बालबालिकासहित ४९ कैदीबन्दी छन् । यसअघि विसं २०३५/३६, २०४६/४७ र २०६२/६३ को ऐतिहासिक आन्दोलनमा व्यापक राजबन्दी राखिएको बाहिरी चर्चा सुनिए पनि त्यसताका ३०० कैदीबन्दीको सङ्ख्या नबढेको कारागार अभिलेखले देखाएको छ । तर, अहिले कुनै राजनीतिक वा सामाजिक उथलपुथल नभएको सामान्य अवस्थामै कैदीबन्दीको संख्या ५०० पुगेको हो । क्षमताभन्दा झण्डै चौबर बढी संख्याका कैदीबन्दी राख्नु पर्दा सुत्ने, बस्ने, खाना पकाउने र सामान्य व्यायाम गर्ने ठाउँको व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेकोे कारागार प्रमुख कन्हैयाकुमार मिश्रले बताए ।
उनको प्रश्न थियो, ‘अब भन्नुस्, १३५ राख्ने ठाउँमा ५०० राख्नु परेपछि के हालत होला । ?’ ‘सधैँ कोलाहल नै हुन्छ’, कारागार प्रमुख मिश्रले भने, ‘विगतमा महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार भए पनि पछिल्लो समयमा सर्लाही जिल्लाका न्यायिक कार्यालयले पनि कैदीबन्दी यहीँ पठाउँदा सङ्ख्या निकै बढेको छ ।” कारागारमा सबैभन्दा बढी कैदीबन्दी धनुषा जिल्लाका छन् ।

कारागारमा थुनुवाको संख्या ६५ प्रतिशतभन्दा माथि छ । समयमै मुद्दा छिनोफानो हुन नसक्दा थुनुवाको सङ्ख्या बढेको कारागार प्रशासनको ठम्याइ छ । दिनहुँ कारागारमा थपिने थुनुवा नै हुने गरेका छन् । कैदी त कारागारमै छँदा मुद्दा फैसला भएका वा देवानी (लेनदेनसहित) मुद्दाका केहीमात्र आउने गरेका कारागारका सूचना अधिकारी मकसुधन महासेठको भनाइ छ ।
फौजदारी मुद्दाका कैदी धेरैजसो पहिलेदेखि नै पुर्पक्ष थुनामै रहेका हुन्छन्, फैसला भएपछि कैदी बन्ने हुन्, सूचना अधिकारी महासेठले भने, ‘अन्य कारागारबाट सरुवा भई आउने र देवानी मुद्दाका मात्र केही कैदी बाहिरबाट आउँछन् ।’ न्यायिक निकायमा मुद्दा चाँडै किनारा लाग्नसके थुनुवाको संख्या घट्ने उहाँको बुझाइ छ ।
कारागारमा कैदीबन्दीको चापले बस्न, सुत्नसँगै खानपिन र दैनिक नित्यकर्म ठिक समयमा हुन नसक्दा बिरामी हुने क्रम बढेको छ । जीउभरि खटिरा आउने, जीउ चिलाउने र लुतो आपूmहरुको (कारागारका कैदीबन्दीको) साझा रोग नै बनेको पुरुष कक्षका एक कैदीले बताए । ‘न राम्ररी सुत्ने ठाउँ छ हजुर, न ठिक समयमा दिसा पिसाव र न्वाइध्वाइ गर्न पाइन्छ’, ती कैदीले बिरक्तिदै भने, ‘नापेको चार हातमा गुडुल्किएर रात काट्नुपर्छ, रातभरि ऐयाआथुको कोलाहल हुन्छ, कतिखेर निदाउनु ?’ । छालाको समस्याबाहेक श्वासप्रश्वास (बोलीचालीमा दम्मा) र खोकी पनि कारागारभित्रको आम स्वास्थ्य समस्या रहेको कारागारका स्वास्थ्यकर्मीे नै स्वीकार गर्छन् । भर्खरै केही दिन पहिले मात्र भाइरल ज्वरोले १०० भन्दा बढी कैदीबन्दी बिरामी भएका थिए ।

कारागारमा ठाउँको अभावसँगै सीमित शौचालय र धारामात्र हुँँदा दिसापिसाप गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने एवं सुत्न बस्न नै ठाउँ नपाइँदा आफूहरुलाई निकै गाह्रो भइरहेको कैदीबन्दीको गुनासो छ । नियमित सरसफाइ गर्न नपाइएर नापेर दिएको चार हात जमीन (लम्बाइ) मा खाँदिएर बस्न सुत्न पर्दा निकै सकस परेको आम कैदीबन्दी बताउँछन् । श्वासप्रश्वास, खोकी, निमोनिया र चर्मरोगका बिरामीको उपचार राम्रो नहुँदा आपूmहरुलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको नाम बताउन नचाहने पुरुषकक्षका अर्का एक थुनुवाले टिप्पणी गरे ।

कारागारमा कैदी÷थुनुवाका लागि जाडो र गर्मी मौसममा गरी दुईपटक मौसमअनुसारको लुगा दिइने कानूनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदीबन्दीको भनाइ छ ।
कारागार प्रमुख मिश्रले पनि कैदीबन्दीको यो गुनासो स्वीकार गरेका छन् । ‘कारागारमा दिनहुँ कैदीबन्दीचाहिँ आइरहन्छन्’, प्रमुख मिश्रले भने, ‘तर, कैदीबन्दी थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्च भने ठिक समयमा कहिल्यै आउँदैन, कैदीबन्दीको कोपभाजनमा कारागार प्रशासन पर्छ ।’
कारागारको महिलाकक्षमा एक÷एक धारा र शौचालय मात्र छ । यस कक्षका ४९ ले पालो मिलाएर दिसा–पिसाव र न्वाइध्वाइ गर्नुपर्छ । त्यसैगरी पुरुष कक्षमा आठ शौचालय र धारा भए पनि सबै सधैँ प्रयोगमा हुँदैनन् । दिसापिसाव गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने पुरुष कक्षका एक पाका कैदीले गुनासो गरेका छन् ।
‘के गर्नु हजुर…! नुहाउन नपा’को कति दिन भइसक्यो’ करीब ६० वर्ष उमेरका ती कैदीले आफ्नो लुङ्गी उचाल्दै घाउ÷खटिरा देखाउँदै भने, ‘आफैँले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुनेभो ।’
कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीबन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँपटक आग्रह गरिए पनि थपिने मात्र गरेको कारागार प्रशासनले जनाएको छ ।

विसं १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार त्यसयता मर्मतसम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ । अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेन्टको टुक्रा उप्केर झर्दा किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले समेत सताउने गरेको आम कैदीबन्दी बताउँछन् ।
सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा सामान्य वर्षामै कैदीबन्दीको बिचल्ली हुने गरेको छ । गत असार मसान्तताकाको बाढी डुबानले १५ दिनसम्म उभिएरै दिन काट्नुपरेको कैदीबन्दी सम्झन्छन् । कारागारमा नगरभरिको सोहोरिएर आएको हिलो दुर्ग्न्धित फोहर १५ दिनसम्म नसुक्दा सातु, चाउचाउ र भुजाजस्ता तयारी खानेकुरा नै खाएर बिताइएको कैदीबन्दीको भनाइ छ । प्रत्येक वर्ष बर्खाकालमा यस्तो बिजोग काट्नु परेपनि कारागार परिसरमा थुप्रिने नगरको फोहर निकासको स्थायी समुचित व्यवस्था भने भएको छैन ।
सामान्यतया कारागारलाई सुधारगृह भनिने गरिए पनि महोत्तरी कारागार भने यातनागृह बनेको मानअधिकारकर्मी टिप्पणी गर्छन् । कानूनअनुसार थुना वा कैद बस्ने कुरा स्वभाविक भए पनि यहाँ ल्याइसकेपछि मानवोचित बसोबास, खानपिन र उपचार ठिक तरिकाले पाउनु कैदीबन्दीको अधिकार भएको मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साह बताउँछन् । राज्यका जिम्मेवार निकायले यसको तत्काल सम्बोधन गर्नपर्ने जिल्लाका सञ्चारसम्बद्ध र मानवअधिकारसम्बद्ध संघसंस्थाका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्