Logo
Logo

अमेरिकामा ई-चुरोट सेवन र उत्पादनमा प्रतिबन्ध


इसाम अहमद


  • इसाम अहमद

वासिंगटन, २६ भदौ (एएफपी) । संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् ।

सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।
ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानीया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए ।
‘हामी दुबैले ती किशोरको व्यथा पढेका छौं,’ उनले भने, ‘हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन्, र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ ।’
ह्वाइट हाउसमा राष्ट्रपतिका साथ अमेरिकी खाद्य तथा औषधि विभाग (एफडीए) का कार्यवाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी हुनुहुन्थ्यो । ई–चुरोटको नियमन गर्ने एफडीए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो । त्यस अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता ई–चुरोटका बारेमा नयाँ नियमहरु ल्याइने बताए ।
सूर्तीको स्वाद भएका बाहेक अरु सबै किसिमका सुगन्धित ई–चुरोट बजारमा अब बेच्न पाइने छैन, उनले भने । उनले यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने जानकारी दिए ।
सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित ई–चुरोट सेवन गर्ने गरेको देखिएको छ । अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना)को स्वाद भएका ई–चुरोट रुचाएका थिए ।
तत्कालका लागि सूर्तीको स्वाद भएका ई–चुरोटमा प्रतिबन्धहरु नलगाए पनि २०२० को मेदेखि उत्पादकहरुले एफडीएबाट स्वीकृति लिनु पर्नेछ । उक्त समाचार सार्वजनिक भएलगत्तै अमेरिकामा च्याउ उम्रिएझैं फैलिएका ई–चुरोट उत्पादकमा छटपटी भएको छ । ग्रान्ड भ्यू रिसर्चका अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्य बराबरको ई–चुरोट उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्