Logo
Logo

सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा


- दृष्टि न्युज/संवाददाता


दमक, २७ भदौं । झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो ।
सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता गराउँदै महिलालाई बचत गर्ने बानीको विकास गराउनसमेत सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप नगद उपहार थालिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताए । उनले भने, ‘सुत्केरी अवस्थामा पोषिलो खानेकुरा आवश्यक पर्छ, तसर्थ हामीले यस्तो अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि जसले महीनामा जति रुपैयाँ बचत गर्नुहुन्छ त्यत्तिनै रुपैयाँ सहकारीबाट दिन्छौँ ।’
उनका अनुसार सहकारीमा आबद्ध महिलाहरुले सुत्केरी हुँदा न्यूनतम ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म उपहार पाएका छन् । अध्यक्ष दगालले भने, ‘महीनामा ५०० बचत गर्ने महिलाले सुत्केरी हुँदा ५०० रुपैयाँ पाउनुहुन्छ भने मासिक पाँच हजार रुपैयाँ जम्मा गर्ने महिलाले सुत्केरी हुँदा पाँच हजार रुपैयाँ नै पाउनुहुन्छ ।’
सहकारीले योसँगै नवजात शिशुको निःशुल्क खाता खोल्दै ५०० रुपैयाँदेखि पाँच हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष दंगालको भनाइ छ । आव २०७५÷७६ मा सहकारीमा आबद्ध ४१ महिला सुत्केरी भएको र उनीहरुलाई ७७ हजार रुपैयाँ सहकारीले सुत्केरी सुविधा प्रदान गरेको छ । त्यस्तै ४१ नवजात शिशुको निःशुल्क खाता खोल्दै ४९ हजार ५०० रुपैयाँ बचत गरिदिएको अध्यक्ष दंगालले बताए ।
त्यसो त कुनै पनि गर्भवती महिलाको स्वास्थ्य संस्थामा प्रसूति गराए सरकारले प्रोत्साहनस्वरूप आर्थिक सहयोग गर्ने गरेको छ । तर सहकारीले समेत आफ्ना शेयर सदस्यका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन गरेपछि ग्रामीणदेखि सहरसम्मका महिलालाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ ।
सहकारीमा आबद्ध सदस्यको मृत्यु भएमा समेत सहकारीले ऋण मिनाहा गर्दै आएको छ । परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गर्दै आएको सहकारीका अध्यक्ष दङ्गालले बताउनुभयो । आव २०७५÷७६ मा सहकारीमा आबद्ध पाँच जनाको निधन हुँदा चार लाख २८ हजार ५९७ रुपैयाँ ऋण मिनाहा भएको अध्यक्ष दङ्गालले बताउनुभयो ।

उनले भने, ‘कनकाई नगरपालिका–७ निवासी पूजा दाहाल सापकोटाको श्रीमान्को निधन हुँदा रु एक लाख १४ हजार ८४५ ऋण मिनाहा भएको छ । त्यस्तै कनकाई–३ कै आशिवा खातुनको श्रीमानको निधन हुँदा रु एक लाख ७५ हजार ऋण मिनाहा गरिएको छ ।’
सहकारीले उनीहरुजस्तै विर्तामोड–५ निवासी लीला सिंहको श्रीमान्को निधन हुँदा रु ४३ हजार ७१०, भद्रपुर–७ निवासी भोटलाल गणेशकी श्रीमतीको निधन हुँदा रु ६९ हजार ५२३ र शिवसताक्षी–११ का चोले मेचेकी श्रीमतीको निधन हुँदा रु २५ हजार ४९७ ऋण मिनाहा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्