Logo
Logo

अनलाइनबाट ठगी गरेको भन्दै २७७ जना चिनियाँ पक्राउ


- दृष्टि न्युज/संवाददाता


मनिला, २७ भदौ (एपी) । फिलिपिनी अधिकारीहरुले अनलाइनमार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् ।
चीनमा ठगी धन्धा चलाएर सयौँ व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ । अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु मनिलास्थित चिनियाँ राजदूतावासको सूचनाका आधारमा पक्राउ परेको पनि मोरेन्टेले बताए ।
चिनियाँ दूतावासका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट चीनमा एक हजारभन्दा बढी व्यक्ति पीडित भएका छन् । मोरेन्टेले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा प्रारम्भमा छानबिनका लागि शंकास्पद चार जना चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिइएको उल्लेख छ । तर गैरकानुनी अनलाइन व्यवसाय सञ्चालन गरेको भेटिएपछि अरु २७३ जना पक्राउ परेको मोरेन्टेले बताए ।
चिनियाँ अधिकारीहरुका अनुसार चीनमा ठूलो मात्रामा ठगी धन्धामा संलग्न केही व्यक्तिले फिलिपिन्समा आश्रय लिएका छन् । उनीहरुको पासपोर्ट समेत चीनले रद्द गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्