Logo
Logo

अब देश झिना-मसिना कुरामा अल्झँदैन : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । सातौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा बुधबार राजाधनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेको भन्दै सरकारलाई विकास र समृद्धिमा वैज्ञानिकहरुले सघाउनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीमा आलोचनात्मक रवैया र असन्तुष्टि व्यक्त गर्ने बानी पनि छ । तर बदलिएको समयअनुसार आर्थिक उन्नति गर्दै समृद्ध देश बनाउनुपर्ने छ ।’ उनले वीर र विद्वान् पूर्खाका सन्तान रहेकाले प्राकृतिकरुपमा सम्पन्न मुलुक कहिल्यै पछाडि नपर्ने बताए ।
प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिलाई आत्मसात गरी पुराना पाराले नभई आजको आधुनिक समाजअनुकूल उत्पादनसँग प्रविधिलाई जोडेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै भने, ‘केही स्वार्थी तत्वहरु अहिले पनि विकास, सुशासन भन्दा उत्ताउला र प्रतिगामी, जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक झिना मसिना कुरा गरेर हिँडिरहेका छन् । अब देश यस्ता कुराहरुमा अल्झँदैन ।’
उनले विज्ञानका क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण दिनुपर्ने भएकाले सरकारले त्यो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यस क्षेत्रमा राजनीतिक पार्टीका आधारमा नभइ योग्यताका आधारमा नियुक्त गर्छाैँ । हाम्रो परम्परा अन्धविश्वासी होइन वैज्ञानिक र प्रयोगात्मक हो । यस परम्परालाई आधुनिक प्रविधिसँग जोडेर उन्नत समाज विकासमा लाग्नुपर्छ ।’
कार्यक्रममा समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरिएको थियो । ‘विज्ञान, प्रविधि र नवप्रवर्तन ः सामाजिक आर्थिक रुपान्तरण’को नारासहितसातांै राष्ट्रिय विज्ञान दिवस मनाइएको हो । समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको क्षेत्रलाई वर्तमान सरकारले प्राथमिकता दिएकाले आफ्नो विवेक र क्षमताको उच्चतम् प्रयोग गरी राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ साल मंसिर ८ बाट हरेक वर्ष असोज १ का दिन विज्ञान दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्