Logo
Logo

लोकतन्त्र र प्रेसको जीवन अनन्त छ : मन्त्री बाँस्कोटा


- दृष्टि न्युज/संवाददाता


विराटनगर, २ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त हुने बताएका छन् । गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन गर्दै उनले भने, ‘लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ ।’
मन्त्री बाँस्कोटाले लोकतन्त्र प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका बहुआयामिक स्वरुप निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले अब अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने समय आएको छ ।’
गोरखापत्र दैनिक सरकारको मुखपत्र नभएर राष्ट्र र जनताका मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र भएको देशमा नै प्रेस बाँच्न सकिने कुरामा जोड दिए । मन्त्री बाँस्कोटाले नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाट शुरु भएको प्रसङ्ग उल्लेख गर्दै विकासका दुई आयाम भौत्तिक र मानवीय विकास भएको बताए ।
उनलले सरकारी जग्गा संरक्षित गर्न सकियो भने हाम्रा भावी पुस्ताका लागि अर्को संरचना बनाउन सजिलो हुने भन्दै गोरखापत्र पत्रिका मात्र नभएर भवन, मेसिन र रोजगार सिर्जना गर्ने स्थान भएकाले यसले गुणस्तरीय र अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिने तथा पाठक वर्गले रुचाउने किसिमको हुनुपर्ने बताए । मन्त्री बाँस्कोटाले निकट भविष्यमा सुनसरीको इटहरीबाट नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण हुने जानकारी पनि दिए ।
प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालको ज्येष्ठ राष्ट्रिय दैनिक गोरखापत्र नयाँ अध्यायबाट शुरु भएकोमा खुशी व्यक्त गर्दै संसार खुल्ला भएर नै प्रतिस्पर्धा बढेको र यसमा गोरखापत्रले पनि आफूलाई बदल्नुपर्ने सुझाव दिए । मन्त्री कार्कीले गोरखापत्रलाई श्रेष्ठकर एवं पठनीय बनाउन प्रतिस्पर्धामा आउनु सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ११९ वर्ष पार गरिसकेको गोरखापत्र नयाँ ढंगले सत्य, तथ्यमा आधारित भएर आवाज विहीनका आवाज बन्नुपर्नेमा जोड दिए ।
गोरखापत्र सञ्चालक समितिका अध्यक्ष कृष्णमुरारी भण्डारीले सत्यतथ्य र विचारमा आधारित समाचारले हिंसा रोक्ने प्रसंग उल्लेख गर्दै सञ्चार राज्यको स्नायु प्रणाली र दिमाग भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्