Logo
Logo

मनसुन अझै एक साता लम्बिने, यस्तो छ तीन दिनको मौसम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज । यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आजै अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ । त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् समीर श्रेष्ठले बताए ।
‘नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५ (जुन २०) मा मनसुन भित्रिएको थियो । त्यसैले यस वर्ष एक–डेढ साता मनसुन लम्बिन सक्छ’, उनले भने । गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो । मनसुन सकिन जुन किसिमको वातारण आवश्यक पर्ने हो त्यो अहिले भइरहेको छैन । मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ तर अहिले देशभर नै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
त्यस्तै मनसुन अन्त्य हुने बेलामा पूर्वतिर मनसुनी प्रणाली कमजोर हुँदै जान्छ तर अहिले पूर्वमा मनसुन सक्रिय छ । अर्का मौसविद् बरुण पौडेलले भने । यस वर्ष औसतभन्दा कम वर्षा भएको उनको भनाइ थियो । ‘मनसुनको समय लम्बिए पनि अब भारी वर्षाको सम्भावना भने छैन । मनसुनी गतिविधि केही बाँकी नै रहेकाले दिउँसो घाम लागेपनि देशका केही भू–भागमा बेलुका तथा रातको समय हल्कादेखि मध्यम हुनेगर्छ तर वर्षा लगातर नभई छोटो समय हुनेछ । यसमा अत्तिनुपर्ने कुरा छैन’, मौसमविद् पौडेलले भने ।
सामान्यतया १०० दिनसम्म मनसुनी वर्षा हुने भए पनि केही वर्षयता ती दिनको संख्या बढिरहेको छ । आज देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, मंगलबार र बुधबार पनि सो क्रम यथावत रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्