Logo
Logo

एउटा चिसो हिउँदमा म फेरि एक्लै भएँ



जीवनका अग्निपरीक्षाहरु पनि एकपछि अर्को गर्दै आइ नै रहने रहेछन्, ती सबैलाई पार गर्नै पर्ने रहेछ । अझै पनि धेरै मित्रहरूले मसँग सोध्ने एउटा प्रश्न हो– ‘तपाईंहरुको विवाह कसरी सम्भव भयो ? धेरै गाह्रो भयो होला नि…!’

त्यो समय त पार भइ नै सक्यो । यतिखेर फर्केर चारदशक अगाडिको समय सम्झँदा आफैँलाई पनि अचम्म लाग्छ, आफैँलाई सोध्छु– ‘साँच्चै, कसरी सम्भव भयो होला ?’

हाम्रो विवाह पनि त्यसबेलाको पार्टी प्रचलनअनुसार भूमिगतरुपमा नै भएको थियो । विवाहजस्तो सुन्दर क्षणमा दुवैतर्फका मातापिताको आशीर्वाद थाप्ने सौभाग्य हामीले पाउन सकेनौँ । एउटा सानो कोठामा बसेर एकआपसमा फूलमालासम्म लगाएको याद छ मलाई ।

अरु कुनै औपचारिकता र परम्परागत विधिमा हामी बाँधिएका थिएनौँ । केही नेता र कार्यकर्ता कामरेडहरुको उपस्थिति थियो । साथीहरुले बनाइदिएको रातो रुमाल पाएका थियौँ उपहारको रुपमा, पार्टीको तर्फबाट एकै किसिमका दुई नोटबुक । ती उपहार पनि हाम्रो निम्ति अमूल्य थियो ।

विवाहपछि ‘दुलाहा’को घरमा जान सक्ने अवस्था थिएन । एउटा सानो कोठा भाडामा लिएका थियौँ, नरदेवीमा । एउटा पुरानो खाट थियो, कुनैबेला कवि रामचन्द्र दाइले डेरा छोड्नेबेला घरलानु भन्दा हामीलाई छोडिदिनु बेस भनेर छोडेको, उपहार ।

उत्तिकै सक्रिय र समर्पित दुई जिम्मेवार दाजु–बहिनी विष्णु चित्रकार र रविलक्ष्मी चित्रकारको घर थियो त्यो । पार्टीका निम्ति ठूलो योगदान गरेको थियो त्यो सिंगो घरले नै । त्यो योगदानलाई अहिले कसैले सम्झेको जस्तो लाग्दैन ।

त्योबेला, त्यही घरको एउटा कोठामा केही जना जम्मा भएर विवाह ‘सम्पन्न’ भएको थियो । त्यहीँ घरबाटै सबैलाई खानाको बन्दोबस्त पनि भएको थियो । त्यो घरप्रति नै कृतज्ञ छौँ हामी दुवैजना । नेता झलनाथ खनालको हुनेवाला ससुराली घर थियो त्यो घर । तर त्यो बेला झलनाथ कामरेडको भने उपस्थिति थिएन । ज्यादै कम मित्रहरुको मात्र उपस्थिति थियो । हाम्रै निम्तोमा त कसैलाई बोलाउने कुरै थिएन । मलाई निरन्तर साथ दिने दिदीलाई समेत निम्त्याउन सकिनँ ।

विवाहपछि ‘दुलाहा’को घरमा जान सक्ने अवस्था पनि थिएन । त्यसैले एउटा सानो कोठा भाडामा लिएका थियौँ, नरदेवीमा । एउटा पुरानो खाट थियो, कुनैबेला कवि रामचन्द्र दाइले डेरा छोड्नेबेला घरलानु भन्दा हामीलाई छोडिदिनु बेस भनेर छोडेको उपहार ।

केही नभई नहुने भाँडाकुँडा र एउटा स्टोभ जम्मा गरेकी थिएँ । त्यति बन्दोबस्त पनि दिदी पद्माको प्रेमले सम्भव भएको थियो । जे जुरेको थियो त्यसैमा सन्तोष थियो । हाम्रो दुवैको घर काठमाडौँमै भएर पनि घरलाई केही भन्नु र घरबाट केही लिने त कुरै थिएन ।

एक दिन मेरी आमाको चित्त बुझाउन आफन्तहरुको सानो भेला गरेर त्यहीँ दिन खाजा, खाना ख्वाएर मेरो बिहे भइसकेको कुरा सुनाउने कामसम्म भयो । केही दिन आफ्नो निधारमा आफैँले अलिकति अबिर छरेर हिँडेकी थिएँ । निधार रातो भइसक्यो भनेर छर छिमेकीको आँखा ममाथि परोस् नै भनेर…।

काठमाडौँमै घर भएर पनि नभएजस्तो ‘सर्वहारा’सँग बिहे भएको कुराले आमा केही चिन्तित त हुनुहुन्थ्यो नै । तर मेरो विवाहमा आमाको कुनै विरोध र गुनासो भएन । औपचारिकरुपमा नै अब म जन्मेको घर छोड्नुपर्ने भयो, छोडेँ । डेरामा नयाँ जीवन सुरु भयो । आफँैले रोजेको कर्म र विचारको बाटोमा हिँड्नु थियो, हिंडे । न दुःख न सुख !

एउटा अध्याय सकिनै भ्याएको थिएन । बिहे गरेर डेरामै पनि राम्ररी बस्न भ्याइएको थिएन । फलाना डाक्टरसँग विवाह गरेको भनेर अरुलाई भन्नै पनि नसकिने, दुलाहालाई चिनाउन सकिने बेला थिएन । कसैले नदेखेपछि मान्छेले किसिमको अनुमान गर्थे । हामीसँगसँगै कहीँ हिँडेनौँ । मान्छे खुल्ला भए पनि सम्बन्ध भने थोरै सीमित साथीहरुलाई मात्र थाहा थियो ।

विवाहको कुराले मात्र पनि डाक्टरको घरमा ठूलै भुइँचालो गइनैसकेकोले विवाह भइसकेको कुरा तत्काल भनिएको थिएन । बाहिर त थाहै दिएनौँ । विवाहमात्र होइन, सम्बन्धै पनि एक किसिमले भूमिगत नै रह्यो । डाक्टरको ‘श्रीमती’ भइन्, हो को हो एक जनासँग विवाह भएजस्तो भयो ।

विवाहपछिको दशैँमा कसैले किन घर नगएको होला भन्ने प्रश्न छल्नको निम्ति त्यो बेलाका युवानेता र विद्यार्थी नेता राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डेको घर गाउँ धादिङमा दशैँभरि बस्न गएकी थिएँ । गाउँले स्वागत गर्यो, नयाँ साथीहरु बने, गाउँलाई नजिकबाट चिन्न पाइयो– यसलाई पनि राम्रै अवसर मानेँ ।

त्यो बेला केही विद्यार्थी नेताहरूको पनि उहीँ डेरा थियो । सुरेन्द्र पाण्डे र दामोदर उपाध्यायजस्ता अन्य केही असल विद्यार्थी मित्रहरु पनि त्यही घरमा बसेकाले भूमिगत सेल्टरै पनि थियो त्यो घर– नेताहरु काठमाडौँ आउँदा बस्ने । त्यो घरका धनी भगवानरत्न तुलाधर हुनुहुन्थ्यो– कलेजको मेरो गुरु पनि । यी सबै कारणले गर्दा डेरा भए पनि त्यो घरजस्तै भयो ।

केही समयपछि डाक्टरले आफ्नो पेशा नै छोडेर पूर्णकालीन भूमिगत कार्यकर्ता हुने सोच राखे । मैले ‘नाइ’, नजानु’ भन्न सकिनँ । हाम्रो सम्झौता नै विचार र क्रान्तिमा केन्द्रित भएको थियो । यता म भने दुईजिउकी भइसकेकी थिएँ । परिवर्तनशील जगतमा परिवर्तन आइनै रह्यो । शरीरमा, मनमा, सामाजिक अवस्थामा, मलाई समाजले हेर्ने दृष्टिमा …। अविवाहित स्वतन्त्रबाट विवाहितमात्र हैन, अब त दुईजिउकी समेत !

एउटा चिसो हिउँदमा म फेरि एक्लै भएँ । डाक्टरसँग विवाह भएको भएर पनि अस्पतालमा नियमित जचाउन जाँदा कहिल्यै श्रीमानसँग गइन । अरु गर्भिणी महिलाहरुसँगै लाइनमा बसेर देखाएँ, उनको नामबाट चिनिएर कहिल्यै कुनै फाइदा लिइन– उनकै साथीहरु अस्पतालमा हुँदा पनि । उनी आफूले काम गर्दा लगाउने ह्वाइटकोट, स्टेथेस्कोप, सबै डेराको भित्तामा झुण्डाएर अनजान ठाउँमा नेताहरुले देखाएको ठाउँमा पुगेका थिए, मात्र एउटा झोला बोकेर !

अब उनी ‘डाक्टर’ पनि रहेनन्– पूर्णकालीन भूमिगत कार्यकर्ता । त्यसबेला न फोन, न हुलाकबाट चिठ्ठीपत्र, न गएको ठाउँबारे कुनै जानकारी । पूर्वको कुनै गाउँमा भन्नेसम्म थाहा थियो । जीवनका बाटा पनि कति बाँगाटिंगा ! सरल बाटो कहीँ थिएन । तर आफैँले रोजेको बाटो भएपछि अरु कसैलाई केही भन्ने ठाउँ पनि रहेन ।

महिलाहरुको गर्भावस्था अत्यन्त संवेदनशील हुन्छ । अहिले होस्, या उहिले । विशेष हेरचाहको आवश्यकता पर्छ । धन्न मलाई त्यो बेलाको मानसिकता र शारीरिक अवस्थाले साथ दिएकै मान्नु पर्छ ।

मेरा जिम्माका कामहरु यथावत् गरिनै रहेँ । कहिले गाउँ कहिले सहर त कहिले रातभरि पनि मिटिङहरुमा बसेर काम गरिरहेँ । खाना खान मन नलाग्ने समय पनि आयो तर एक्लै, कसैलाई थाहा हुँदैनथ्यो । भोकै पनि बस्ने अवस्था आयो । जस्तै परिस्थितिमा पनि मलाई नजिकबाट बुझ्ने र खानेकुरासमेत ल्याइदिने काम भने मेरै दिदीबाट बेला–बेलामा भइरह्यो … ।

प्रतिक्रिया दिनुहोस्