Logo
Logo

सिडिओ सरुवामा सेटिङ



काठमाडौं । गृह मन्त्रालयले गत साता गरेको करिब चार दर्जन जिल्लाका सिडिओको सरुवामा सेटिङ भएको आरोप लागेको छ । यसअघि राम्रो काम गर्न नसकेकालाई नै फेरि सिडिओमा खटाएर पुरस्कृत गरिएको छ ।

सुनसरीमा तस्करीको लाइन चलाएको आरोप लागेका इन्द्रदेव यादबलाई सर्लाहीमा पठाइएको छ । घुसकाण्डमा परेका लालबाबु कवारीलाई गोरखाको सिडिओ बनाइएको छ ।

दोलखामा शान्तिपूर्वक निर्वाचन गराउन नसकेका भोजराज खतिवडालाई सिराहाको सिडिओ बनाएर पुरस्कृत गरेपछि गृहका कर्मचारीहरु चकित भएका छन् । कपिलवस्तुमा चुनावको बेला तस्करीको लाइन खोलेका धर्मेन्द्र मिश्रलाई रौतहटको सिडिओ बनाइएको छ ।

काभ्रेमा अवैैध क्रसरलाई संंरक्षण गरेकी हुमकला पाण्डे पनि पुरस्कृत भएर सुनसरीको सिडिओ भएकी छिन् । मोरङमा राम्रो काम गर्न नसकेका काशीराज दाहाललाई अर्काे महत्वपूर्ण जिल्ला धनुषामा खटाइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागभित्र अनियमितताको आरोप लागेका तिर्थराज भट्टराई मोरङको सिडिओ बनेका छन् । उनी यसअघि भ्रष्टाचारमा परेका कर्मचारी हुन् । मन्त्रालयकै शिवराज पोखरेलले झापाको सिडिओले झापा पाउदा अर्का क्षमतावान सहसचिव भिष्मराज भुषालले यसपटक पनि सिडिओ हुने अवसर पाएनन् ।

विपिन आचार्य सेटिङकै आधारमा बाँके पुगेका छन् । कैलालीमा राम्रो काम गर्न नसकेका किरण थापा नुवाकोटमा सिडिओको जिम्मेवारी पाएका छन् । एयरपोर्टमा हुँदा भिजिट भिसाको सेटिङमा मुछिएका सुशील बैद्यलाई दाङको सिडिओ बनाइएको छ ।

धेरै जसो सिडिओको सेटिङमा सरुवा भएको स्रोत बताउँछ । सरुवाको सूची गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत दीपक बोहरा र गोकर्ण उपाध्यायले बनाएका हुन् । सरुवामा गृहसचिव विनोदप्रकाश सिंहले पनि केही खराब आचरण भएका सिडिओलाई पुरस्कृत गरेका छन् ।

यता प्रहरीको सरुवा पनि सेटिङकै कारण अवरुद्ध हुन पुगेको छ । डिआइजी र एसएसपी सरुवामा गृहमन्त्री लामिछानेले ठूलो चासो राखेका थिएनन् । तर, एसपी र डिएसपी सरुवामा गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच टक्कर पर्न थालेको स्रोत बताउँछ ।

एसपीसम्मको सरुवा अधिकार आइजिपीलाई भए पनि विगतका मन्त्रीजस्तै गृहमन्त्रीले हस्तक्षेप गर्न थालिसकेका छन् । प्रहरी अधिकारी पनि गृहमन्त्री निकट बिचौलियालाई भेटेर सरुवामा चलखेल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्