Logo
Logo

प्रहरीमा हुन्डीकाण्ड



काठमाडौं । देशमा बैदेशिक मुद्राको सञ्चिती निरन्तर घटिरहेको छ । रेमिटेन्स घटेमा देशको अवस्था केही समयअघि श्रीलंकामा भएजस्तै नहोला भन्न सकिन्न । यसरी बैदेशिक मुद्राको सञ्चिती घट्नुको एउटा मुख्य कारण हुन्डीको कारोबार हो । विदेशमा कार्यरत धेरै नेपालीको कमाई स्वदेश आउन पाउँदैन, हुन्डीबाट यतै कारोबार मिलाइन्छ । व्यापारको पैसा पनि हुन्डीबाटै लेनदेन हुन्छ ।

देशमा हुन्डी कारोबारीको पावर यति ठूलो छ कि उनीहरुको कनेक्सन सिधैं सिंहदरबारसम्म छ । जसकारण ठूला हुन्डी कारोबार सधैं राज्यको संरक्षणमा हुने गरेका छन् ।

गत महिना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केही हुन्डी व्यवसायीलाई पक्राउ ग¥यो । त्योकाण्डमा उल्टो प्रहरी अधिकारी कारबाहीमा परेका छन् । हुन्डी कारोबारीलाई दुःख दिएको आरोपमा डिएसपी डिलबहादुर मल्ल कारबाहीमा परेका हुन् । उनलाई त्यहाँबाट कारबाहीस्वरुप बुटवल तालिम केन्द्रमा सरुवा गरिएको छ । प्रहरी स्रोतका अनुसार उच्च पदस्थ व्यक्ति निकट हुन्डी कारोबारीमाथि कारबाही गर्दा उनको सरुवा भएको हो ।

यो घटनाले प्रहरी र हुन्डी कारोबारीको कनेक्सन पनि देखाउँछ । उपत्यकामा प्रहरी अधिकारीको आम्दानीको मुख्य स्रोत नै हुन्डी हुने गरेको छ । केही सानातिनालाई पक्राउ गरेर प्रहरी अधिकारीले ठूलालाई संरक्षण गर्दै आएका छन् । हुन्डी कारोबारी यसरी शक्तिशाली हुँदै गर्दा देशको अर्थतन्त्र भने कमजोर हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्