Logo
Logo

बल्ल प्रेम बुझेको जस्तो लाग्यो मेरो मान्छेले



गर्भवती भएको बेला एक्लै भएपछि भूमिगत भएको आफ्नो मान्छेलाई अझ धेरै सम्झन थालेँ । आफ्नो अवस्थाले भन्दा पनि बढी उनको अवस्था कस्तो छ, कस्तो ठाउँमा पुगेको होला भन्ने थाहा पाउन मन भइरह्यो । भेट्न मन लाग्यो ।

पार्टीका नेतासँग कुरा राखेँ– एकपल्ट उतै गएर भेट्ने इच्छा भएको कुरा बताएँ । कुरा ठिकै लाग्यो क्यारे, भेट्ने बन्दोबस्त पार्टीले मिलाइदियो । उनलाई गाउँबाट नजिकै भएको शहरमा झिकाएर एउटा साथीको डेरामा हाम्रो भेटघाटको बन्दोबस्त गरियो ।

एकादेशमा एउटा भूमिगत प्रेमीलाई भेट्न गएको कथा जस्तो भयो । उनी भूमिगत भएपछिको अवस्थामा पहिलो पटक भेट्दै थिएँ । मधेशको भेषभुषा, दुब्लो, मैलो, अर्कै रुपमा देखेँ उनलाई । जुनबेला प्रेम बसेको थियो त्यो बेलाको अनुहार, रुपरंग, भेषभुषा सबै परिवर्तन भैसकेको थियो केही महिनामा नै ।

मेरो आफ्नै रुपरंग कस्तो बनेको थियो, त्यो मैले देखिन । बाटोको कथा बेग्लै थियो । जनकपुरसम्मको झण्डै दिनभरीको लामो बसको यात्रा गरेर पुगेकी थिएँ । एक्लै थिएँ, दुइजीउकी थिएँ । चार पाँच महिनाको बच्चा पेटमा थियो । झट्ट हेर्ने बित्तिकै पेटमा बच्चा छ भनेर अनुमान गरिहाल्न सकिने बेला अलि नभइसकेको । लामो बाटो भएपनि कुनै चिन्ता थिएन । मनमा थियो त केवल एउटा तिव्र पुनर्मिलनको चाहना ।

जीवनमा सपना देख्नु त रमाइलो हुन्छ नै, सपनाको निम्ति पर्खिनु प्रतिक्षाको घडी कति कठीन हुन्छ यो पाठ पनि मज्जाले अनुभव गर्यौं हामी दुबैले । एकछिन पछि साथीले हामी दुबैलाई एक्लै छोडिदिनु भयो ।

काठमाडौं छोड्नेबेलाको सबै दृश्य याद पनि छैन यतिबेला । तर त्योबेला कसरी त्यो लामो बाटो काटें हुँला भन्ने कुराले मेरो मन अहिलेसम्म पनि अचम्मित हुन्छ, कहालि लाग्छ । पेटमा बच्चा छ, हातमा झोला र झोलाभित्र एउटा अवैध खतरनाक चीज ! एउटा सानो कटुवा पेस्तोल ।

म एक क्रान्तिकारी त थिएँ, तर कसैको हिंसा मबाट हुनै सक्तैनथ्यो । आफैलाई टोक्न आउने किरालाई समेत मार्न नसक्ने मान्छे थिएँ, बच्चै देखि । मेरो पारिवारिक पृष्ठभूमिमा बौद्ध दर्शनले प्रभावित, मेरो घर र मामा घरमा पनि दशैंको बेला समेत कहिल्यै पशुबलि हुँदैन थियो । दुर्घटनामा परेर कसैको आलो रगत बगेको पनि देख्न नसक्ने मान्छे म, झोलामा बन्दूक लिएर कसरी हिँडेकी थिएँ !?

पार्टीको सदस्य हुनु, पार्टीले भनेको काम गर्नु पनि हो । म एउटा शहरबाट अर्को शहर जाँदैथिएँ । पार्टीले एउटा सामान पठाउनका निम्ति मलाई नै उचित माध्यम ठानेछ । महिला भएकाले कसैले शङ्का गर्न नसक्ला भनेरै पनि होला त्यो काम मलाई जिम्मा दिएको । मैले त्यसमा कुनै नाईनास्ति गर्ने कुरै भएन ।

झोलामा आवश्यक कुरा बरु सबै राखेँ कि राखिन कुन्नी ? हातैले बनाएको त्यो सानो बन्दूकलाई भने बडो होशियारीका साथ कपडाले बेरेर राखेको कुरा याद छ मलाई ।

बाटो लामो थियो । एक्ली महिला हत्पति लामो यात्रा नगर्ने त्यो समयमा एउटी युवा महिलाको यात्रामा कसै न कसैको आँखा पर्नु, चासो बढ्नु स्वाभाविक थियो ।

अगाडीको सिटमा बूक गरेकी थिएँ– एक्लै भएकोले र स्वास्थ्यस्थिति पनि भिन्दै भएकोले । एकजना जवान कन्डक्टरले मलाई एक प्रकारले हैरानै पनि पार्याे एक्लै देखेर । छिन्छिनमा अनावश्यक सोधपुछ पनि गर्थ्यो । कहिले ‘किन एक्लै दिज्यु ?’ भनेको छ, कहिले ‘किन एक्लै बहिनी ?’ कहिले ‘के सहयोग गरूँ ?’ भन्ने…कहिले ‘सँगै खाना खान जाउँ न !’ भन्ने ।

उसको अनुमानमा म एक सामान्य महिला नै देखिनु पनि एक किसिमले बेसै भयो । सुरक्षाको ठूलो चिन्ता भएन । मेरो झोला नै चेक गर्ने स्थितिमा त ऊ थिएन । समयले पनि साथ दियो मलाई । बसमा र बाहिर पनि पुलिसले सामान चेक गर्ने अवस्थामा परिन ।

त्यसको एक डेढ दशक पछि त धैरै महिलाहरुले लडाईँमै हतियार नै समाए– माओवादी सशस्त्र विद्रोहका बेला । कतै हिंसाको खबरले मेरो मन भने असाध्य अशान्त हुन्थ्यो । त्योबेला सम्ममा त आहार विहारमा पनि पूर्ण शाकाहारी भैसकेकी थिएँ ।

महिलाले पनि हतियार बोक्न सक्छन् भन्ने कुराले ‘महिला मात्र के कुरामा पछाडि छन् त !’ भन्ने नलाग्ने हैन । तर मेरै हातबाट भने किरा पनि नमरोस् भन्ने नै थियो ।

उबेला आफू क्रान्तिमा होमिएको पनि जनताको सेवा र महिलाहरुको अवस्थामा आमूल परिवर्तन होस् भनेर मात्र थियो । भविष्यमा शक्ति राजनीतिमा लाग्ने, राज्यशक्तिको कुनै कुर्सीमा विराजमान हुने, आदि जस्ता कुनै लालसा कहिल्यै मनमा आएको पनि थिएन । त्यसैले ठूलठूला परिवर्तन पछि राम्रै चिनजानका साथीहरु मन्त्री, प्रधान मन्त्री भईसक्दा पनि परैबाट शुभकामना दिने काम मात्र गरें, कहिल्यै नजिक पुगेर मेरो योगदानको हिसाब मागिनँ ।

त्यो बेला बसमा चढेर म पूर्वतिर लागिरहँदा बाटोभरी ‘देशमा छिटोभन्दा छिटो परिवर्तन होस् र कुनै पनि जोडी हामी जस्तै देशको निम्ति भनेर छुट्टिएर बस्नु नपरोस्’ भन्ने लागिरह्यो । बाटो बिग्रेर हो कि, जाम धैरै भएर हो, पुग्नुपर्ने समयमा बस गन्तव्यमा पुगेन । त्यस्को पनि मलाई त पिर लागेको थिएन । तर मलाई पर्खेर बस्ने आफ्नै मान्छेलाई भने धुमधाम चिन्ता लागेछ ।

बस स्टपमा पर्खिने साथी पनि पर्ख्या पर्ख्यै भए । किन, कसरी भन्ने प्रश्न त उठ्ने नै भयो । अहिलेजस्तो फोन पनि थिएन । धन्न कसैलाई थाहा थिएन म कस्ता सामान बोकेर हिँडेकीछु भन्ने कुरा । मेरो आफ्नै मान्छेलाई पनि शायद थाहादिएको थिएन होला– मेरो झोलामा के कुरा छ भन्ने कुरा । नत्र उनी अझै चिन्तित हुन्थे होलान् ।

एकजना स्थानिय नेतालाई मात्र थाह दिइएको थियो क्यारे मेरो हातबाट त्यस्तो खतरनाक कुरा पनि पुग्दैछ भन्ने कुरा ।

एकजना साथीको डेरामा बल्ल पुगें– आफ्नो मान्छेले लामो सास फेरेको देख्दा अलिकति प्रेमभाव त जाग्यो नै । ‘किन… ? कसरी !’ यस्तो ढिलो भयो पहिलो प्रश्न थियो । बल्ल, प्रेम कस्तो हुन्छ, प्रतिक्षा कस्तो हुन्छ भन्ने कुरा बुझेको जस्तो लाग्यो मेरो मान्छेले । यो कुराले मेरो मन अलिकति न्यानो भयो ।

जीवनमा सपना देख्नु त रमाइलो हुन्छ नै, सपनाको निम्ति पर्खिनु प्रतिक्षाको घडी कति कठीन हुन्छ यो पाठ पनि मज्जाले अनुभव गर्यौं हामी दुबैले । एकछिन पछि साथीले हामी दुबैलाई एक्लै छोडिदिनु भयो ।

अरुकुरा गर्न अगाडि नै– ‘के कस्तो हुँदो रहेछ त भूमिगत दिनहरु…’ भनेर सोधेँ । त्यसको जवाफ दिनु, आफ्नो अनुभव सुनाउन अघि नै गर्भवती श्रीमतीलाई भनेर कतैबाट मागेर राखिदिएको अलिकति लप्सिको माडा हातमा राखिदिए । मेरो मुख रसाउनुको सट्टा दुबै आँखा रसाए । र साउन–भदौ भएर एक्कासी बर्सिन थाले …।

प्रतिक्रिया दिनुहोस्