Logo
Logo

एसपीको सरुवा संकटमा



काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ मापदण्ड बनाएर सरुवा गर्ने तयारी गरेपछि शक्तिकेन्द्रको आडमा आकर्षक पोष्टिङ पाउँदै आएका प्रहरी अधिकारीको टेन्सन बढेको छ । एक पदमा दुई पटक भन्दा धेरै इन्चार्ज नपाउने गरी मापदण्ड बनाउन लागिउको छ । साथै दुई पटक तराईको जिल्लामा इन्चार्ज नदिने तयारी छ ।

केही एसपी तथा डिएसपीहरु पावर लगाएर तेस्रो पटक इन्चार्ज जाने तयारीमा थिए । अब उनीहरु मापदण्ड नै रोक्न लागिपरेका छन् ।

नयाँ मापदण्डले हालै काज सरुवा भएका केहीको बदर हुने सम्भावना पनि छ । दुई एसपीको इन्चार्जबाट इन्चार्जमै सरुवा भएको थियो । एसपी श्यामकृष्ण अधिकारीको बाँकेबाट बुटवल ट्राफिक तथा योगेन्द्रसिंह थापाको बुटवल ट्राफिकबाट सुर्खेतमा सरुवा भएको थियो ।

त्यस्तै पावर लगाएर जिल्ला गएका झापाका दुर्गा रेग्मी, धनुषाका विश्वराज खड्का, कैलालीका देवन्द्र पाल लगायतको त्यही दरबन्दी कायम गराउन शक्तिकेन्द्र धाउन थालेका छन् । पर्सा पठाइएका कोमल शाह तथा सर्लाही पठाइएका नरेशराज सुवेदीको भने त्यही नै सरुवा हुने सम्भावना छ ।

उता समयमा सरुवा हुन नसक्दा पश्चिम नवलपरासी तीन सातादेखि एसपी विहिन बनेको छ । तस्करी खुलाएको आरोपमा एसपी ऋषिराम कँडेललाई तानिएको थियो । छानबिन समितिले उनले तस्करी गराएको भनेर प्रतिवेदन दिएपछि उनलाई फिर्ता नगरी नयाँ एसपी पठाउन लागिएको छ । तर, सरुवामा अझै सहमति हुन नसकेको स्रोत बताउँछ ।

मोरङ, सिराहा, सप्तरी, महोत्तरी, चितवन, रुपन्देही, दाङ, कञ्चनपुर, काभ्रेलगायत जिल्लाका एसपी हेरफेरको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्