काठमाडौं । ‘इन्टिलेक्चुअल ग्रोथ’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिने ‘ब्रान्च म्यानेजर कन्फ्रेन्स’ सम्पन्न गरेको छ । कम्फ्रेन्स कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने तथा जीवन बिमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी चालू आवको बाँकी अवधिको व्यावसायिक खाका कोर्ने उद्देश्यले आयोजना गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा भएको सम्मेलनमा विभागीय प्रमुख तथा देशभरिबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरू गरी एक सय ५० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले बिमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बिमा बजारमा अग्रस्थानमा पु¥याउन सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा ऐन, २०७९ ले व्यवस्था गरेका विषयहरूमा प्रस्तुति दिएका थिए । उनले नयाँ बिमा ऐन, २०७९ जारी भएपछि प्राधिकरणले बिमासँग सम्बन्धित हरेक विषयलाई कानुनी रूपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएकोबारे जानकारी गराएको उल्लेख छ ।
सम्मेलनमा सहभागी कर्मचारीलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यावसायिक दक्षता अभिवृद्धि गराउने उद्देश्यले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षबारे प्रशिक्षण दिएको जनाइएको छ ।












